वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७

 

प्रस्तावना : कोभिड-१९ को संक्रमणको कारण अवरुद्ध रहेको सिकाइ प्रणालीलाई सुचारु गर्न र विद्यालय जाने उमेरका बालबालिकालाई विद्यालयमा नियमित पठन पाठन नभएसम्म आफ्नो परिवेश अनुकूल सिक्ने वातावरण सृजना गर्न दूर तथा खुला शिक्षा लगायत वैकल्पिक प्रणालीको माध्यमबाट प्रभावकारी र व्यवस्थित रुपमा सिकाइमा सहजीकरण गर्न वाञ्छनीय भएकोले,

शिक्षा ऐन, २०२८ को दफा १९क. ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यो निर्देशिका बनाई लागु गरेको छ ।

१. संक्षिप्त नाम र प्रारम्भ: (१) यस निर्देशिकाको नाम “वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७” रहेको छ।

(२) यो निर्देशिका मन्त्रालयबाट स्वीकृत भएको मितिदेखि प्रारम्भ हुनेछ ।

२. परिभाषा: विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस निर्देशिकामा,-

(क) “प्रविधि” भन्नाले शिक्षण सिकाइमा प्रयोगमा आउने रेडियो, एफएम रेडियो, टेलिभिजन, अनलाइन तथा अफलाइनका माध्यम सम्झनु पर्छ ।

(ख) “मन्त्रालय” भन्नाले नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सम्झनु पर्छ ।

(ग) “विद्यार्थी” भन्नाले सबै प्रकारका विद्यालयमा औपचारिक, अनौपचारिक रूपमा अध्ययनरत वा विद्यालय जाने उमेरका विद्यालय बाहिर रहेका बालबालिका सम्झनु पर्छ ।

(घ) “विद्यालय” भन्नाले प्रचलित कानून बमोजिम स्थापना भई सञ्चालन भएको सामुदायिक वा संस्थागत विद्यालय वा सार्वजनिक तथा निजी शैक्षिक गुठीद्वारा सञ्चालित विद्यालय वा विद्यालय शिक्षाका सबै प्रकारका शिक्षण संस्था सम्झनु पर्छ र सो शब्दले परम्परागत विद्यालयलाई समेत जनाउँछ ।

(ङ) “विद्यालय शिक्षा” भन्नाले आधारभूत र माध्यमिक शिक्षा सम्झनु पर्छ ।

(च) “वैकल्पिक प्रणाली” भन्नाले कोभिड-१९ वा यस्तै प्रकारको विपद् वा महामारी जस्ता कारणले नियमित पठनपाठन गर्न कठिन भएको वा हुने अवस्थामा रेडियो, एफएम रेडियो, टेलिभिजन, अनलाइन, अफलाइन, परियोजना पाठहरू, स्व-अध्ययन, दूर तथा खुला शिक्षा लगायतका वैकल्पिक माध्यम वा पद्धतिबाट अध्ययन, अध्यापन सुचारू राख्‍ने विधि र प्रक्रिया सम्झनु पर्छ ।

(छ) “शिक्षक” भन्नाले विद्यालयको अध्यापक सम्झनु पर्छ र सो शब्दले प्रधानाध्यापकलाई समेत जनाउँछ ।

(ज) “स्थानीय तह” भन्नाले गाउँपालिका र नगरपालिका सम्झनु पर्छ र सो शब्दले महानगरपालिका र उपमहानगरपालिकालाई समेत जनाउँछ।

(झ) “स्वयंसेवक” भन्नाले विद्यार्थीको सिकाइलाई सहजीकरण गर्ने कार्यमा समुदायमा रही स्वेच्छिक रुपमा योगदान गर्ने स्थानीय तह वा विद्यालयले तोकेको व्यक्ति सम्झनु पर्छ ।

३. विद्यार्थी पहिचान तथा वर्गीकरण: (१) स्थानीय तह तथा विद्यालयले स्रोत साधनमा पहुँचको अवस्थाका आधारमा विद्यार्थीको पहिचान गरी वर्गीकरण गर्नु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम विद्यार्थी वर्गीकरण गर्दा देहायको समूहमा वर्गीकरण गर्नु पर्नेछः-

(क) सबै किसिमको प्रविधिको पहुँच भन्दा बाहिर रहेका विद्यार्थी समूह,

(ख) रेडियो, एफएम रेडियोमा पहुँच भएका विद्यार्थी समूह,

(ग) टेलिभिजनमा पहुँच भएका विद्यार्थी समूह,

(घ) कम्प्युटर भएको तर अनलाइन कनेक्टिभिटि नभएका विद्यार्थी समूह,

(ङ) इन्टरनेट तथा सूचना संचार प्रविधिका साधनमा पहुँच भएका विद्यार्थी समूह ।

(३) उपदफा (२) बमोजिमको समूह वर्गीकरणमा राख्‍न नसकिने प्रकृतिका विशेष आवश्यकता भएका बालबालिकाको लागि सम्बन्धित स्थानीय तह र विद्यालयले आवश्यकताको प्रकृति अनुसार छुट्टै सिकाइ सहजीकरणको व्यवस्था गर्नु पर्नेछ ।

(४) वैकल्पिक प्रणालीबाट सिकाइमा सहजीकरण गर्दा राष्ट्रिय पाठ्‍यक्रम प्रारुप बमोजिमको सामग्रीहरू प्रयोग गर्नु पर्नेछ ।

