कहाँ छ शिक्षक नेतृत्व ?

सिकाइ खबर

Byसिकाइ खबर

१९ जेष्ठ २०७७, सोमबार

नेपालका शिक्षक महासंघ, संघ, संगठन र अन्य शिक्षकको संगठित संगठनहरुको नेतृत्वलाई वर्तमान बजेट भाषणले अर्थहिन बनाएको छ । शिक्षकका समस्या समाधान गर्नुको साटो फेरि स्वयंसेवक शिक्षकको नाममा नव युवकहरुलाई बलिको बोको बनाउन खोज्दै छ नेपाल सरकार । बजेट भाषणको बुँदा नं. १६६ मा लेखिएको छ –माध्यमिक तहसम्मको शैक्षिक कार्यक्रम सञ्चालन गर्न सवै निजी विद्यालयले सामाजिक उत्तरदायित्व वहन गर्दै कम्तिमा एक सामुदायिक विद्यालयमा शैक्षिक पूर्वाधार सामग्री सहित विद्यालयको शैक्षिक सुधारको जिम्मेवारी लिनुपर्ने व्यवस्था गरेको छु ।

सरकारलाई एक छिन छोडिदिउँ र बहस सुरु गरौं किन यो दिन सामुदायिक विद्यालयमा देखापर्याे, र अर्थमन्त्री नेपालका विधायिकाहरुलाई साची राख्दै अबका दिनमा सामुदायिक विद्यालयहरुलाई कहीँ कतै सदाको लागि अन्त्य गर्ने बाटोमा त लम्कदै छैन, र त्यसैको विजारोपण त गरेको होइन ? यसले शंका उव्जाएको छ । यसको जिम्मेवार को ? के नेपालका सामुदायिक विद्यालयहरु अर्थहिन भएका नै हुन् त ?

के सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र यस अन्तरगत कार्यरत कर्मचारीहरुको पनि औचित्य समाप्त भएको हो त ? के संस्थागत विद्यालयहरु र यसबाट उत्पादित विद्यार्थीहरु योग्य, शैक्षिक गुणस्तर सम्पन्न छन् र सामुदायिक विद्यालयबाट दिक्षित विद्यार्थी पनि निरीह र निसाय नै बनेका हुन त ? यी सवालहरुको जवाफ  अर्थमन्त्रीले दिनुपर्ने छ ।

श्री माननीय अर्थमन्त्री ज्यू, तपाईं धन्नै दुई तिहाई बहुमतको सरकारको बलियो अर्थमन्त्री हुनुहुन्छ । देशको डाडुपनियो पनि तपाईंकै हातमा सुरक्षित रह्यो । तर तपाईं स्वयमले अगिल्लो बजेट भाषणमार्फत् नेपाली जनतालाई देखाएको सपना  कति पुरा गर्नु भयो ? तपाईंसँग सवै कुरा भएर पनि निरिह बन्नुभएको छ कि छैन, आफैलाई सोध्नुहोला ? हिजोको दिनमा तपाईं वा तपाईंसँग बसेर सययात्रा गर्दै देशको उच्चपदस्थ कर्मचारी, राजनैतिक नेतृत्व, नेपाल सरकार तथा यसका मन्त्रीहरु कसका उपज हुन् ।

गाउँमा बसेर हलो जोतेर तपाईं हाम्रा गाँस टारिदिनेहरु पनि आँकडा खोज्नुभयो भने ती पनि सामुदायिक विद्यालयकै उपज हुनुपर्छ ।  मेरो जानकारीमा भएसम्म तपाईं नेपाल राष्ट्र वैकको गभर्नर,  राष्ट्रिय योजना आयोगको उपाध्यक्ष र नेपाल सरकारमा पनि सर्वाधिक बलियो सरकारको अर्थमन्त्रीको रुपमा कार्यगर्दै गर्दा कति सुधार गर्नुभयो र अगिल्लो बजेटमा सम्वोधन गरेका कुरा कति पुरा भए ? यतातर्फ पनि ध्यान दिँदा राम्रो होला । सामुदायिक विद्यालय कमजोर बनाइयो र अहिलेको बजेट भाषणले त मृत्युवरणको नजिक पुर्याएको सन्देश सांकेतिक रुपमा पस्कन पुग्नुभएको छ, यो सरासर नेपाल राष्ट्रमाथिको बेइमानी हो ।

तपाईं कुन संस्थागत विद्यालयलाई गुणस्तरीय शिक्षाको थलोको रुपमा लिनुभएको छ । आँखा घुमाएर हेर्नोस् मन्त्रीज्यू कैयौं नेपाली बेरोजगारहरुकोे शैक्षिक प्रमाणपत्र हातमा छ, गाउँघरमा खेतीपाती गर्न अफ्ठ्यारो लाग्यो, भकारा सोर्न घिनाए, के गर्ने त भन्दा केही वर्ष संस्थागत विद्यालयमा अध्यापन गरिसकेपछि विद्यालय रोजीरोटीको लागि सञ्चालन गर्नुभएको छ उहाँहरुको योगदान ठूलो छ ।   कैयौं बेरोजगारलाई रोजगार दिलाएका छन् । नेपालका केही संस्थागत विद्यालयहरुलाई छोडेर हेर्ने हो भने सामुदायिक विद्यालय र संस्थागत विद्यालय गुणस्तरमा त्यति फरक नहोला । के संस्थागत विद्यालय सामुदायिक विद्यालयलाई सहयोग गर्न सक्ने अवस्थामा छन् त ?

