सिक्दै/सिकाउँदै बित्दै छः बन्दाबन्दी

सिकाइ खबर

Byसिकाइ खबर

१ असार २०७७, सोमबार

त चैत ११ गतेदेखि राज्यको कानुनी ऐलानलाई शिरोधार्य गर्दै घरमै बन्दाबन्दीमा छु । औपचारिक रूपमा म सिक्ने सिकाउने काममा जोडिएको मानिस । देशैभरिका स्कुल र कलेज बन्द भएकाले अहिले प्रत्यक्षरूपमा कक्षामा उपस्थित भएर सिक्ने सिकाउने वातावरण छैन । त्यसैले घरमा बस्नु परेको हो । अहिलेको घर बसाइ पनि एक प्रकारको विदा नै हो ।

‘पहिले जीवन अनि त्यसपछि मात्र सिकाइ’ भन्ने कुरा अहिले प्रमुख भएको छ । त्यसो त सबै तह र कक्षाका विद्यार्थीहरू अहिले घरमै बन्दाबन्दीमा छन् । सहरमुखी केही स्कुलहरूले केही विषयहरू जुम र गुगल मिटमा रहेर आफ्ना विद्यार्थीहरूलाई सिकाउने काम गरेका छन् । दूरदराजका स्कुल र क्याम्पसहरू भने बन्दप्रायः छन् ।

बन्दाबन्दीमा नपरेका भए अहिले एसइईको कापी परीक्षण हुँदै हुन्थ्यो । कक्षा ११-१२ को पनि परीक्षा लगभग सकिनसकिन लाग्थ्यो । हामी आफ्नो काममा लागिरहेकै हुन्थ्यौं । यतिखेर स्कुल र क्याम्पसको पढाइले रफ्तार पक्रिसकेको हुन्थ्यो तर त्यसो भएन ।यी सबै काम कुरा नियमित रूपले हुन दिनका लागि समयले चाहेन । समय सधैँ हामी अनुकूल भएर हिँड्दैन, हिँड्दो रहेनछ भन्ने एहसास यसपाली राम्रोसँग भयो । समय कस्तो निष्ठुर हुन्छ भन्ने कुरा यसपाली देखियो । चाल पाइयो । भोगियो ।

शुरूशुरूमा बन्दाबन्दीको सूचनाले पनि मन आत्तियो । कसरी काट्ने होला समय भन्दै केही दिन र पहिलो हप्ता अनि दोस्रो हप्ता बिते । जागिर र अन्य कामहरूले गर्दा हेर्न नपाएका केही नेपाली, हिन्दी र अङ्ग्रेजी फिल्महरू हेरेँ । हिन्दीका फिल्महरू हेर्न चाहिँ ‘दसकका महान् चलचित्र’ भन्ने मूल्याङ्कनले पनि सघायो । कतिपय अवस्थामा आफूलाई मन पर्ने कलाकार र विषयका फिलिम छानियो । अङ्ग्रेजी फिल्मचाहिँ नाम कहलिएका र ओश्कार पुरस्कार पाएकालाई पहिलो प्राथमिकतामा राखियो । हलिउडबाट निर्माण भएका विश्वविख्यात मुभीहरू जुरासिक पार्क, टर्मिनेटर, टाइटानिक, कोरोना भाइरस र २०१२ जस्ता फिलिमहरू दोहोर्याएर तेहेर्याएर पनि हेरियो । कतिपय सिनेमाहरू युट्युबमा नपाइँदा रहेछन् । मीन भाम निर्देशित चर्चित नेपाली सिनेमा ‘कालोपोथी’ भेटिएन ।

राजधानीमा हलरूपमा लागेका बेला आफूलाई फुर्सद मिलेन । अहिले फुर्सद हुँदा सिनेमा सुलभ भएन तैपनि हेर्न मिल्ने केही नेपाली कलात्मक फिलिमहरू हेरियो जसमा वाशुदेव, चिनो, लाहुरे, सपना, युगदेखि युगसम्म, राँको, लुट, साँघुरो, पशुपतिप्रसाद आदि फिलिम प्राथमिकतामा परे । केही अरू पनि हेरियो ती सबैको नाम सम्झेर साध्य पनि छैन । हिन्दी सिनेमामा चाहिँ प्रायः पात्ररूपलाई मुख्य आधार बनाएर हेरियो नाना पाटेकर, नसिरुद्धिन शाह, इमरान खान, नवाजुद्धिन सिद्दिकी, मनोज बाजपेयी, कादर खान, रजनीकान्त, अमोल पालेकर, अमरिस पुरी, ओम पुरी र अजय देवगनका सिनेमाहरूछोडिएन । कहिलेकाही दोहोर्याएर हेर्नु पर्दा आमीर खान र स्मिता पाटिललाई लिइयो । एवम् रितले चैत महिनालाई धकेल्ने काम भयो ।

