मदन नाथ

मैले सोसल वर्करको रुपमा काम गर्दा क्यानेडियन विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकहरुसँगको अनौपचारिक अन्तरक्रिया, छलफल र अनुभवका आधारमा यो संक्षिप्त लेख तयार गरेकोछु । आशा छ यसले नेपालको विद्यालय शिक्षामा नयाँ बहसको थालनी गर्नेछ किनकि सामाजिक न्यायको विषय नेपालको विद्यालय शिक्षामा नयाँ हो ।

सामाजिक (Social Justice) न्याय केहो ?
गाउँघरतिर धेरै मानिसहरुले कुनै निर्णय मन परेन भने गुनासो गर्दै भन्ने गर्छन् ‘न्यायभएन’ । जब मानिसले भेदभाव, अन्याय र अत्याचार महसुस गर्छ अनि उसले यस्तो भनेर आफ्नो चित्त बुझाउछ । यो सामाजिक न्याय नभएको अवस्था हो । समाज र राज्यका प्रणालीले बिना भेदभाव सबै तप्काका मानिसलाई समान अवसर उपलध्ध गराउनु पर्छ ।

सामाजिक न्याय मानवाधिकार र समानताको सिद्धान्तमा आधारित छ । सामान्यतया राज्य वा समाजमा उपलव्ध धन, अवसर र अधिकारको समान वितरण हुनुपर्ने हो । यिनीहरुमा समाजका सबै तप्काका मानिसको समान पहुँच स्थापित गर्नु नै सामाजिक न्याय हो ।

एकपटक सोच्नुस् त तपाईलाई आफ्नो जीवनमा दैनिक रुपमा प्राप्त विशेष अधिकार र अवसरहरु के–के छन् ? तपाई शिक्षा प्राप्त गर्न विद्यालय जानुहुन्छ जसले तपाईंलाई निश्चित ज्ञान र सीप हासिल गर्ने मौका दिन्छ । ज्ञान र सीपका कारण जागिर भेट्छ वा कुनै व्यवसाय गर्न सफल भइन्छ । जब आफुसँग पैसा हुन्छ तब आफ्ना दैनिक आवश्यकताहरु पुरा गर्न सक्षम हुन्छ । सबै मानिसहरुले आफ्नो जीवनमा यस्तै अवसर पाउनुपर्ने हो । तर विडम्वना सबैले आफ्नो जीवनमा यस्ता अधिकार अभ्यास गर्न पाएका हुदैनन् । सामाजिक न्यायको अभावमा हाम्रो समाजमा आम मानिसहरु यस्ता अवसरबाट बन्चित भएका हुन्छन् ।

कक्षाकोठामा सामाजिक न्याय किन आवश्यक ?
सकारात्मक सामाजिक परिवर्तन कहाँबाट शुरु गर्ने ? यो बहसको विषय हुन सक्छ । वास्तविक सामाजिक परिवर्तन विद्यालयको कक्षाकोठाबाट सुरु गर्ने हो कि ? किनकि कक्षाकोठा नै नयाँ विचार र सकारात्मक परिवर्तनको जननी हो भन्दा अतिशयोक्ति नहोला ।

एउटा शिक्षकले कक्षाकोठामा थरीथरीका भूमिका निभाउनुपर्ने हुन्छ । यि विभिन्न भूमिकाहरू मध्ये विद्यार्थीमा समालोचनात्मक (Critical thinking) र एक अर्कासित मिलेर काम गर्ने (Clloaboration) सीपको विकास गर्नु सबैभन्दा महत्वपूर्ण हुन्छ । तर यही भूमिका हो जो सबैभन्दा कम अभ्यास गरिन्छ हाम्रो कक्षाकोठामा । यसका साथै शिक्षकले विद्यार्थीलाई आत्मप्रतिविम्ब (Self-Reflection) गर्न सधैँ उत्प्रेरित गर्नु अर्को मूख्य काम हो । एउटा असल समाजका लागि यी सीपहरु एउटा विद्यार्थीले आफुमा विकास गर्नुपर्ने हुन्छ ।