गुणस्तरकै कुरा गर्ने हो भने के भिन्नता होला त सामुदायिक विद्यालयका शिक्षक र संस्थागत विद्यालयका शिक्षक बिच । ठीक अपवादलाई छोडेर हेर्ने हो भने सामुदायिक विद्यालय नै सुविधा सम्पन्न छन् । नभएको कुरो भनेको विश्वास नै हो । न शिक्षकले आफ्नो क्षमता माथि गरेको छ न समाजले नै । यति मात्र हो र शिक्षक नेतृत्वलाई हेरौं त जागिर सरकारी विद्यालय तर

त्यही शिक्षक संस्थागत विद्यालय सञ्चालन गरेको समेत देखिन्छ ।  एकातर्फ महङ्गो वैंकिक व्याजदरमा ऋण लिएर विद्यालय सञ्चालन गर्नुपरेको छ अर्कोतर्फ सुविधा सम्पन्न विद्यालय बाहेक अधिकांश विद्यालयहरुको आर्थिक अवस्था नाजुक छ तापनि हजारौं बेराजगारीलाई रोजगार उपलव्ध गराएका छन् त्यसैले पनि उनीहरु धन्यवादका पात्र छन् । यी र यस्तै विद्यालयले कसरी सहयोग गर्न सक्छन त सामुदायिक विद्यालयले ?

कहीँ सुविधासम्पन्न विद्यालय बाहेक अधिकांश संस्थागत विद्यालयहरुमा न्यून आय आर्जन भएका अभिभावकहरुका बालबालिका त्यस्ता संस्थागत विद्यालयमा पढेको अवस्था छ । त्यो  पनि अभिभावकको अंग्रेजी मोहको कारणले हो ।  ती विद्यालय आफै सञ्चालन गर्नको लागि असमर्थ भएको अवस्थामा कसरी सामुदायिक विद्यालयलाई सहयोग गर्न सक्छन् ।

रातो बंगला, सेन्ट जेभिएर, गण्डकी बोर्डीङ, सिद्धार्थ वनस्थली, एल आर आइ, अन्नपूर्ण जस्ता सयौं विद्यार्थी चाप भएका विद्यालयलाई छोडेर अरुलाई मुल्याङ्कन गर्दा उनीहरुको आफ्नै पीडा छ । नेपालको शिक्षाको क्षेत्रमा अप्ठ्यारो सहेर पनि केही न केही त सहयोग गरेका छन् ।त्यसैले त्यस्ता विद्यालय धन्यवादका पात्र छन् । तर, सरकार तिम्रो हेर्ने दृष्टिकोण गलत छ ।

नेपाल सरकार पछि नेपालका सामुदायिक विद्यालयलाई धरासायी बनाउने पात्रहरु नेपालका राजनितिज्ञ, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका कर्मचारी, त्यसपछि नेपाल शिक्षक महासंघ, संघ,  संगठन र प्रधानाध्यापक, शिक्षक र अभिभावक नै हुन् । आज उनीहरुकै कारणले गर्दा विद्वान माननीय अर्थमन्त्रीले समस्त सामुदायिक विद्यालयले केही गर्न सक्दैनन भन्ने सन्देश आक्रोशको रुपमा पोखेको बुझिन्छ ।

सरकारले गर्नुपर्ने काम आफु गर्दैन दोष विद्यालय माथि थुपार्छ । यो गलत हो । इमान्दार रुपमा काम गर्ने शिक्षकलाई पाखा लगाई  तल्लो तहका शिक्षकलाई विद्यालयको नेतृत्व सुम्पन्छ । शिक्षा ऐन तथा कानूनलाई आफ्नो अनुसार व्याख्या गरेको अवस्था छ । सरुवा, बढुवा र नियुक्तिमा पनि गलत सन्देश सुन्ने गरिएको छ ।  आफ्ना आफन्तलाई खल्तिबाट दरबन्दि निकाल्दै दरबन्दि र शिक्षक बाड्ने काम एक शिक्षकले गर्दैन र योग्यता नभएको व्यक्ति शिक्षक पनि हुन सक्दैन । उसको प्रवेश गलत थियो होला तर उसलाई टिकाइराख्ने काम सरकार आफैले गर्यो, सही समयमा आयोग खोलेर प्रतिस्प्रधामा जाने बाटो खोलिदिएको भए सक्षम शिक्षक रहन्थे प्रतिस्पर्धामा असफल हुने मित्रहरु चित्त बुझाउथे । शिक्षकलाई मात्र दोष किन ?