पेशल आचार्य

जब बैशाखको पहिलो हप्तामा एकजना डाक्टर साहेबको अनाख्यान किताब ‘गरिबका डाक्टर’को सम्पादन गरिदिएँ । दुईदुई पटक सम्पादन गरेर भूमिका समेत लेखिदिएपछि किताब आवरणका लागि गयो । पहिलो भूमिका यही पङ्क्तिकारको र दोस्रो भूमिका राजनीतिज्ञ प्रदीप गिरीको लेखाउने मक्सदकिताब लेखक डाक्टरको रहेछ । इमेलमै आयो किताबको काम र इमेलमै गयो । सो किताबको सम्पादन कार्य सकिएपछि कैदमा रहेका कवि विष्णु थापाको ‘घुम्टो भित्रको आँसु’ शीर्षकको कविताको सम्पादन र भूमिका समेत लेखिदिएँ । सो किताबमा मेरा एकजना सुनसरीका प्राध्यापक मित्रले लघु भूमिकालेख्नु भएको छ ।

हिजोआज कम्प्युटर थिच्ने र मेल चलाउन सिकेकालाई काम लिनदिन पनि सजिलो भएको छ । यो मेरा हकमा पनि विगत् करिब डेढ दसकदेखि लागू हुँदै आएको छ । मैले यो प्रविधिको सुविधालाईलेखन/सम्पादनका निम्ति वरदानकै रूपमा लिएको छु । बीचमा केही समय आफ्नै सिर्जनामा रमाएँ । हाइकू, मुक्तक, छोक, कविता, निबन्ध र कथाहरू लेख्ने काम भए । कति अझै पुनर्लेखनमा जाँदै छु । म आजकाल त्यति छिटो लेख्न सक्तिनँ जति आजभन्दा १५ वर्ष अघि सक्थेँ । लेखिसकेपछि पाठक बनेर पढ्न र सम्पादन गर्न औधी मन लाग्छ । त्यसैले अहिले धेरै पत्रिका र साथीभाइहरूका मन राखिदिन मलाई हम्मेहम्मे पर्छ ।

बन्दाबन्दीकै समयमा क्याम्पसले अनलाइन कक्षा पढाउने सूचना गर्यो । गाउँघरतिर फोन राम्रोसँग नलाग्ने । लागिहाले पनि किरकिर गरी खराब आवाज आउने । अनि कुनै बेला फोनै गर्न रूख चढ्नु पर्ने अवस्थाको नेपालमा गाउँमा अनलाइन कक्षाको डङ्का पिट्नु भनेको ‘पूर्वाधार विनाको हौवा’ जस्तो लाग्छ । नेपालीमा उखान छ नि ‘ठाउँ न ठहर बूढीको रहर’ । त्यसो त सरकारले चाह्यो भने संघीय बजेटमै व्यवस्था गरेका आधारमा नेपालका सबै सामुदायिक स्कुल र क्याम्पसहरूमा पूर्वाधार तयार गरेर यस्तै महामारीका बेलामा र सामान्य बेलामा पनि अनलाइन कक्षा गर्न सकिन्छ । नत्र महामारी हुँदा मात्र अनलाइन अनलाइन भन्दै कराएर केही काम छैन । युरोप र अमेरिकाको सिको गरेर अहिले नै केही हुनेवाला छैन । अर्काको देखासिकी गर्नुभन्दा आफूले सिरियसली लिनु पनि पर्यो नि कुनै कुरालाई । सोच बद्लेर व्यवहारलाई परिवर्तन गर्दै गयौं भने असम्भव केही छैन । नेपालमा अब यो पेन्डामिकको अन्त्यपछि अनलाइन कक्षाका प्रारूपहरू क्रमशः देखिँदै जानेछन् ।