४. विद्यार्थी पहिचान तथा वर्गीकरण सम्बन्धी प्रक्रिया: (१) दफा ३ बमोजिम समूहगत विद्यार्थी पहिचान तथा वर्गीकरण गर्ने प्रयोजनका लागि विद्यालयले चालु शैक्षिक सत्रको आधारमा आफ्नो विद्यालयको अभिलेख अनुसार विद्यार्थीको नामनामेसी, आमा, बाबुको नाम, ठेगाना, सम्पर्क नं., विद्यार्थीको समूहकृत वर्ग र स्रोत साधनको पहुँचको अवस्था समेतको विवरण खुलाइ सम्बन्धित स्थानीय तहलाई उपलब्ध गराउनु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम विद्यार्थीको विवरण उपलब्ध गराउन नसकिने अवस्था भएमा अघिल्लो शैक्षिक सत्रको विद्यालयको अभिलेखको आधारमा चालु शैक्षिक सत्रमा अध्ययन गर्ने कक्षा यकीन गरी विवरण उपलब्ध गराउनु पर्नेछ ।

(३) उपदफा (१) र (२) बमोजिम प्राप्त विवरण समेतका आधारमा स्थानीय तहले विभिन्न विद्यालयलमा अध्ययनरत, विद्यालय बाहिर रहेका, अन्य स्थानमा अध्ययन गरिरहेका तर कोभिड-१९ लगायतका महामारी एवम् विपद्का कारण स्थानीय तहको क्षेत्रभित्र बसिरहेका प्रारम्भिक बाल विकास देखि विद्यालय जाने उमेरका सबै बालबालिकाको विवरण तयार गरी दफा ३ को उपदफा (२) बमोजिम समूहगत रूपमा वर्गीकरण गर्नु पर्नेछ ।

(४) उपदफा (३) बमोजिम समूहगत रूपमा वर्गीकरण गरिएका विद्यार्थीहरूलाई सिकाइमा सहज हुने अवस्था विश्लेषण गरी विद्यालयले आफ्नो सेवा क्षेत्रभित्रका सबै बालबालिकाहरूको सहजीकरण गर्ने कार्ययोजना गरी स्थानीय तहलाई उपलब्ध गराउनु पर्नेछ ।

(५) उपदफा (४) बमोजिम कार्ययोजना बनाउँदा विद्यालयगत, क्षेत्रगत, वडागत, कक्षागत वा अन्य उपयुक्त समूहमा विभाजन गर्न सकिनेछ ।

५. कार्यक्रम सञ्चालन प्रक्रिया: (१) दफा ४ को उपदफा (४) बमोजिमको कार्ययोजनाका आधारमा विद्यालयले समूहगत वा वैयक्तिक रूपमा निर्धारित साधन, विधि तथा प्रक्रिया अपनाई सिकाइमा सहजीकरण गर्नु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम सिकाइ सहजीकरण कार्यक्रम सञ्चालन गर्दा विद्यालयले साप्ताहिक वा मासिक समय तालिका तयार गरी प्रकाशन गर्नु पर्नेछ ।

(३) उपदफा (१) बमोजिम सिकाइ सहजीकरण कार्यक्रम प्रभावकारी रूपमा सञ्चालनका लागि विद्यालयले समूहगत रूपमा शिक्षक वा विद्यालय कर्मचारी वा स्वयंसेवकलाई संयोजन गर्ने जिम्मेवारी दिनु पर्नेछ ।

(४) स्थानीय तह वा विद्यालयले सिकाइ सहजीकरण कार्यक्रम सञ्चालन गर्दा आवश्यकता अनुसार सोही समुदायमा क्रियाशिल संघ संस्था वा व्यक्तिको सहयोग लिन वा परिचालन गर्न सक्नेछ ।

६. समूहगत सिकाइ कार्यक्रम सम्बन्धी व्यवस्था: दफा ३ को उपदफा (२) बमोजिम वर्गीकृत विद्यार्थीको समूहलाई देहाय बमोजिमको लक्षित कार्यक्रम सञ्चालन गरी सिकाइ सहजीकरण गर्नु पर्नेछ:-

(क) सबै किसिमको प्रविधिको पहुँच भन्दा बाहिर रहेका विद्यार्थी समूहका लागि:

(१) सबै विद्यार्थीहरूलाई चालु शैक्षिक सत्रमा अध्ययन गर्ने कक्षा यकीन गरी सो को अभिलेख राखी पाठ्‍यपुस्तक उपलब्ध गराउने,

(२) शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट स्वाध्ययन वा सामग्रीको विद्युतीय प्रति तयार गरी वेवसाइटमा राख्‍ने, प्रदेश र स्थानीय तहले समन्वय गरी उक्त सामग्री छपाइ गरी विद्यालयलाई उपलब्ध गराउने र स्थानीय तहले अभ्यास पुस्तिकाहरू छपाइ गरी वितरण गर्ने,

(३) समुदायमा रहेका वा रहने सिकाइ केन्द्र वा विद्यालयमा एक आपसमा भौतिक दूरी कायम गरी बसाइ व्यवस्था मिलाई श्रव्य दृष्य प्रविधि मार्फत सिक्ने, सिकाउने व्यवस्था गर्ने,

(४) स्थानीय समुदायमा रहेका शिक्षकहरू र शिक्षक नभएको अवस्थामा स्थानीय तह वा विद्यालयबाट तोकिएका स्वयम्‍सेवकबाट विद्यार्थीहरूका लागि सिकाइमा प्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने व्यवस्था गर्ने,

(५) अभिभावक शिक्षाका माध्यमबाट अभिभावकलाई बालबालिकाको सिकाइका लागि उत्प्रेरकको भूमिका निर्वाह गर्न प्रोत्साहित गर्ने ।

(ख) रेडियो, एफएम रेडियोमा पहुँच भएका विद्यार्थी समूहका लागि:

(१) सबै विद्यार्थीहरूलाई चालु शैक्षिक सत्रमा अध्ययन गर्ने कक्षा यकीन गरी सो को अभिलेख राखी पाठ्‍यपुस्तक उपलब्ध गराउने,