यहाँ सामाजिक न्यायको विषय शिक्षण गर्ने भन्न खोजिएको होइन । यसका माध्यमबाट विद्यार्थीमा यस्तो सीप र सचेतनाको विकास गर्ने हो जसका कारण उनीहरू आफु, आफ्नो समाज, आफु वरिपरिको वातावरण, सामाजिक संघसंस्था र घटनाहरुलाई समालोचनात्मक ढंगले व्याख्या र विश्लेषण गर्न सकुन् । यसका कारण विद्यार्थीहरु हाम्रो समाजमा विद्यमान सामाजिक असमानता र भेदभावका विभिन्न स्वरुपहरु पहिचान गर्न र समाधानका उपायहरु पहिल्याउन सफल हुन्छन् । सामाजिक न्यायको विषय सामाजिक शिक्षामा मात्रै समावेश गर्नुपर्छ भन्ने होइन् । यो विषयलाई सबै विषयका शिक्षकहरुले अभ्यासमा ल्याउन सके सुनमा सुगन्ध नै हुन्छ।

सामाजिक न्यायका बारेमा कक्षाकोठाको सानो समुदायमा अभ्यास गर्दा एउटा यस्तो समाजको शृजना हुन्छ जहाँ सबै वर्गका मानिसहरुले जातपात, लिङ्ग, धर्म, जन्मस्थान, उमेर, वैवाहिक स्थिति, शारीरिक बनावट, राजनैतिक आस्था, आयस्तर र अपाङ्गताका आधारमा भेदभाव गर्न हुदैन भन्ने चेतनाको विकास गर्छन् । यसका फलस्वरूप विभिन्न तप्काका मानिसहरुले एकअर्काप्रति समान व्यवहार गर्न सक्षम हुनुका साथै समाज वा समुदायमा उपलव्ध स्रोत साधनमा सबैको समान पहुँच हुनुपर्छ भन्ने भावनाको विकास गर्दछन् । अन्ततः यसले गर्दा एउटा छुट्टै समाज र संस्कारको विकास गर्नमा मद्दत पुग्छ । हाम्रा नयाँ मूल्य र मान्यताहरुले आउने सन्ततिलाई प्रेम, करुणा, सद्भाव, खुलापन, सहयोग र मेलमिलाप के हुन् भन्ने कुरा सिकाउछन् । यही हो हाम्रो नयाँ समाज वा समुदायको प्रस्थान विन्दु ।

कक्षाकोठामा सामाजिक न्यायको छलफलले विद्यार्थीहरुको सशक्तिकरण हुने भएकाले समाजमा विद्यमान अन्यायका बिरुद्ध आफ्नो आवाज उठाउन सक्षम हुन्छन् । यस्ता किसिमका भेदभाव, अत्याचार र अन्याय विद्यार्थी आफैले वा आफ्ना वरिपरि भएका अरुहरुले पनि भोगेका हुन सक्छन् ।शिक्षकले यसका लागि विद्यार्थीलाई विभिन्न प्रश्नहरु गर्न सक्ने एउटा सक्षम विद्यार्थीका रुपमा तयार गर्नुपर्ने हुन्छ ।

जस्तैः समाजमा कसले निर्णय गर्छ र कसलाई निर्णयमा सहभागी गरिदैन ? निर्णयबाट कसले अधिकतम फाइदा लिन्छ र कसले गुमाउ छ ? विद्यमान अभ्यास निस्पक्ष छ वा पक्षपात पूर्ण ? परिवर्तन गर्न के गर्नुपर्छ ? समस्या समाधानका लागि कुन–कुन विकल्पहरुका बारेमा हामी कल्पना गर्न सक्छौ ? यति मात्रै प्रश्नका जवाफ विद्यार्थीले दिनसक्ने भएभने हाम्रो समाज वा स्थानीय, प्रदेश र केन्द्रीय प्रणालीमा विद्यमान भेदभाव, विसंगति र अन्यायलाई विद्यार्थीहरुले राम्ररी चिरफार गर्न सक्षम हुनेछन् ।

