काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले तत्काल सरकारको निर्णय बिना कसैले शिक्षण संस्था खोल्न नपाउने साथै, शैक्षिक संस्था खोल्नेबारे मन्त्रालयले अहिल्यै केही नसोचेको स्पष्ट पारेका छन् ।

अहिले मन्त्रालयको मुख्य जोड वैकल्पिक माध्यमबाट शिक्षणसिकाइलाई कसरी निरन्तरता दिन सकिन्छ भन्नेमा नै रहेको उनले बताए । सरकारले असार १ गतेदेखि शिक्षण संस्था खोल्ने नभइ सिकाइलाई निरन्तरता दिन कार्यक्रम ल्याएको उनले स्पष्ट पारे । मूलपद्धतिको पुरकका लागि यस कार्यक्रमलाई अगाडि बढाइएको उनले बताए । भविष्यमा यसलाई मूल पद्धतिकै अभिन्न अङ्गबनाइने पनि उनले जानकारी दिए ।

नेपाल राष्ट्रिय शिक्षक संगठन बाग्मति प्रदेशले आयोजना गरेको सप्ताहव्यापी प्रविधिमैत्री सिकाइ भर्चुअल अन्तक्र्रिमा बोल्दै शिक्षामन्त्री पोखरेलले संकटको बेला सिर्जनात्मक ढङ्गले सोच्नुपर्ने बताए ।

मन्त्रालयले मुख्यगरी शिक्षणसिकाइको निरन्तरताका लागि चारवटा विधिलाई जोड दिएको उनले जानकारी दिए । पहिलो, पाठ्यक्रम र सिकाइसामग्री विद्यार्थीसम्म पुर्याउने, दोस्रो, एफएम रेडियोबाट शिक्षणसिकाइ गर्ने, तेस्रो, टेलिभिजनबाट पठनपाठन गर्ने र चौंथो अनलाइनमार्फत् शिक्षणसिकाइ गर्ने विधि रहेका उनले जानकारी दिए ।

यि चार विकल्पमा पनि मन्त्रालयले दोस्रो विधि एफएम रेडियोबाट शिक्षण सिकाइ अगाडि बढाउनेलाई विशेष जोड दिएको उनले जानकारी दिए । एफएम रेडियोको पहुँच ७५३ वटै स्थानीय तहमा पुगेको पाइएकोसमेत उनले जानकारी दिए ।

नेपाल टेलिभिजनबाट ९–१० कक्षाको भर्चुअल कक्षा चलाइराखिएको छ भन्दै उनले त्यसको अनुभवलाई पनि हेर्दै मन्त्रालय हाल कक्षा १ देखि ८ सम्मको सिकाइ सामग्री तयार पार्न जुटिरहेको जानकारी दिए । प्रणाली पनि निर्माण गर्दै जाने, सामग्रीहरुपनि संकलन गर्दै जाने काममा मन्त्रालय जुटिरहेको उनले जानकारी दिए ।

शिक्षकले विभिन्न स्थानमा विभिन्न विधिले शिक्षण सामग्री तयार रप्रयोग गरिरहेका भन्दै ति पनि पठाइदिन उनले आग्रह गरे ।

विभिन्न स्थानमा विभिन्न माध्यमको प्रयोगबाट सिकाइ गर्दा विभेदजस्तो देखिएपनि यो राज्यले नभइ परिस्थितिको कारण आएको विभेद भएकाले त्यसै अनुसार बुझ्न उनले सबैसँग आग्रह गरे ।

जहाँ जे सम्भव छ त्यो माध्यमको प्रयोग गरी बालबालिकालाई सिकाउँ भन्ने मन्त्रालयको धारणा रहेको पोखरेलले स्पष्ट पारे । शिक्षकहरु तयार नभएसम्म यो अभियान सम्भव नहुने उनको भनाइ थियो ।

शिक्षकहरुलाई स्थानीयतहसँग मिलेर तालिका बनाइदिन आग्रह गर्दै शिक्षामन्त्री पोखरेलले समयव्यवस्थापन, प्रचारप्रसार र सिकाइलाई अन्तक्र्रियात्मक बनाउन प्रयास गर्नुपर्ने बताए ।

गुणात्मक शिक्षा शिक्षक गुणत्मक ढङ्गले सिकाउन तयार छ कि छैन भन्ने कुराले निधो गर्ने भन्दै अबको समयमा गुणात्मक हुन शिक्षक प्रविधिमैत्री हुनैपर्ने उनले स्पष्ट पारे ।जुनसुकै पद्धतिका पनि सकारात्मक र नकारात्मक प्रभाव हुने भन्दै उनले अनलाइन, एफएमरेडियो र तेलिभिजनबाट सिकाइ अगाडि बढाउदा यसका पनि शक्ति र सीमा हुने बताए ।कोभिड–१९ को महामारी पछि राजनीतिक मान्छेले केही भन्नु भन्दापनि विज्ञहरुबाट धारणा लिएर समाजमा पस्कनुपर्छ भनेर शिक्षा मन्त्रालयले पनि पूर्वमन्त्री गणेश शाहको संयोजकत्वमा एउटा समिति बनाएको पोखरेलले जानकारी दिए ।