(२) शिक्षा तथा मानव स्रोत विकास केन्द्रले तयार पारेका सामग्रीहरू केन्द्रीय रेडियोबाट प्रसारण गर्ने र यी सामग्रीहरू स्थानीय एफएम रेडियोहरूलाई निःशुल्क उपलब्ध गराउने,

(३) प्रदेश र स्थानीय तहले नि:शुल्क वा न्यूनतम शुल्कमा प्रसारण गर्ने व्यवस्था मिलाउने,

(४) स्थानीय तहले आफ्नो क्षेत्रभित्र उपलब्ध शिक्षक परिचालन गरी सामुदायिक रेडियो पाठ विकास गरी प्रसारण गर्ने व्यवस्था मिलाउने, प्रसारण गर्दा अन्तरक्रियात्मक बनाउन आवश्यक प्रबन्ध गर्ने र विद्यार्थीको निगरानीको जिम्मा समुदायमा बसोबास गरिरहेका शिक्षकलाई दिने,

(५) रेडियोबाट सुन्ने र विद्यार्थीहरूले आफैंले अभ्यास गर्दै सिक्ने व्यवस्थाका लागि स्थानीय समुदायमा बसोबास गरिरहरेका शिक्षक र अभिभावकबाट निगरानीको व्यवस्थाका साथै भौतिक दूरी कायम गरी चार देखि पाँच जनाको समूहमा छलफल गर्ने व्यवस्था मिलाउने,

(६) विद्यार्थीले तयार गरेको लेख रचना र घरमै बसेर गरेको परियोजना कार्यलाई रेडियोमा प्रसारण गर्ने व्यवस्था मिलाउने,

(७) रेडियो प्रसारका साथै सम्भव भएसम्म स्व-अध्ययन सामग्री उपलब्ध गराउने,

(८) शिक्षा तथा मानव स्रोत विकास केन्द्र, प्रदेश र स्थानीय तहबाट रेडियो र एफएम रेडियोबाट प्रसारण गरिने कक्षागत र विषयगत पाठहरू सम्बन्धी समय तालिकालाई व्यवस्थित गरी सार्वजनिक गर्ने,

(९) विद्यालयमा सम्भव भएसम्म टोल फ्री नोटिस बोर्ड सर्भिस र बल्क एसएमएस सर्भिसको प्रयोग गर्ने,

(१०) अभिभावक शिक्षाका माध्यमबाट अभिभावकलाई बालबालिकाको सिकाइका लागि उत्प्रेरकको भूमिका निर्वाह गर्न प्रोत्साहित गर्ने ।

(ग) टेलिभिजनमा पहुँच भएका विद्यार्थी समूहका लागि :

(१) सबै विद्यार्थीहरूलाई चालु शैक्षिक सत्रमा अध्ययन गर्ने कक्षा यकीन गरी सो को अभिलेख राखी पाठ्‍यपुस्तक उपलब्ध गराउने,

(२) शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विकास तथा संयोजन गरेका कक्षागत सिकाइ सामग्रीहरू केन्द्रीय टेलिभिजनबाट प्रसारण गर्ने,

(३) शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट तयार भएका र प्रसारण गरिएका सामग्रीहरू नि:शुल्क सबै टेलिभिजन च्यानलहरूलाई उपलब्ध गराउने,

(४) प्रदेशले प्रदेश स्तरमा र स्थानीय तहले आफ्नो क्षेत्रभित्र रहेका विज्ञ शिक्षक परिचालन गरी सिकाइ सामग्री विकास गरी टेलिभिजनबाट प्रसारण गर्ने व्यवस्था गर्ने,

(५) टेलिभिजनबाट प्रसारण भएका पाठहरू विद्यार्थीहरूले अध्ययन गरे, नगरेको अनुगमनका साथै पाठ्‍यवस्तु बुझ्न कठिनाइ भए, नभएको यकीन गरी समुदायमा रहेका शिक्षकहरुबाट सहजीकरण गर्ने व्यवस्था मिलाउने,

(६) शिक्षा तथा मानव स्रोत विकास केन्द्र, प्रदेश र स्थानीय तहबाट टेलिभिजनबाट प्रसारण गरिने कक्षागत र विषयगत पाठहरू सम्बन्धी समय तालिकालाई व्यवस्थित गरी सार्वजनिक गर्ने,

(७) अभिभावक शिक्षाका माध्यमबाट अभिभावकलाई बालबालिकाको सिकाइका लागि उत्प्रेरकको भूमिका निर्वाह गर्न प्रोत्साहित गर्ने ।

(घ) कम्प्युटर भएको तर अनलाइन कनेक्टिभिटि नभएका विद्यार्थी समूहका लागि:

(१) सबै विद्यार्थीहरूलाई चालु शैक्षिक सत्रमा अध्ययन गर्ने कक्षा यकीन गरी सो को अभिलेख राखी पाठ्‍यपुस्तक उपलब्ध गराउने,

(२) अनलाइनमा तयार गरिएको सामग्रीको अफलाइन मोडमा (सिडि वा पेन ड्राइभ, हार्डडिस्क आदि) विद्यालय र स्थानीय तह मार्फत उपलब्ध गराउने,

(३) निजी बिक्रेताहरूले बजारमा भएका पाठ्‍यक्रम विकास केन्द्रको स्वीकृत सूचीभित्रका शैक्षिक सामग्रीहरू सहुलियत वा छुटमा विद्यार्थीलाई उपलब्ध गराउने,