विद्यालय कक्षाकोठा जहिले पनि आसाका केन्द्र हुन् । यस्तो ठाउँमा शिक्षक र विद्यार्थीले एउटा यस्तो समाजका बारेमा थाहा पाउछन् जहाँ उनीहरु रमाउन चाहन्छन् । कक्षाकोठामै यस्ता सीप सिक्छन् जसले गर्दा यस्तो समाजको सपना आफ्नो वास्तविक जीवनमा साकार पार्न सक्छन् । किनकि भोलिका असल नागरिक संयोगले जन्मिने होइनन् । यसकालागि राज्यले ठूलो लगानी र तयारी गरेर शिक्षाकै माध्यमबाट असल नागरिक उत्पादन गर्नुपर्ने हुन्छ ।

आरम्भमा शिक्षकले कक्षाकोठामा सामाजिक न्याय प्रवर्धन गर्न के गर्ने ?
कक्षाकोठामा सामाजिक न्यायलाई प्रवर्धन गर्ने हो भने एउटा शिक्षकले कक्षाकोठालाई सुरक्षित बनाउनुपर्ने हुन्छ जहाँ विद्यार्थीहरुले आफ्ना पृष्ठभूमि, अनुभव र विश्वासहरुका बारेमा खुलेर कुरागर्न सकुन् । सामाजिक न्यायका बारेमा कक्षाकोठामा छलफल गर्न सर्वप्रथम विद्यार्थी र शिक्षकको एउटा समुदाय शृजना गर्नुपर्छ जहाँ राम्रो र खराबका बारेमा निसकोंच छलफल गर्न सकियोस् । यसकिसिमको वातावरणले के कुराको प्रत्याभूति गर्छ भने शिक्षक र सहपाठी विद्यार्थीहरुले एकअर्काका आवाज, राय र विचारहरुलाई महत्व दिन र आदर गर्न सक्षम हुन्छन् । यसका लागि शिक्षकले आवश्यक र उचित नियम पनि बनाउनुपर्ने हुन्छ जसले विद्यार्थीका छलफल र व्यवहारमा निष्पक्षता कायम गर्न मद्दत गर्छ ।

कक्षाकोठामा वार्तालापहरुलाई उत्पादक बनाउन शिक्षकले विद्यार्थीहरुका असहमतिहरुमा आफ्ना विचार राख्न पाउने र अर्काको विचारलाई आदर गर्ने वातावरण शृजना गर्नुपर्ने हुन्छ । कक्षाकोठामा एउटा विद्यार्थीले अर्काको विचारलाई महत्व नदिन सक्छन् । अर्काको विचार वा रायको ठट्टा गर्न सक्छन् किनकि उनीहरु त्यहीखाले पारिवारिक वा सामाजिक विचारधारा र मूल्य मान्यताबाट निर्देशित हुनसक्ने ठूलो सम्भावना रहेको हुन्छ । यसर्थ शिक्षकले धेरै चनाखो हुनुपर्छ ।

शिक्षक आफैले प्रश्न कसरी सोध्ने र उत्तर कसरी दिने भन्ने बारेमा नमूना कक्षानै दिनुपर्छ । यसले गर्दा विद्यार्थीहरु एकअर्काका प्रश्नको जवाफ आदरका साथ दिन सक्षम हुन्छन् । कस्ता किसिमका नमूना प्रश्न र जवाफले गर्दा वार्तालाप राम्रो भयो र कस्ता प्रश्न र जवाफ दिने तरिकाले वार्तालाप नै अवरुद्द हुन गयो भन्ने संदेश आफ्ना विद्यार्थीहरुलाई दिन शिक्षक सफल हुनुपर्छ ।

विद्यार्थीलाई सह–सिकारुको रुपमा विकास गर्ने नकि प्रतिस्पर्धीका रुपमा
हाम्रो कक्षाकोठामा हामी विद्यार्थीहरुलाई प्रतिस्पर्धीका रुपमा उत्प्रेरित गर्ने काम गर्छौं जुन कुनैपनि अवस्थामा राम्रो होइन । सामाजिक न्यायको शिक्षण गर्दा विद्यार्थीहरुलाई सह–सिकारुको रुपमा विकास गर्नुपर्ने हुन्छ किनकि यस्तै विद्यार्थीहरु भोलि हाम्रो समाजमा असल नागरिकका रुपमा आफ्नो जीवन व्यतित गर्न सफल हुन्छन् । यसले गर्दा व्यक्तिगत वा सामाजिक जीवनमा कुनैपनि असहमति भयो भने विद्यार्थीहरु आपसमा मिलेर छलफलका माध्यमबाट समस्याको समाधान तिर लाग्छन् ।

