डीबी भुजेल

आज विश्व कोरोनाको महामारीले आक्रान्त छ । विश्वमा सामाजिक, आर्थिक, शैक्षिक लगायतका सम्पूर्ण क्षेत्रहरू अस्तव्यस्तप्रायः रहेका छन् । सोच्दै नसोचेको यो अकल्पनीय महामारीले विश्व परिवेशलाई तहसनहस त बनाएको छ नैउद्योगधन्दा, कलकारखाना, विद्यालय, सानाठूला व्यापार व्यवसाय आदि सबै नै ठप्प भएको अवस्था छ ।

मानिसमानिस बीचको भौतिक र सामाजिक दूरी कायम भएको छ । कुनै समय एउटालाई दुःख पर्दा अर्काका सहयोगी हातहरू अगाडि बढ्दथे, जसमा प्रत्यक्ष भौतिक मानवताको आभाष प्रतीत हुन्थ्यो भने आज मानिसले मानिस देख्दा डराउनुपर्ने अवस्था सिर्जना भएको छ । यो आजको युगकै एउटा सबैभन्दा सङ्कटपूर्ण परिस्थिति हो, जसले विश्वलाई नै त्राहिमाम बनाएको छ ।

कोरोना सङ्कटबाट अस्तव्यस्त बनेको एउटा ज्वलन्त पाटो हो शैक्षिक क्षेत्र । यसले विद्यालयमा अध्ययनरत लाखौँ बालबालिकामा मनोवैज्ञानिक त्रास उत्पन्न गराएको अवस्था छ तथा विद्यालयीय शिक्षा आर्जन गरिरहेका बालबालिकाको दैनिकी नै उलटपुलट गराइदिएको छ यो महामारीले । समयमै सरकारको निर्देशनका कारण कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा सम्पन्न भई स्थानीय निकायहरूको निर्देशन तथा समन्वयमा सम्बन्धित विद्यालयहरूले आआपनो तालिकाअनुसार नतिजासमेत प्रकाशन गरी विभिन्न सामाजिक सञ्जाल तथा अन्य माध्यमहरूबाट सार्वजनिक गरिएका कुरा समाचारमा आइरहेका छन् । यद्यपि एसइई तथा कक्षा ११ र १२ लगायत विश्वविद्यालयहरूले लिने विभिन्न सङ्काय तथा तहका परीक्षाहरू भने अनिश्चित बनेका छन् । त्यसमा पनि नेपालमा अलि विशेष रुपमा हेरिने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सामेल हुने करिब ५ लाख विद्यार्थीहरूमा यसले छुट्टै मनोवैज्ञानिक असर पु¥याएको छ ।

परीक्षा शुरू हुने अघिल्लो दिन सरकारले गरेको बन्दाबन्दीले कतिपय परीक्षार्थीहरू टाढाटाढाबाट आफ्नो परीक्षाकेन्द्रमा पुगी परीक्षाको तयारी गर्दैगर्दा अचानक आएको यो अवस्थाले उनीहरूमा झन् ठूलो असर परेको थियो । त्यस्तै परीक्षा तालिका सार्वजनिक भएका अन्य परीक्षाहरूसमेत अनिश्चित बनिदिँदा शिक्षा आर्जन गर्ने सबैमा विभिन्न असरहरू पर्नु स्वभाविकै देखिन्छ । यसको अन्त्य कहिले हुने हो र शिक्षा क्षेत्रले पूर्ववत् आउने अवस्था कहिले सिर्जना हुने हो, यो पनि अनिश्चित बनिदिँदा सम्पूर्ण विद्यार्थी, शिक्षक, अभिभावक लगायत यससँग सरोकार राख्ने सबैमा चिन्ता थपिएको छ ।देशको सर्वाङ्गीण विकासमा टेवा पु¥याउने शैक्षिक क्षेत्र यसरी नै अस्तव्यस्त बनिदिने हो भने आगामी दिनहरू झन् जटिल अवस्थामा गुज्रन बाध्य हुनुपर्ने स्थिति नआउला भन्न सकिन्न ।