(४) विद्यार्थीहरुलार्इ अफलाइन मोडमा उपलब्ध गराइएका सिकाइ सामग्रीहरु प्रयोग गरी अध्ययन गरे, नगरेको अनुगमन गर्नुका साथै पाठ्‍यवस्तु बुझ्न कठिनाइ भए, नभएको सम्बन्धमा समुदायमा रहेका शिक्षकहरुबाट सहजीकरण गर्ने व्यवस्था मिलाउने,

(५) अभिभावक शिक्षाका माध्यमबाट अभिभावकलाई बालबालिकाको सिकाइका लागि उत्प्रेरकको भूमिका निर्वाह गर्न प्रोत्साहित गर्ने ।

(ङ) इन्टरनेट तथा सूचना संचार प्रविधिका साधनमा पहुँच भएका विद्यार्थी समूहका लागि :

(१) सबै विद्यार्थीहरूलाई चालु शैक्षिक सत्रमा अध्ययन गर्ने कक्षा यकीन गरी सो को अभिलेख राखी पाठ्‍यपुस्तक उपलब्ध गराउने,

(२) शिक्षा तथा मानव स्रोत विकास केन्द्र, प्रदेश र स्थानीय तहले अनलाइन सिकाइ सामग्रीहरू तयारी गरी अनलाइन माध्यममा उपलब्ध गराउने,

(३) राष्ट्रिय पाठ्‍यक्रम प्रारुप अनुकूलका खुला स्रोतमा उपलब्ध अनलाइन सिकाइ सामग्रीहरु प्रयोग गर्न सकिने,

(४) शिक्षा तथा मानव स्रोत विकास केन्द्र, प्रदेश सरकार, स्थानीय तहबाट उत्पादन भएका सामग्री समेत प्रयोग गरी विद्यालयहरूले अनलाइन पठन पाठन गर्ने,

(५) शिक्षा तथा मानव स्रोत विकास केन्द्रले अनलाइनमा प्रसारण गरिएका श्रव्य दृष्य सामग्रीहरू लर्निङ्ग पोर्टल वा युट्युवमा अपलोड गर्ने,

(६) पाठ्‍यक्रम विकास केन्द्रबाट तयार गरिएका र स्वीकृति प्रदान गरिएका विद्यालय तहका सबै कक्षाका पाठ्‍यक्रम, पाठ्‍यपुस्तक तथा अन्य पाठ्‍यसामग्री लगायत अन्य श्रव्य दृश्य सामग्रीहरू साइवर सुरक्षा निर्देशिकाको अधीनमा रही मोबाइल एप्लिकेसन विकास गरी डाउनलोड गर्न सकिने व्यवस्था गर्ने,

(७) अभिभावक शिक्षाका माध्यमबाट अभिभावकलार्इ बालबालिकाको सिकाइका लागि उत्प्रेरकको भूमिका निर्वाह गर्न प्रोत्साहित गर्ने ।

७. विद्यार्थीले आफ्नो रुची र प्राथमिकता अनुसार अध्ययन गर्न पाउने: दफा ६ बमोजिमका कार्यक्रमहरूमध्ये एक भन्दा बढी कार्यक्रममा पहुँच हुने विद्यार्थीले आफ्नो रुची र प्राथमिकता अनुसारको कार्यक्रम छनौट गर्न सक्नेछ ।

८. प्रारम्भिक बाल विकास उमेर समूहका बालबालिकाका लागि सिकाइ सहजीकरण: (१) स्थानीय तह तथा विद्यालयले रेडियो, टेलिभिजन तथा अनलाइन सामग्री प्रयोग गरी प्रारम्भिक बाल विकास उमेर समूहका बालबालिकाका लागि सिकाइ सहजीकरण गर्न सक्नेछन् ।

(२) उपदफा (१) बमोजिम सिकाइ सहजीकरण गर्दा सहयोगी कार्यकर्ता तथा अभिभावकका लागि घरायसी विद्यालय (होम स्कूलिङ्ग) को रूपमा कार्यक्रम सञ्चालन गर्न सकिनेछ ।

९. कार्यक्रम सञ्चालन गर्नका लागि सामग्रीको उपलब्धता: (१) अनलाइन विद्युतीय सामग्रीहरू शिक्षा तथा मानवस्रोत विकास केन्द्रको लर्निङ्ग पोर्टल (learning.cehrd.edu.np) र प्रसारण भएका पाठहरु यूट्युव च्यानल (www.youtube.com/ncedvirtual) तथा पाठ्‍यक्रम विकास केन्द्रको इ-पुस्तकालय (www.moecdc.gov.np) मा उपलब्ध हुनेछ र यसको लिंक शिक्षा तथा मानव स्रोत विकास केन्द्रको वेवसाइट (www.doe.gov.np) मा समेत रहनेछ ।

(२) उपदफा (१) बमोजिमका सामग्रीहरू प्रदेशको शिक्षा विकास निर्देशनलायको वेवसाइटमा समेत उपलब्ध हुनेछन् ।

(३) उपदफा (१) र (२) बमोजिम वेवसाइटमा उपलब्ध सामग्रीहरू नि:शुल्क डाउनलोड गरी प्रयोग गर्न वा गराउन सकिनेछ ।

(४) वेवसाइटमा थप सिकाइ सामग्रीहरू नियमित रूपमा अपलोड गरिनेछ ।

१०. टेलिभिजन प्रसारण तालिका बनाउने: शिक्षा तथा मानव स्रोत विकास केन्द्रले नेपाल टेलिभिजन लगायतका टेलिभिजनहरूबाट प्रसारण गर्ने कार्यक्रमको समय तालिका नियमित रूपमा वेभसाइटमा (www.doe.gov.np) मा राख्‍नु पर्नेछ ।