विद्यालय कक्षाकोठामा हामी विद्यार्थीलाई प्रतिस्पर्धीका रुपमा हेर्न चाहन्छौं जसले गर्दा हाम्रो समाज पनि त्यही भएको छ । प्रतिस्पर्धी कक्षाकोठा र समाजले केवल समस्या मात्रै जन्माउछन् जुन चरित्र अहिले हाम्रो समाजमा छर्लंग देखिन्छ ।

जस्तैः विद्यार्थीहरुले सिकाइ प्रक्रियालाई समेत प्रतिस्पर्धाको रुपमा लिने गर्दछन् जसका कारण केही मात्रै विद्यार्थी कक्षाकोठामा प्रतिस्पर्धा गर्न सक्षम हुन्छन् भने अरु विद्यार्थीहरु यसका कारण पीडित हुन्छन् ।तर कक्षाकोठामा विद्यार्थीहरुलाई सह–सिकारुका रुपमा विकास गर्दा सह–सिकाइ सम्भव हुन्छ जसले गर्दा हाम्रो कक्षाकोठामा सामाजिक न्याय स्थापित हुन जान्छ र यसको प्रभाव अन्ततः हाम्रो वृहत्तर समाजमा पर्न जान्छ । सह–सिकारुको भावनाले मात्रै सह–उत्पादन (Co-production) वा सह–सिर्जना (Co-creation) सम्भव हुन्छ किनकि प्रतिस्पर्थी भावनाले द्वन्द्व, कलह, वैमनश्यता र असमजदारी मात्रै बढाउछ ।

शैक्षिक सामग्रीमा विद्यार्थीका विविध अनुभव र पृष्ठभूमि समावेश गर्ने
विद्यालयमा कक्षाकोठा एउटा सानो समुदाय हो । यो समुदायमा थरीथरीका अनुभव र पृष्ठभूमि हुन्छन् । विविधता यो समुदायको पहिचान हो । यिनै विविधताका आधारमा कक्षाकोठाको समुदायलाई बलियो बनाउन सकिन्छ । यसलाई बलियो बनाउनु भनेको विद्यालय बाहिरको समुदायलाई पनि बलियो बनाउनु हो । किनकि यिनै विद्यार्थीहरुले भोलिका दिनमा असल नागरिकका रुपमा आफ्नो भूमिका निभाउने छन् । यसरी विद्यार्थीका विभिन्न राय, विचार र आवाजले उनीहरुका पुर्वज्ञान वा अनुभवहरुलाई अझै खरो र ठोस बनाउन ठूलो सहयोग गर्नेछन् ।

शिक्षकले शैक्षिक सामग्रीमा विशेष ध्यान दिनुपर्ने हुन्छ किनकि यी सामग्रीहरुले भेदभावपूर्ण र पूर्वाग्रही विषयवस्तु समावेश गरेका हुन सक्छन् । कुनै वर्ग विशेषका सामग्री प्रयोगमा ध्यान दिनुपर्ने हुन्छ । जो वर्ग समाजमा उच्च वर्गको रुपमा हेरिएको छ त्यो सामग्री मात्रै प्रयोग गर्दा यसको संदेश कक्षाकोठाको समुदायमा राम्रो जादैन । त्यसैले कुनै वर्ग विशेषलाई मात्रै समर्थन गर्ने शैक्षिक सामग्री प्रयोग नगरी सबै वर्गका विषयवस्तु समेट्ने सामग्री प्रयोग गर्नुपर्ने हुन्छ ।