आजको युग प्रविधिको युग भएको हुनाले विभिन्न प्रविधिको प्रयोग गरी अस्तव्यस्त बनेको शिक्षा क्षेत्रलाई केहि हदसम्म उकास्ने तथा मजबुत बनाउने प्रयास गरिएको पनि पाइन्छ । यद्यपि जति पनि विद्यालयमा अध्ययनरत बालबालिकाहरू छन्, ती सबैमा प्रविधिको पहूँच पुगेको अवस्था छैन । गरिबीको रेखामुनि रहेर साँझबिहान हातमुख जोर्नसमेत समस्यामा रहेका बालबालिकाहरू हाम्रा विद्यालयमा अध्ययनरत छन् । त्यस्ता बालबालिकाहरूलाई कम्प्युटर, ल्यापटप तथा प्रविधि चलाउन उपयुक्त हुने मोबाइल फोनहरूको पहुँचभित्र राख्न सक्नु झन चुनौतिपूर्ण छ ।

त्यस्तै गाउँगाउँमा रहेका दूर दराजका ठाउँमा इन्टरनेट सुविधा समेत पुगेको छैन । पुगेको सीमित ठाउँमा पनि नेटवर्कको समस्या बारम्बार देखिरहन्छ । यस्तोमा प्रविधिमा आधारित रहेर दिइने अनलाइन कक्षाहरू पनि त्यति प्रभावकारी र उपलब्धिमूलक नहुन सक्छन् । यति भन्दैमा प्रविधिको पहूँचभित्र रहेकोलाई त यस्ता अनलाइन कक्षाहरूबाट बञ्चित गर्न मिलेन नि भन्ने प्रसङ्ग पनि आउन सक्ला तथा यो सम्भव पनि होला तर सीमित व्यक्तिहरूलाई मात्रै यसरी अध्यापन गराउँदा झन् समग्र शैक्षिक क्षेत्रमा प्रतिकूल असर पो पर्ने हो कि ?

हामीले गम्भीरताका साथ सोच्नु पर्ने यो छ कि, हिजो तिनै विद्यार्थीहरूलाई कक्षाकोठामा राखी विद्यालय प्रशासन तथा शिक्षकको प्रत्यक्ष निगरानीमा अध्यापन गराउँदा त त्यहाँ थुप्रै किसिमका चुनौतिहरू देखिन्थे भने यसरी अनलाइन, दूर शिक्षा लगायतका अन्य प्रविधिमा आधारित रहेर दिइने शिक्षामा झन् समस्या तथा चुनौतिहरू नदेखिने भने होइनन् । यसबारेमा बेलैमा सोच पु¥याउनु अत्यन्त आवश्यक देखिन्छ । कहाँ, केकस्ता समस्या र चुनौतिहरू रहेका हुन्छन् तिनीहरूलाई उचित तबरले पहिचान गरी निराकरण गर्दै आवश्यक रूपमा विद्यालय सञ्चालनका लागि पहल गर्नु पनि नितान्त जरूरी देखिन्छ । आजको यो सङ्कटको घडीमा सबै क्षेत्र, वर्ग, समुदाय, राजनीतिक दल, समाजसेवी, बुद्धिजीवी लगायत विभिन्न तह र तप्काका व्यक्तिहरू एकजुट भएर एकआपसमा समन्वय गरी अगाडि बढ्नु पर्ने र यो महामारीका विरुद्धमा लाग्नु पर्ने देखिन्छ ।

आज माध्यमिक तहसम्मको शिक्षाको सम्पूर्ण जिम्मा स्थानीय तहलाई दिइएको छ । यसले पनि यस्तो महामारीको अवस्थामा शिक्षा क्षेत्रलाई व्यवस्थित गर्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने तथ्यलाई प्रष्ट पारेको छ । तर यसका लागि स्थानीय तहमा दूरदर्शी एवम् कर्तव्यनिष्ठ नेतृत्वको आवश्यकता भने झनै महत्वपूर्ण हुन जाने देखिन्छ । आफ्नो क्षेत्रमा सञ्चालित विद्यालय तथा सो विद्यालयमा अध्ययनरत बालबालिका लगायत शैक्षिक क्षेत्रसँग सरोकार राख्ने सम्पूर्ण पक्षको बारेमा अद्यावधिक हुन स्थानीय तह सक्षम हुनु पर्दछ र छ पनि । यसले गर्दा नेपालभर सञ्चालित सम्पूर्ण विद्यालयहरूमा संघीय सरकारको दृष्टि जति पर्न जान्छ त्यो भन्दा बढी प्रभावकारीपूर्ण तबरले रेखदेख, अनुगमन तथा विश्लेषण गर्न सक्ने क्षमता सम्बन्धित स्थानीय तहमा हुन्छ । यो एउटा थप र महत्वपूर्ण पाटो रहेको हुनाले स्थानीय तहको क्रियाशीलतामा अहिलेको यो अस्तव्यस्त अवस्थाको शैक्षिक क्षेत्रलाई केही सहज बनाउन महत्वपूर्ण टेवा पुग्न सक्ने हुन्छ ।