११. विद्यालय तथा शिक्षकले सिकाइ सामग्री विकास गरी सञ्चालन गर्न सक्ने: (१) दफा ६ मा उल्लिखित कार्यक्रमका अतिरिक्त विद्यालय तथा शिक्षकले उपलब्ध प्रविधिका आधारमा सिकाइ सामग्री विकास गरी सिकाइ सहजीकरण कार्यक्रम सञ्चालन गर्न सक्नेछन्।

(२) उपदफा (१) बमोजिम सहजीकरण कार्यक्रम सञ्चालन गर्दा राष्ट्रिय पाठ्‍यक्रम प्रारुप बमोजिमका सामग्री प्रयोग गर्नु पर्नेछ ।

(३) उपदफा (१) बमोजिम सञ्चालन हुने कार्यक्रममा अन्य विद्यालयका विद्यार्थी समेत सहभागी हुन पाउनेछन् ।

(४) विद्यालय तथा शिक्षकले सिकाइ सामग्री विकास गरी सञ्चालन गर्न सक्ने अन्य व्यवस्था स्थानीय तहले तोके बमोजिम हुनेछ ।

१२. मन्त्रालयको भूमिका: वैकल्पिक प्रणालीको माध्यमबाट सिकाइमा सहजीकरण गर्ने सम्बन्धमा मन्त्रालयको भूमिका देहाय बमोजिम हुनेछ:-

(क) अन्तर मन्त्रालय तथा निकायहरू र संघ, प्रदेश र स्थानीय तहबाट सम्पादन हुने कामको समन्वय गर्ने,

(ख) नेपाल टेलिकम लगायत इन्टरनेट सेवा प्रदायक संस्थाबाट शैक्षिक प्रयोजनका लागि मात्र हुने गरी नि:शुल्क वा सहुलियत शुल्कमा डाटा प्याकेज प्राप्त गरी विद्यालय तथा विद्यार्थीलाई नि:शुल्क उपलब्ध गराउने,

(ग) एकीकृत शिक्षा पोर्टलको निर्माण तथा सञ्चालन, शैक्षिक टेलिभिजन च्यानल स्थापना र सञ्चालन, विद्युतीय शिक्षण सामग्री विकास, अनलाइन प्रविधि तथा उपकरण, विद्युतको वैकल्पिक व्यवस्था, भर्चुअल ल्याब, इक्लाउड प्रयोगशाला र इ-लाइब्रेरी स्थापना, खरिद तथा सञ्चालनको लागि आवश्यक बजेट व्यवस्थापन सम्बन्धी कार्यहरू गर्ने,

(घ) विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरूसँग सहकार्य गर्ने ।

१३. शिक्षा तथा मानव स्रोत विकास केन्द्रको भूमिका: वैकल्पिक प्रणालीको माध्यमबाट सिकाइमा सहजीकरण गर्ने सम्बन्धमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रको भूमिका देहाय बमोजिम हुनेछ:-

(क) राष्ट्रियस्तरमा एकीकृत शिक्षा इ-लर्निङ पोर्टलको निर्माण गरी शैक्षिक सामग्रीहरू सर्वसुलभ रूपमा लिन सक्ने गरी विकास गर्ने,

(ख) इ-लर्निङ्ग पोर्टलमा भएका र विकास गरिएका सामग्रीहरूलाई सिडि, पेनड्राइभ, हार्डडिस्क, सिस्टम जस्ता अफलाइन मोडमा रुपान्तरण गरी विद्युतीय प्रति उपलब्ध गराउने,

(ग) दफा ३ को उपदफा (२) बमोजिमका सबै वर्गका विद्यार्थीका लागि उपयोग गर्न मिल्ने डिजिटल र छापा सामग्री तयार गर्ने र सो प्रयोजनका लागि सम्बद्ध निकाय र संघ संस्थाहरुसँग समन्वय र सहजीकरण गर्ने,

(घ) सबै किसिमका सिकाइ सामग्रीहरूको विषयवस्तुको गुणस्तर कायम गर्न आवश्यक कार्य गर्ने, गराउने,

(ङ) विभिन्न संघ संस्था तथा व्यक्तिहरूले निर्माण गरेका डिजिटल सामग्री, खुला स्रोतमा उपलब्ध शैक्षिक सामग्री, व्यवसायिक रूपमा तयार भएका र बजारमा उपलब्ध सामग्रीहरूको सूची तयार गरी अध्यावधिक गर्ने र आवश्यकता अनुसार सामग्रीहरू खरिद गरी वितरण गर्ने,

(च) सिकाइ सहजीकरण कार्यक्रमका लागि बजेटको व्यवस्थापन सम्बन्धी कार्य गर्ने,

(छ) सिकाइ सामग्री निर्माणका लागि संघ, प्रदेश र स्थानीय तह बीच संयोजन गर्ने,

(ज) सिकाइ व्यवस्थापन प्रणाली, कन्फरेन्स साधन, डिजिटल विषयवस्तु, परीक्षा र मूल्याङ्कनका न्यूनतम् मापदण्ड निर्धारण सम्बन्धी कार्य गर्ने ।

१४. प्रदेशको भूमिका: वैकल्पिक प्रणालीको माध्यमबाट सिकाइमा सहजीकरण गर्ने सम्बन्धमा प्रदेशको भूमिका देहाय बमोजिम हुनेछ:-

(क) शिक्षा तथा मानव स्रोत विकास केन्द्रको इ-लर्नीङ पोर्टलमा भएका सामग्रीहरू प्रदेश स्तरमा टेलिभिजन तथा रेडियोबाट प्रसारण गर्ने व्यवस्था मिलाउने,

(ख) स्थानीय तहबाट भएका काममा आवश्यक समन्वय र सहजीकरण गर्ने,

(ग) शिक्षा विकास निर्देशनालय मार्फत कार्यक्रम कार्यान्वयनका लागि आवश्यक सहजीकरण गर्ने, गराउने,