जस्तैः विविध संस्कृति र आवाजहरुसँग सम्बन्धित शैक्षिक सामग्रीको छनोट गर्नुपर्छ । यसका साथै शिक्षकले विभिन्न संस्कृति र पृष्ठभूमिका अभिभावक वा व्यक्तिहरुलाई बोलाएर छलफलमा भाग लिन लगाउदा सबैभन्दा बढी फाइदाजनक हुन्छ होला ।

वास्तविक संसारमा सामाजिक न्याय
शिक्षकले सिकाइ वातावरण शृजना गर्न सक्षम भएपछि विद्यार्थीहरुले दैनिक रुपमा सामना गर्नुपर्ने मुद्दाहरुका बारेमा कक्षाकोठामा छलफल गर्न लगाउनुपर्ने हुन्छ । यो छलफलका अन्त्यमा विद्यार्थीहरु आफुले वास्तविक संसारमा भोग्नुपर्ने समस्याहरुलाई चिन्न सक्छन् भने समाज वा समुदायमा विद्यमान सामाजिक भेदभाव, अत्याचार र अन्यायलाई सजिलैसित पहिचान गर्न सक्षम हुनेछन् । किनकि यी मुद्दाहरुले विद्यार्थी र समुदाय दुबै काजीवनलाई प्रभावित गर्छन् ।

छलफलका दौरान विविध दृष्टीकोणहरुलाई सबैले मान्यता दिनुपर्ने हुन्छ। विद्यार्थीहरुलाई यी मुद्दाहरुका सम्बन्धमा समालोचनात्मक छलफल गर्न लगाउनु शिक्षकको उद्देश्य हो । यसबाट हामी हाम्रो समाज अथवा समुदायमा क्रिटिकल थिङ्कर(Critical Thinker) तयार गर्न सफल हुन्छौं । यसका कारण सामाजिक न्यायलाई हाम्रो समाज वा समुदायमा सुनिश्चित गर्न सजिलो हुन्छ ।

जातिवाद र सामाजिक न्याय (नेपालमा अहिलेको जल्दोबल्दो उदाहरण)
नेपाल र दक्षिण एसियामा जातका आधारमा हिंसा भएका धेरै उदाहरण छन् । यस किसिमका सामाजिक मुद्दाहरुका बारेमा जब विद्यार्थीहरु कक्षाकोठामा छलफल गर्दछन् तब उनीहरु आफ्ना जीवनमा आफैले अनुभव गरेका वा आफ्नै वरिपरिका भेदभावका बारेमा स्पष्ट हुने मौका पाउने छन् । यसका फलस्वरूप विद्यार्थीहरु यस्ता मुद्दाहरु विद्यालयको कक्षाकोठामा छलफलमा ल्याउन उत्सुक र सफल हुनेछन् ।

जातिवाद र सामाजिक न्याय जस्तैः अन्य थुप्रै (मानसिक स्वास्थ्य, भ्रष्टाचार, रोजगार, बालविवाह, पितृसत्तात्मक मूल्य र मान्यता, भाषा र क्षेत्रका आधारमा भेदभाव, छाउपडी, ईत्यादि (सामाजिक मुद्दाहरुलाई विद्यालयको कक्षाकोठामा विद्यार्थीहरुले छलफलका लागि ल्याउन सक्षमहुने छन् । यसका साथै यी विद्यार्थीले आफ्नो वरिपरिका वातावरणमा यस्ता मुद्दाहरुले गर्दा शृजित भएका भेदभाव, अन्याय र अत्याचारहरु सजिलैसित चिन्न सक्छन् र समाधानका उपायहरु पहिल्याउन सक्षम हुनेछन् । यसले गर्दा हाम्रो समाज वा समुदायको स्वरुपमा नै परिवर्तन आउनेछ जो एउटा समतामूलक समाजको आधार स्तम्भ हो ।

सामाजिक न्यायसँग सम्बन्धित सिकाइलाई सामुदायिक कार्य र सेवामा कसरी रुपान्तरण गर्ने ?
जब विद्यार्थीहरु सामाजिक भेदभाव र अन्यायलाई पहिचान र छलफल गर्न सफल हुन्छन् अनि शिक्षकले विद्यार्थीहरुलाई आफ्नो समाज वा समुदायमा कसरी सामाजिक न्यायको मुद्दालाई कार्यन्वयन गर्न सक्छन् भन्ने कुरोमा सहयोग गर्नुपर्छ । विद्यार्थीको कक्षाकोठाको सिकाइलाई समुदायमा अभ्यास गर्न शिक्षकले सामुदायिक सेवाका परियोजनाहरुसँग जोड्नुपर्ने हुन्छ ।