स्थानीय तह आफ्नो क्षेत्रभित्र रहेका विद्यालय तथा विद्यार्थी र अभिभावक सबैसँग प्रायः साक्षात्कार रहेको हुन्छ । यसले गर्दा त्यहाँको आर्थिक, सामाजिक, भौगोलिक अवस्था आदि लगायतका यावत् पक्षको बारेमा जानकारी स्थानीय तहलाई हुन्छ । तसर्थ आफ्नो क्षेत्रभित्र रहेका सम्पूर्ण बालबालिकाहरूप्रविधिको पहूँचभित्र रहे नरहेको बारेमा जान्न पनि स्थानीय तहलाई बढी सहज हुने देखिन्छ । प्रविधिको प्रयोग गरेर अध्ययन अध्यापनलाई निरन्तरता दिन सकिने वा नसकिने तथ्यको बारेमा जानकारी मात्रै नभएर केकसरी अध्यापन कार्यलाई बालबालिकामाझ पु¥याउन सकिन्छ, सोको बारेमा जानकारी समेत स्थानीय तहलाई हुन्छ । तसर्थ स्थानीय तहको अध्ययन अनुगमन, निर्देशन, सहजीकरण तथा सक्रियता र क्रियाशीलताका आधारमा आजको यस्तो विषम परिस्थितिको शैक्षिक क्षेत्रलाई केहि हदसम्म मात्रै भए पनि पुनः पुरानै अवस्था (बन्दाबन्दी भन्दा अगाडि) मा ल्याउन सकिन्छ कि ?

आफ्नो क्षेत्रभित्र कति विद्यालय छन् ?विद्यार्थी सङ्ख्या कति छ ? कुन तहसम्म अध्यापन गराउने विद्यालयहरू छन् ? आदिको बारेमा जानकारी स्थानीय तहले अद्यावधिक गर्नु पर्दछ । सँगसँगै प्रत्येक विद्यालयको भौतिक संरचना र शैक्षिक क्षेत्रका लागि प्रयोग हुन सक्ने प्रविधिजन्य सामग्रीहरूको उपलब्धता एवम् सहजताका बारेमा समेत अद्यावधिक हुन जरूरी हुन्छ । अनि बैकल्पिक सिकाइ प्रणालीका बारेमा बिचार विमर्श गरी कार्यान्वयनमा ल्याउनका लागि पहल गर्नुपर्ने हुन्छ । लाग्छ, विद्यार्थीको पहूँचलाई हेर्ने हो भने विद्यार्थीलाई विद्यालयमा उपस्थित नगराई विभिन्न वैकल्पिक उपाय अवलम्बन गर्नका लागि अहिलेको अवस्थामा त्यति सहज देखिदैन ।

एक त गरीबी अनि अर्को भौगोलिक विकटताका कारणले दूर दराजमा रहेका विद्यालयमा आवश्यक प्रविधिजन्य शैक्षिक उपकरणहरू शून्यप्रायः छन् भने इन्टरनेटको सुविधा पनि एकादेशको कथाजस्तै छ । यसरी नै त्यस्ता अधिकांश विद्यालयहरूमा विश्वमा यस्तो किसिमको महामारी आउला र सिकाइका वैकिल्पिक उपायहरू अपनाउनको लागि आवश्यक उपकरणहरू जोहो गरेर राख्नु पर्छ भनी त्यस्ता साधनस्रोतहरू बेलैमा जोहो गरेर राखिएको अवस्था पनि थिएन । अर्कोतर्फ सरकारले विद्यालयलाई प्रशस्त आर्थिक सहयोग गरी यस्ता सामग्री किन्न आग्रह गरे पनि अहिले तत्काल सहजै रूपमा खरिद गरी ल्याउन सक्ने अवस्था पनि छैन । त्यसैले सिकाइका वैकल्पिक उपायहरू अपनाउन सबै क्षेत्रका सबै विद्यालयहरूमा कतै सहज होला तर कतै भने चुनौतिपूर्ण नै देखिन्छ ।