जसभित्र ६ वटा थिमेटिक ग्रुप बनाएको र एउटा शिक्षामा विकल्प पनि रहेको उनले स्पष्ट पारे । त्यस्तै खुलाविश्वविद्यालयका उपकुलपतिको नेतृत्वमा शिक्षण सिकाइ सम्बनधमा थिमेटिक ग्रुप रहेको र त्यसले रिपोर्ट दिइसकेको उनले जानकारी दिए । हाल मन्त्रालय सोही रिपोर्ट कार्यान्वयनको प्रक्रियामा रहेकोसमेत मन्त्री पोखरेलले जानकारी दिए ।

‘प्रधानमन्त्रीले राष्ट्रको नाममा गरेको सम्बोधनमा शैक्षिक सत्र व्यवस्थित गर्ने र कक्षा १० को परीक्षाको बारेमा गृहकार्य गर्न शिक्षा मन्त्रालयलाई निर्देशन दिनुभएको छ’–पोखरेलले भने, ‘सोही निर्देशन कार्यान्वयनका सन्दर्भमा हामीले निर्देशिका जारी गर्यौं ।’ संकटको बेलापनि शिक्षालाई सम्बोधन गर्नुपर्ने र कुनै एउटा पद्धतिले सम्पूर्ण शिक्षालाई समेट्न नसकिने भएकाले निर्देशिकामा ४ वटा पद्धति प्रस्ताव गरिएको उनले जानकारी दिए ।

‘पहिलो, पाठ्यपुस्तक र स्वयंले सिक्ने सामग्री बनाएर पठाएको, परीक्षा भएकोमा नतिजा निकाल्ने, नतिजापछि कक्षा चढाउने र कक्षा चढेपछि पाठ्यपुस्तक र शिक्षण सहयोगी सामग्री पुर्याउने बाटोमा अगाडि बढौं भनेका छौं ।’ उनले भने । मन्त्रालयले परम्परागत अर्थमा विद्यार्थी भर्ना गर नभनेको स्पष्ट पार्दै मन्त्री पोखरेलले भर्ना भनेर मन्त्रालयले नतिजा प्रकाशन गर्ने, कक्षा चढाउने, अभिलेखीकरण गर्ने र विद्यालयले घरसम्म पुस्तक पुर्याइदिने कामलाई भनेको स्पष्ट पारे ।

शिक्षकहरुको काँधमा ठूलो जिम्मेवारी आएको भन्दै मन्त्री पोखरेलले कोही शिक्षक बाहिर भए विद्यालयसँग जोडिन लगाउन संगठनसँग आग्रह गरे । घरलाई शिक्षालयको रुपमा बुझ्दै अभिभावकले शिक्षकको भुमिका निर्वाह गर्ने अवस्था आएको मन्त्री पोखरेलले बताए ।

निशुल्क तथा अनिवार्य शिक्षा ऐनको नियमावली मन्त्रिपरिषद्मा गएको जानकारी दिँदै मन्त्री पोखरेलले सबै सहमति आएकाले चाँडै जारी हुने बताए । लगत्तै स्वास्थ्य शिक्षा ऐनको नियमावली मन्त्रिपरिषद्मा लगिने उनले जानकारी दिए । उच्च शिक्षाको भने अर्थबाट सहमति आएर कानून मन्त्रालयमा पुगेको उनले जानकारी दिए । शिक्षा ऐनको मस्यौदा पनि अर्थबाट सहमति आएर कानून मन्त्रालयमा पठाउने तयारी भएको उनले जानकारी दिए । संसद कति चल्ने टुङ्गो नभएको भन्दै मिलेसम्म यसै पटकको संसदमा शिक्षा विधेयक संसदमा लग्ने उनले जानकारी दिए ।

इसिडि शिक्षक र विद्यालय कर्मचारीहरुको सुविधा बढाउने सन्दर्भमा विज्ञप्ति मार्फत् धारणा राखिसकेको र यसबारे प्रधानमन्त्रीलाई पनि ध्यानाकर्षण गराइसकेको उनले जानकारी दिए । शुरुमा प्रवेशगर्दाको अवस्था के थिए । किन यस्तो समस्या आयोग गृहकार्य गर्नुस् भनेर प्रधानमन्त्रीले आफुलाई भनेको पोखरेलले बताए । यसविषयमा अर्थमन्त्री र प्रधानमन्त्रीसँगै बसेर छलफल गर्ने कुरा भएको उनले जानकारी दिए ।

सार्वजनिक शिक्षा कमजोर भएकाले यसको सुधारका लागि विभिन्न कोणबाट विषय उठान भएका भन्दै यसविषयमा सबैले आत्मसमिक्षा गर्न आवश्यक रहेको उनले बताए । संगठनले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रममा यसअघि सीमाविद् बुद्धिनारायण श्रेष्ठले सीमा सम्बन्धमा र डा. लेखनाथ पौडेलले एकीकृत पाठ्यक्रम सम्बन्धमा स्पष्ट पारेका थिए ।

प्रतिकृया दिनुहोस्