(घ) प्रदेशको शिक्षा तालिम केन्द्र मार्फत शिक्षकको क्षमता विकास, मनोपरामर्श, शिक्षक अभिभावकका लागि घरायसी विद्यालय (होम स्कूलिङ्ग) जस्ता कार्यक्रम सञ्चालन गर्ने, गराउने,

(ङ) राष्ट्रिय पाठ्‍यक्रम प्रारुप बमोजिम प्रदेशस्तरमा रेडियो, टेलिभिजन र अनलाइनका कार्यक्रमहरू उत्पादन गरी प्रसारण गर्ने, गराउने,

(च) प्रदेशबाट उत्पादन तथा प्रसारण भएका सामग्रीहरू प्रदेश सामाजिक विकास मन्त्रालय र शिक्षा विकास निर्देशनालयको वेवसाइटमा राख्‍ने र त्यसलार्इ शिक्षा तथा मानव स्रोत विकास केन्द्रको लर्निङ प्रोटलसँग लिङ्क गर्ने,

(छ) अनलाइनका लागि तयार गरिएका सामग्रीहरूलाई सिडि वा पेनड्राइभ, हार्ड डिस्क, सिष्टम जस्ता अफलाइन मोडमा रुपान्तरण गरी स्थानीय तह मार्फत वा सोझै विद्यालयले प्रयोग गर्ने व्यवस्था मिलाउने,

(ज) अफलाइन मोडमा तयार गरिएका सामग्रीहरूलाई पुस्तक वा अभ्यास पुस्तिकाका रूपमा छपाइ गरी स्थानीय तह वा विद्यालयलाइ उपलब्ध गराउने,

(झ) प्रदेशभित्र सञ्चालन भएका शिक्षण सिकाइका कार्यक्रमहरूको अनुगमन तथा सुपरीवेक्षण गरी आवश्यकता अनुसार सहयोग गर्ने ।

१५. स्थानीय तहको भूमिका: वैकल्पिक प्रणालीको माध्यमबाट सिकाइमा सहजीकरण गर्ने सम्बन्धमा स्थानीय तहको भूमिका देहाय बमोजिम हुनेछ:-

(क) दफा ३ र ४ बमोजिम स्थानीय तहमा रहेका विद्यार्थीहरूको पहिचान तथा वर्गीकरण सम्बन्धी कार्य गर्ने, गराउने,

(ख) आवश्यकतानुसार सिकाइ केन्द्रहरू स्थापना गर्न सहजीकरण गर्ने,

(ग) शिक्षकलाई सिकाइ सहजकर्ता तथा मूल्याङ्कनकर्ताको रूपमा परिचालन गर्ने र सो को अनुगमन गर्ने, गराउने,

(घ) रेडियो, टेलिभिजन र अनलाइन तथा अफलाइनबाट स्थानीय शिक्षक तथा विद्यार्थीको सहभागितामा सिकाइ सहजीकरण कार्यक्रम उत्पादन तथा प्रसारण गर्ने, गराउने,

(ङ) डिजिटल वा दूर शिक्षण सामग्री प्रयोग र कोभिड-१९ वा यस्तै प्रकारको विपद् सम्बन्धी सचेतना अभिवृद्धिका लागि कार्यक्रम सञ्चालन गर्ने,

(च) स्थानीय रूपमा बसोबास गरिरहेका शिक्षक तथा स्वयम्‍सेवकहरूलाई सहजकर्ताको रूपमा परिचालन गर्ने, गराउने,

(छ) केन्द्र, प्रदेश र स्थानीय तहले विकास गरेका र अनलाइन तथा अफलाइनमा उपलब्ध सामग्रीहरूलाई पुस्तक वा अभ्यास पुस्तिकाका रूपमा छपाइ गरी विद्यालयलाई उपलब्ध गराउने,

(ज) आवश्यकता अनुसार पुराना पाठ्‍यपुस्तकको प्रयोग गर्ने व्यवस्था मिलाउने,

(झ) विद्यार्थीलाई घरघरमा पाठ्‍यपुस्तक उपलब्ध गराउन आवश्यक सहजीकरण गर्ने,

(ञ) दफा ३ को उपदफा (२) को खण्ड (क) बमोजिमको वर्गीकृत समूहको लागि सिकाइमा सहयोग गर्ने सहायताका कार्यक्रम वडाबाट सञ्चालन गर्ने व्यवस्था मिलाउने,

(ट) अनलाइन र अफलाइन मोडमा सिकाइ सहजीकरण कार्यक्रम सञ्चालन गर्न शिक्षकहरूको क्षमता विकास सम्बन्धी छोटो अवधिका तालिम कार्यक्रमहरू सञ्चालन गर्ने, गराउने,

(ठ) भौतिक पूर्वाधार र विद्यार्थी संख्याका आधारमा भौतिक दूरी कायम राखी कार्यक्रम सञ्चालनमा सहजीकरण गर्ने,

(ड) संघस‌ंस्थाको सहकार्यमा विभिन्न माध्यमको उपयोग गरी कार्यक्रम सञ्चालन गर्ने, गराउने ।

१६. सञ्चार क्षेत्र, प्रकाशन तथा प्रसारण संस्थाको भूमिका: वैकल्पिक प्रणालीको माध्यमबाट सिकाइमा सहजीकरण गर्ने सम्बन्धमा सञ्चार क्षेत्र प्रकाशन तथा प्रसारण संस्थाको भूमिका देहाय बमोजिम हुनेछ:-

(क) सिकाइ सहजीकरण सामग्रीहरु नि:शुल्क वा सहुलियत शुल्कमा प्रकाशन तथा प्रशारण गर्ने, गराउने,