यस्तो अवस्थामा सङ्घीय सरकार र स्थानीय सरकारको आवश्यकीय समन्वयका आधारमा निश्चित मापदण्ड तयार पारी जतिसक्दो चाँडो विद्यालय सञ्चालन गर्ने तर्फ अग्रसर हुनु जरूरी छ । प्रत्येक विद्यालयमा विद्यार्थी सङ्ख्या तथा सञ्चालित तह हेरेर कसरी कक्षा सञ्चालन गर्न सकिन्छ सोका बारेमा व्यापक छलफल चलाउनु पर्ने हुन्छ । माध्यमिक तहसम्म सञ्चालित विद्यालय भए कक्षा ९ देखि कक्षा १२ सम्म बिहानी सत्रमा तथा आधारभूत तहलाई दिवा सत्रमा दिनको करिब दुई/तीन घन्टा अवधिभित्र बालबालिकालाई सिकाइमा प्रत्यक्ष सहभागी गराउन सकिन्छ । त्यस्तै आधारभूत तह मात्रै भए कक्षा ६ देखि कक्षा ८ सम्म बिहानी सत्र तथा कक्षा १ देखि ५ सम्मलाई दिवा सत्रमा सिकाइमा उपस्थित गराउन सकिन्छ । अझ कक्षा १ देखि कक्षा ५ सम्म अध्ययनरत बालबालिकाका लागि त उनीहरूकै अभिभावकसँग समन्वय गरी आधारभूत व्यवहारिक ज्ञान सिकाउनका लागि आवश्यक वातावरण तयार गर्न पनि सकिन्छ ।त्यसै गरी विद्यार्थीको चाप अत्याधिक भएका विद्यालयमा एक दिनमा एउटा कक्षा वा सेक्सनमा बढिमा १५ देखि २० जना विद्यार्थीलाई उपस्थित गराउने गरी व्यवस्था समेत गर्न सकिन्छ ।

विद्यालयको भौतिक संरचना, शिक्षक कर्मचारीको उपलब्धता आदिको आधारमा विद्यार्थी उपस्थित गराई भौतिक दूरी कायम गरेर अध्ययन अध्यापनमा शिक्षक विद्यार्थीको प्रत्यक्ष सहभागिता भएको खण्डमा यो कोरोना महामारीका बीचमा पनि शैक्षिक क्षेत्र सुधारमा केही टेवा पुग्ने थियो । यद्यपि विद्यालयमा विद्यार्थीको उपस्थितिलाई यो महामारीका बीचमा झन् चुनौतिपूर्ण देखिन्छ तथा असहज देखिन्छ । तर विद्यार्थीको शारीरिक तथा विद्यालयको कक्षाकोठा लगायत समग्र परिवेशको सरसफाइमा उचित ध्यान दिने र दूरी कायमलाई विशेष कडाइका साथ लागू गर्ने हो भने सायद् यो सम्भव पनि हुन सक्छ ।

कोरोना सङ्क्रमणको दर शुरूमा जुन अवस्थामा थियो अहिले यो अस्वभाविक रूपमा बढेको छ । विशेषतः नेपाल भारत खुला सिमानाका कारण विभिन्न रोजगारीको सिलसिलामा भारतमा रहेका नेपालीको आगमनले सङ्क्रमण दर बढिरहेको तथ्यलाई सरकारी आँकडाले बताइरहेको छ । यस्तो अवस्थामा आगामी दिनमा झन् भयावह अवस्था नआउला भन्न सकिन्न । त्यसमाथि अझ तेस्रो मुलुकमा रोजगारीका सिलसिलामा गएका सम्पूर्ण नेपालीहरू एकसाथ आउने हो भने त झन् कोरोना सँगसँगै अर्को थप जटिल अवस्था सिर्जना हुन सक्तछ ।