भूकम्पका बेला सबै भूकम्पविद् बन्ने, कोरोना कहरमा कोरोनाविद् बन्ने नेपालीहरूको यस्तो बानीलाई देख्दा दिक्क लाग्छ । अर्को कुरा नेपालमा कुनै क्षेत्रको ‘विद्’ भन्ने उपमा नै गलत छ । पाँच दसवर्ष बोर्डिङ् स्कुलको प्रिन्सिपल भएर स्कुल चलाएको एउटा व्यक्ति भोलि केहीगरी सो पेसा नचलेपछि जब अर्को पेसामा जम्प गर्छ र पत्रपत्रिका तथा युट्यूबमा अन्तर्वार्ता दिन्छ अनि सो बेलामा पत्रकारहरूले नै आफ्नो भिडियोलाई लाइक, कमेन्ट र सेयर बढाउनका लागि पत्रकारबाट नै ‘विद्’ शब्दको दुरूपयोग शुरू हुन्छ ।

नेपालबाट काम र मामका लागि विदेशिएका दाजुभाइहरू अब ह्वारह्वार्रती नेपाल आउँदैछन् । धेरैजसो भारतबाट स्थल मार्ग हुँदै आइरहेका छन् । तिनीहरूले नै नेपालमा कोरोना महामारीलाई उच्च विन्दुमा पुर्याउने छन् । शुरूशुरूमा सरकार चुप लागेर बस्यो । चैत महिनामा भारतबाट आउने नेपालीहरूलाई सिमामा कडाइ गरेर देश भित्र्याएको भए अहिलेजस्तो गरी कोरोनाको महामारी बढ्ने थिएन । देशले स्वास्थ्य सामग्री खरिदका सिलसिलामा ‘आगलागी झुपडी डेढ घडी भद्रा’ उखान सार्थक हुने गरी अल्मल गर्यो ।स्वास्थ्य सामग्री खरिदमा फाष्ट ट्रयाकका नाममा ओम्नी ग्रुपको संलग्नताको कुरो एकाएक आएर विवाद निम्तियो । पछि सरकारले सेनालाई औषधि ल्याउनका लागि आदेश दियो । ढिलै भए पनि सेनाले चीनबाट औषधि ल्याउन थाल्यो तर कोरोनाको सक्रमण ग्राफ एकाएक बढ्न थालिहाल्यो ।

हामीजनता सरकारका आदेश मान्दै घरमा लुक्नुको विकल्प थिएन । बस्दाबस्दा कहिलेकाहीँ त बीचमा फ्याट्ट बन्दाबन्दी खुली पो हाल्छ कि जस्तो लाग्न थाल्थ्यो तर त्यो सबै भ्रमको पानी फोकाझैँ बिलाउँथ्यो । बैशाखकै महिनामा एउटा स्थानीय तहका करिब २ दर्जन जति स्थानीय ऐन कानुनलाई भाषा मिलाउने र सम्पादन गर्ने काम गरियो । सो बीचमा विदेशमा रहेका एकजना र स्वदेशमा रहेका चारपाँच जना लेखकहरूलाई स्थानीय अनलाइनका लागि ‘कोरोना विशेष अन्तर्वार्ता’ लिने काममा स्वयम्सेवी भएरै सहयोग गरियो । आफूसँग पनि ‘शब्दाङ्कुर’ साहित्यिक मासिक पत्रिकाले विद्युतीय कुराकानी ग¥यो । जीवनजगत्, साहित्य र वर्तमान नेपाली साहित्यका सो वार्तामा विस्तृत रूपमा प्रश्न सोधिएका थिए । सो साहित्यिक संवार्ता २०७७ जेठ अङ्कमा प्रकाशित भएको छ ।