(ख) विभिन्न प्रकारका शैक्षिक र सचेतनामूलक कार्यक्रमहरूलाई आ-आफ्नो माध्यममा प्रकाशन तथा प्रसारणका लागि प्राथमिकता दिने,

(ग) टेलिभिजन, रेडियो तथा एफएम रेडियोबाट शिक्षा च्यानल, शिक्षा रेडियो र एफएम रेडियोको सञ्चालन गर्ने,

(घ) उपखण्ड (ग) बमोजिमको शिक्षा च्यानल, शिक्षा रेडियो तथा एफएम रेडियोलाई राष्ट्रिय र स्थानीय स्तरका च्यानल वितरकहरूबाट नि:शुल्क रूपमा प्रसारणको व्यवस्था गर्ने, गराउने ।

१७. निजी क्षेत्रको भूमिका: वैकल्पिक प्रणालीको माध्यमबाट सिकाइमा सहजीकरण गर्ने सम्बन्धमा निजी क्षेत्रको भूमिका देहाय बमोजिम हुनेछ:-

(क) आफुले विकास गरेका शैक्षिक सामग्रीहरू (भिडियो लेसन, सिकाइ सामग्री, पुस्तक, जर्नल आदि) आफ्नो चिनारी सहित प्रकाशन वा प्रसारण गर्ने र नि:शुल्क रूपमा वितरणको व्यवस्था गर्ने, गराउने,

(ख) संघ, प्रदेश वा स्थानीय तहलाई वैकल्पिक प्रणालीको व्यवस्थापन गर्न सहयोग गर्ने I

१८. विद्यालयको भूमिका: वैकल्पिक प्रणालीको माध्यमबाट सिकाइमा सहजीकरण गर्ने सम्बन्धमा विद्यालयको भूमिका देहाय बमोजिम हुनेछ:-

(क) दफा ३ र ४ बमोजिम आफ्नो सेवा क्षेत्रमा रहेका विद्यार्थीहरूको पहिचान तथा वर्गीकरण सम्बन्धी कार्य गर्ने, गराउने,

(ख) स्थानीय तहसँग समन्वय गरी आवश्यकतानुसार सिकाइ केन्द्रहरू स्थापना गरी सञ्चालन गर्ने, गराउने,

(ग) शिक्षकहरूलाई स्थानीय परिवेश अनुसार छापा वा डिजिटल शैक्षिक सामग्री उत्पादन गर्न र रेडियो, टेलिभिजन तथा अनलाइनमा स्रोत शिक्षकको रूपमा काम गर्न प्रोत्साहन गर्ने,

(घ) विद्यार्थीहरूको सहभागिता र सिकाइको निगरानी तथा मूल्याङ्कन गर्ने,

(ङ) विद्यार्थीका लागि तयार गरिएका विद्युतीय सामग्रीहरू शिक्षा तथा मानव स्रोत विकास केन्द्रको ई-लर्निङ पोर्टलमा उपलब्ध गराउने,

(च) खुला स्रोतमा आधारित नि:शुल्क उपलब्ध हुने अनलाइन र अफलाइन सिकाइ व्यवस्थापन प्रणालीहरू उपयोग गर्ने, गराउने,

(छ) विद्यालयले आफ्नो सेवा क्षेत्रमा रहेका सबै विद्यार्थीहरुलाई सिक्ने अवसर प्रदान गर्ने,

(ज) विद्यार्थीलाई घरघरमा पाठ्‍यपुस्तक उपलब्ध गराउने,

(झ) व्यवस्थापकीय प्रबन्धको विषयमा स्थानीय तहको अनुमति लिने ।

१९. शिक्षकको भूमिका: वैकल्पिक प्रणालीको माध्यमबाट सिकाइमा सहजीकरण गर्ने सम्बन्धमा शिक्षकको भूमिका देहाय बमोजिम हुनेछ:-

(क) दफा ३ र ४ बमोजिम आफ्नो बसोबास क्षेत्रमा रहेका विद्यार्थीहरूको पहिचान तथा वर्गीकरणका लागि स्थानीय तह र विद्यालयलाई विवरण उपलब्ध गराउने,

(ख) समुदायमा स्रोत शिक्षक वा सहजकर्ताको रूपमा काम गर्न नजिकैको विद्यालयमा सम्पर्क राख्‍ने,

(ग) नयाँ तथा पुराना पाठ्‍यपुस्तकको प्रयोग गरेर पढ्ने वा सिक्ने, सिकाउने कुरामा सहजीकरण गर्ने,

(घ) समुदायमा रहेका आफूले पढाउने विद्यालय बाहेकका विद्यार्थीहरूको सूची बनाइ सहजीकरण गर्ने,

(ङ) बसोबास नजिक रहेको विद्यालयलाइ आवश्यकता अनुसार सहयोग गर्ने,

(च) विद्यार्थीहरुलाइ सर्वव्यापी रुपमा प्रयोग भएका अनलाइन पद्धति तथा अन्य शिक्षण सिकाइका साधनहरूलाई प्रयोग गर्न प्रोत्साहन गर्ने,

(छ) खुला स्रोतमा आधारित नि:शुल्क उपलब्ध हुने अनलाइन र अफलाइन सिकाइ व्यवस्थापन प्रणालीहरू उपयोग गर्ने, गराउने ।

२०. अभिभावकको भूमिका: वैकल्पिक प्रणालीको माध्यमबाट सिकाइमा सहजीकरण गर्ने सम्बन्धमा अभिभावकको भूमिका देहाय बमोजिम हुनेछ:-

(क) आफ्ना बालबालिकालाई जीवनोपयोगी, परम्परागत तथा सामाजिक व्यवहार कुशल सीपहरू सिक्न र सिकाउन उत्प्रेरित गर्ने,