यसप्रति पनि बेलैमा सजग र सचेत हुनु जरूरी छ । यस्तो विषम परिस्थितिका बीचमाविद्यालयको पठनपाठन सञ्चालन गर्नु ठूलै चुनौतिको विषय हुन जाने देखिन्छ ।यतिबेला शिक्षासँग सरोकार राख्ने आम नागरिकहरू, बुद्धिजीवीहरू तथा शिक्षाविद्हरूले सामाजिक सञ्जालका माध्यमबाट विद्यालयमा पठनपाठन सुचारूका विभिन्न उपायहरूको बारेमा जानकारी गराइरहेको पनि पाइन्छ । कसैले अनलाइन तथा भर्चुअल कक्षाका अवधारणाको बारेमा सुझाएको पाइन्छ भने कसैले विभिन्न रेडियो तथा एफ्एम्को माध्यमद्वारा दूर शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिइएको पाइन्छ । त्यस्तै सकेको खण्डमा विद्यार्थीको घरघरमा गएर सिकाउने तथा Home Assignment को व्यवस्था गरेर विद्यार्थीलाई पढाइप्रति निरन्तरता दिइरहन पनि सुझाव दिइएको पाइन्छ ।

यस्ता जेजस्ता विधि प्रक्रियाहरू अवलम्बन गरेतापनि आजसम्मको नेपालको अवस्था हेर्दा विद्यार्थीलाई सिक्ने सिकाउने अवसर प्रदान गर्ने प्रमुख स्थान विद्यालय नै भएको प्रतीत हुन्छ । आगामी दिनमा सम्पन्न र विकसित राष्ट्रले अवलम्बन गरेका शैक्षिक गतिविधिहरू हामीले पनि लागू गर्न सकौंला तर आजका दिनमा त्यो अवस्था छैन किनकि हामी त्यस्ता शिक्षाप्रणालीमा आजका दिनसम्म पूर्ण अभ्यस्त भइसकेका छैनौं । वास्तविकता यो हो कि हाम्रो शिक्षा प्रणाली कोरोना महामारी भन्दा अगाडि होस् वा कोरोना महामारीका बीचमा होस्, ती सम्पन्न र विकसित देशको शिक्षा प्रणालीसँग तुलना गर्ने अवस्थामा थिएन र यो बीचमा हुन सक्ने अवस्था पनि अत्यन्तै न्यूनप्रायः छ ।

अतः सकेम्म सुरक्षित भएर विद्यालयीय पठनपाठनलाई नियमित रूपमा सुचारू गर्नका लागि सबै तह र तप्काका व्यक्तिहरूमा जिम्मेवारीको बोध हुनु जरूरी छ । यसमा सरकार, नागरिक समाज, समुदाय, शिक्षक, विद्यार्थी, अभिभावक, विद्यालय प्रशासन, शिक्षाविद्, बुद्धिजीवी लगायत सम्पूर्ण सरोकारवाला पक्षहरू बढी जिम्मेवार देखिनु आवश्यक हुन्छ । यस्तो महासङ्कटको घडीमा एकअर्कोप्रति दोषारोपण गर्ने, एक अर्कोलाई आलोचना गर्ने तथा नकारात्मक टीकाटिप्पणी गर्ने भन्दा पनि सबै एकजुट भएर लागि पर्नुपर्ने हुन्छ । यस्ता महामारी एवम् प्राकृतिक विपद्हरूलाई राजनीतिकरण नगरी जिम्मेवार निकायले चालेका सकारात्मक कदमहरूलाई आत्सात गर्ने तथा सुधार गर्नुपर्ने कुराहरूलाई रचनात्मक सुझावसहित सम्बन्धित निकायमा पु¥याउने जिम्मा प्रत्येक सचेत नागरिकमा हुनु आवश्यक देखिन्छ । तसर्थ यस्ता राष्ट्रिय सङ्कटहरूमा पार्टीकरण भन्दा पनि एकताको भावना भइदिएमा अवस्य पनि समाधानका नयाँ तथ्यहरू पत्ता लगाउन बल पुग्दछ ।

प्रतिकृया दिनुहोस्