प्रायः सवै राजनैतिक दलले चुनावको बेलामा नेपाललाई स्वीजरल्याण्ड बनाउने सपना वाडेको हामीले देखेका छौ तर विकासका गति कस्तो छ त ? अरु छिमेकि मुलुकलाई एक पटक हेर्ने होकि ?

वर्तमानमा रहेको शिक्षक महासंघ पूर्णरुपमा कलकिंत छ । सेवाबाट निवृत शिक्षक, शिक्षक महासंघको अध्यक्ष हुँ भन्दै गर्दा अदक्षको पगरी बोेकेको पत्तै छैन । शिक्षकका संघ, संगठनहरुले संगठनका सदस्यहरुलाई दिक्षित गर्नुपर्ने हो शैक्षिक गुणस्तर कायम गरी, शिक्षकको आवाज बन्नसक्नु पर्ने हो, समाज परिवर्तनको बाहक बन्नुपर्ने हो, नेपालका विद्यार्थीलाई मानवीय मुल्य र मान्यताले सृंगारिएका असल, कर्मशील, नैतिकवान, देशप्रेमी जनशक्ति उत्पादन गर्नुपर्ने हो तर यस पाटोमा चुकेका छन् ।

उनीहरुलाई सधँै नेता मानिदिनु पर्ने तर आवश्यक परेको बेलामा एक शव्द सत्यको पक्षमा बोल्न नसक्ने नेतृत्व आफुलाई नेता मानिरहेको अवस्था छ ।  नेपालका विद्यार्थीको भविष्य नेपालमा छ भनी बुझाउन सकेको छैन । पदमा पुग्ने, राजनैतिक दलको नेताको सामिप्यमा पुगी शिक्षकहरुको भविष्यमाथि खेलवाड गर्ने समुहको रुपमा देखिएको छ । राजनैतिक विचारधारा शिक्षकले बोक्छ नै यसको अर्थ राजनैतिक दलले जे भन्छ त्यो गर्ने होइन । शिक्षा सुधार्नको लागि जे आवश्यक छ त्यहीँ गर्नुपर्छ । अझ  विडम्वनाको कुरो छ, एक असल शिक्षक महासंघको नेतृत्वमा पुग्न सक्दैन । अनि कसरी शिक्षक महासंघ शिक्षकको आवाज बन्न सक्छ, महासंघ । यस अवस्थामा पनि शिक्षक महासंघले निवृत अध्यक्षले हस्ताक्षरित प्रेस विज्ञप्ति जारी गर्दा नेपालका शिक्षक कहा“ छन् ?

त्यसैले आज सामुदायिक विद्यालयका शिक्षक मित्रहरु अर्थमन्त्रीले जे भने पनि तपाईं हामी सवै सजग रहनुपर्छ, तपाईं हाम्रा वावुनानीलाई आफ्नै विद्यालयमा भर्ना गराई आफ्नो मन वचन र कर्मले लागौं ।  यस क्षेत्र हिजो पनि आदरणीय थियो, आज अर्थमन्त्रीको नजरमा नभए पनि समस्त नेपाली समाजमा ठीक छ भन्ने बनाउँदै भोलिका दिनमा सामुदायिक विद्यालय सवैको रोजाइ बनाऔं ।

यस महान उद्देश्य सफल पार्नको लागि तपाईं हाम्रा विचारलाई त्यागी दिउँ, विद्यालयको नेतृत्व योग्यता र मर्यादा क्रममा जसले पाउनुपर्ने हो उसैलाई दिलाऔं नकि यो संघको त्यो संगठनको भनि विभाजित नवनौं । सवैको एकै स्वर बनोस हामी शिक्षक हौं, हाम्रो कर्तव्य शिक्षा दिनु हो नकि आपसमा विभाजन ।

हामी विभाजित छौं, त्यसैले हामीलाई हेपिएको अवस्था छ ।  चाहेको दिनमा नेपालका शिक्षकहरु सवै परिवर्तन गर्न सक्छन् भन्ने सन्देश पस्कनु पर्छ । यसको सुरुवात प्रत्येक शिक्षकले आफ्नो कर्मथलोबाट सुरु गरौं र भोलिका दिनमा सवै अभिभावकको रोजाइ सामुदायिक विद्यालय बनाऔं ।

(पण्डित पशुपति मित्र मावि चावहिल, काठमाडौंका निमित्त प्रधानाध्यापक हुन् )

प्रतिकृया दिनुहोस्