बैशाख २५ गते उँभौली पर्व र बुद्धजयन्तीका अवसरमा पुराना पत्रकार तथा लेखक अश्विनी कोइरालाजीले ‘साहित्य पोस्ट’ नामक साहित्यिक अनलाइन पत्रिकाको शुभारम्भ गर्नु भयो । सो पत्रिकाका लागि आन्तरिक सहयोग केही दिन गरियो भने सोही बीचमा मन्थलीबाट पत्रकारिता गरिरहेका केही युवा उत्हासी पत्रकारहरूका लागि अनलाइन टेलिभिजन च्यानलको न्वारान गर्ने काम र केही टेलिभिजनका अन्तर्वार्ताका डमी वार्ताहरू समेत बनाएर सहयोग गरियो । फुर्सद्का समयमा बीचबीचमा आफूलाई मन पर्ने र घरमा थन्किरहेका किताबहरू पढ्ने काम भयो । केही यात्रासंस्मरण, केही अनाख्यान र केही आख्यान पढेर मन चङ्गा बनाइयो । त्यसो त किताबको यात्रा अति सौम्य हुन्छ जीवन बुझ्नका लागि । हरेक एउटा राम्रो किताब पढिसक्दा मलाई एकपटक नुहाएजस्तो हलौं भएर मिठो आनन्दानुभूतिको फिलिङ् हुन्छ ।

जेठ दोस्रो हप्ता लागेपछि अनलाइन शिक्षक तालिमका लागि शिक्षा तालिम केन्द्र धुलिखेलको अनुरोधलाई शिरोधार्यगर्दै घरमै टट् तालिम लिइयो । प्रविधिमा आधारित सो तालिम लिएपछि अब हामीले माध्यमिक तहमा अध्यापन गर्ने नेपाली भाषाका शिक्षकहरूलाई ‘मागमा आधारित ५ दिने रिफ्रेसर तालिम’ दिनु पर्ने छ । यसरी अनुभूतिमय कायाकैरन लेख्दासम्म जेठको १३ ले बिदा लिइसकेको छ । घर बस्दाबस्दा दिक्कवाक्क लागिसक्यो, कहिले लकडाउन खुल्ला र आफ्नो कार्यक्षेत्र गएर स्वतन्त्र भईपेसामा रमाउन पाइएला भन्ने कल्पनामा मन उड्न थालेको छ । मन रमाएर के गर्नु कोरानाको ग्राफ दिनानुदिन झन्झन् उकालो लाग्दो छ । एउटा कुरा चाहिँ के भने शुरूशुरूमा कोरोनाको नाम उच्चारण गर्ने बित्तिकै हुने एक प्रकारको भय आजकाल सुन्दासुन्दा होला त्यति डर हुनै छाडेको छ ।अर्थात् कोरोनाको सामा्न्यीकरण भएजस्तो लाग्न थाल्यो । कोरोना जितेर घर फिरेका उदयपुरका पत्रकार भन्छन् –‘यो सामान्य रूघाखोकीजस्तो रोग रहेछ । कोरोनाले भन्दा यसको हल्लाबाट हुने भयले मानिसलाई धेर अत्याउँदो रहेछ ।’त्यसैगरी कोरोना लागेकी पहिलो स्टाफ नर्सको भनाइ पनि आफैँमा दह्रो छ । उनी भन्छिन् –‘कोरोनाको ओखती नै नखाई मैले कोरोना जितेँ ।’ यी दुवै भनाइहरू औशतमा चेतनशील नेपालीका भनाइ हुन् । विश्लेषण गरेका खण्डमा युरोप र अमेरिकामा जस्तो कोरोना फ्लु नेपालमा नभएको हो कि या नेपालीहरूको ‘इम्युनपावर’ ले रोगलाई पचाएको हो कि ? यो अब अनुसन्धानकै विषय बन्यो ।

जागिर खाएपछि यतिका दिन लामो विदा घरमै बसेर कटाएको यो पहिलो अनुभव थियो । पठन, लेखन, सम्पादन, दर्शक र स्रोता बनेर बिताएका यी बन्दाबन्दीकादिनहरूले पहिलोपटक जीवनमूल्य बारे सिकाए । भोक र भोजनका बारेमा गहिरोसँग बुझाए । अझसबैभन्दा बढी बुझाएको चिज त संसारमा रहेका ‘हार्डपावर’ र ‘सफ्टपावर’ मा हार्डपावरको वैश्विक क्षणभङ्गुरता र सफ्टपावरको अविजेय शक्तिलाई कहिल्यै नबिर्सिने गरी बुझाइदियो ।

सायद् यसैलाई भनिन्छ शिक्षा क्षेत्रमा –‘सिक्दै गर्दै–गर्दै सिक्दै ।’

प्रतिकृया दिनुहोस्