(ख) आफ्ना बालबालिकाहरूको अध्ययन, अध्यापनमा निरन्तर सहयोग गर्ने,

(ग) समुदायमा सिकाइका लागि उत्प्रेरकको भूमिका निर्वाह गर्न सक्रिय रहने,

(घ) विद्यार्थीहरूको पहिचान तथा वर्गीकरणका लागि स्थानीय तह र विद्यालयलाई विवरण उपलब्ध गराउने ।

२१. समन्वय तथा अनुगमन समिति: (१) वैकल्पिक प्रणालीको माध्यमबाट सिकाइमा सहजीकरण कार्यक्रमको समन्वय तथा अनुगमन गर्न प्रदेश तथा स्थानीय तहमा समन्वय तथा अनुगमन समितिहरू रहनेछन् ।

(२) उपदफा (१) बमोजिमको समन्वय तथा अनुगमन समितिको गठन, काम, कर्तव्य र अधिकार र अन्य व्यवस्था सम्बन्धित प्रदेश र स्थानीय तहले तोके बमोजिम हुनेछ ।

२२. शिक्षकका पेशागत संगठन र विद्यालयका छाता संगठनहरूले कार्यक्रम सञ्चालन गर्न सक्ने: (१) नेपाल शिक्षक महासंघ, विद्यालयका छाता संगठन लगायतका पेशागत संगठनहरूले अनलाइन भिडियो कन्फरेन्स प्रणालीको प्रयोग गरी शिक्षकको क्षमता विकास तथा विद्यार्थीहरूको सिकाइका लागि कार्यक्रमहरू सञ्चालन गर्न सक्नेछन् ।

(२) उपदफा (१) बमोजिम सञ्चालन हुने कार्यक्रममा देशभरका इच्छुक शिक्षक तथा विद्यार्थीहरु सहभागी हुन पाउनेछन् ।

(३) उपदफा (१) बमोजिम कार्यक्रम सञ्चालन गर्नु अघि कार्यक्रमको कार्ययोजना शिक्षा तथा मानव स्रोत विकास केन्द्र, प्रदेशको सामाजिक विकास मन्त्रालय र स्थानीय तहलाई विद्युतीय माध्यमबाट उपलब्ध गराउनु पर्नेछ ।

(४) उपदफा (३) बमोजिम प्राप्त कार्यक्रमको कार्ययोजना शिक्षा तथा मानव स्रोत विकास केन्द्र, प्रदेशको सामाजिक विकास मन्त्रालय र स्थानीय तहले वेवसाइट तथा आवश्यकता अनुसार सामाजिक सञ्चालको माध्यमबाट सार्वजनिक गर्न सक्नेछ ।

२३. संघ संस्थाहरूसँग सहयोग लिन तथा सहकार्य गर्न सकिने : (१) सूचना तथा प्रविधिसँग सम्बन्धित पेशागत संगठनहरू र अन्य विषयगत पेशागत संगठन, शिक्षकका संघ संगठनहरू, अन्य शिक्षण सिकाइसँग सम्बन्धित संस्थाहरू, सूचना तथा प्रविधि, इन्टरनेट सेवाप्रदायक, शैक्षिक सामग्री विकासमा संलग्न, शिक्षक तालिममा संलग्न सार्वजनिक तथा निजी संघ संस्थाहरूसँग संघ, प्रदेश र स्थानीय तहमा आवश्यकता अनुसार सहयोग लिन वा सहकार्य गर्न सकिनेछ ।

(२) उपदफा (१) बमोजिमका संघ संस्थाहरूको सहयोग वा सहकार्यमा कार्यक्रम सञ्चालन गर्नका लागि सम्बन्धित संघ संस्थाको संलग्नता वा प्रतिनिधित्व हुने गरी संघ, प्रदेश र स्थानीय तहले आवश्यकता अनुसार संजाल निर्माण गर्न सकिनेछ ।

(३) वैकल्पिक सिकाइ प्रणाली विकास र कार्यान्वयनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरकारी, गैरसरकारी संघ संस्थाहरुसँग सहकार्य गर्न सकिनेछ ।

२४. स्रोतमा साझेदारी गर्ने: वैकल्पिक प्रणाली कार्यान्वयनको लागि संघ, प्रदेश र स्थानीय तहले स्रोतको साझेदारी तथा सहकार्य गर्न सकिनेछ ।

२५. थप व्यवस्था गर्न सक्ने: प्रदेश र स्थानीय तहले सबै बालबालिकाको लागि वैकल्पिक प्रणालीको माध्यमबाट सिकाइमा सहजीकरण गर्दा यस निर्देशिका उल्लिखित व्यवस्थाका अतिरिक्त थप व्यवस्था गर्न सक्नेछन् ।

२६. मापदण्डको पालना गर्नु पर्ने: यस निर्देशिका बमोजिम वैकल्पिक प्रणालीबाट सिकाइमा सहजीकरण गर्दा कोभिड-१९ को संक्रमणको नियन्त्रण र रोकथामका लागि नेपाल सरकार वा नेपाल सरकारद्वारा गठित समितिहरू, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, प्रदेश, स्थानीय तह र स्थानीय प्रशासनबाट निर्धारित संक्रमण नियन्त्रण र रोकथामसँग सम्बन्धित सबै मापदण्डहरूको परिपालना गर्नु पर्नेछ ।

२७. बाझिएमा अमान्य हुनेः यस निर्देशिकामा उल्लिखित कुनै व्यवस्था प्रचलित कानूनसँग बाझिएमा बाझिएको हदसम्म यस निर्देशिकाको व्यवस्था अमान्य हुनेछ।

 

प्रतिकृया दिनुहोस्