अल्पकालीन र दीर्घकालीन सामुदायिक परियोजनाका माध्यमबाट विद्यार्थीहरुले आफुले सिकेका कुरा व्यवहारमा अभ्यास गर्न सक्छन् । जस्तैः विद्यालयमा बुलिंग हुन सक्छ, समुदायमा कुनै बालबालिकाहरु विभिन्न कारणले विद्यालय आउन नसक्ने अवस्थामा हुन सक्छन्, विद्यालयमा छुवाछुतका कारण कुनै विद्यार्थी पीडित हुन सक्छन् र जातभातका कारण विद्यालयमा कुनै वर्गका विद्यार्थीहरुले भेदभाव र अन्यायको सामना गरिरहनु परेको हुन सक्छ ।

एउटा सामाजिक अभियन्ताले अवलम्वन गर्ने रणनीतिहरु विद्यार्थीहरुले प्रयोगमा ल्याएर सामुदयिक अभियानमा सरिक हुन सक्छन् । जस्तैः सोसल मिडिया क्याम्पेन, गुनासो पत्र लेखन, खुल्ला पत्र लेखन, लेटर बुलेटिन, सम्पादकलाई चिट्ठी, न्यूजलेटर प्रकाशन, सार्वजनिक पदाधिकारीहरुलाई चिट्ठीलेखन, पोस्टर प्रदर्शन र अरुलाई सिकाउने काम गर्न सक्छन् ताकि सामाजिक मुद्दाका सम्बन्धमा सचेतना र सकारात्मक परिवर्तनका लागि पहल गर्न सकुन् । शिक्षकले विद्यार्थीहरुलाई उनीहरुले गरेका परियोजना कै बारेमा गृहकार्य वा शिक्षण र सिकाइ सम्बन्धी काम दिने हो भने विद्यार्थीको सिकाइलाई अझै मजबुत बनाउन सकिन्छ ।

अन्तमा, सामाजिक न्यायको विषय नेपालका लागि नयाँ हुन सक्छ त्यसैले यसको कार्यान्वयनका लागि विभिन्न सामुदायिक संस्था, विद्यालय, विश्वविद्यालय र सरकारी निकायहरुले यसको प्रवर्धनमा विशेष ध्यान दिनु आवश्यक छ । शिक्षा शास्त्र संकाय, शिक्षा मन्त्रालयको पाठ्यक्रम विकास केन्द्र र शैक्षिक जनशक्ति विका सकेन्द्रले सामाजिक न्यायको विषयलाई आफ्ना पाठ्यक्रममा समावेश गर्नुपर्छ । शिक्षक यो विषयमा तालिम प्राप्त भए भने आफ्नो कक्षाकोठाको समुदायमा सामाजिक न्यायको विषयलाई परिचित गराउन सक्षम हुनेछन् । यसका फलस्वरूप विद्यार्थीहरुले आफ्ना वास्तविक जीवनका विभिन्न समस्याहरुलाई विभिन्न दृष्टिकोणबाट समालोचनात्मक ढंगले विश्लेषण गर्न सक्छन् । यसबाट विद्यार्थीहरु आफ्नो जीवन र आफ्नो वरिपरिका भेदभाव, अन्याय र अत्याचार पहिचान गर्न सक्छन् । कक्षाकोठामा यस्ता अवसरहरुको शृजना गर्ने जसले गर्दा विद्यार्थीहरुले कसरी सकारात्मक सामाजिक परिवर्तन हुन्छ भन्ने बारेमा थाहा पाउन सकुन् । यस्तो परिवर्तनका लागि विद्यार्थीहरु आफै कर्ता र नेताको भूमिका निभाउन सक्छन् । शिक्षक त एउटा निर्देशक र सहजकर्ता मात्रै हो ।

प्रतिकृया दिनुहोस्