निजी स्कुललाई दश सुझाव !

सिकाइ खबर

Byसिकाइ खबर

९ असार २०७७, मंगलवार


१. एनप्याब्सन र प्याब्सनले एक आपतकालीन कोष स्थापना गर्ने । आफूले सकेको रकम कोषमा जम्मा गर्ने । त्यसबाट समस्याग्रस्त विद्यालयमा सहयोग गर्ने । सबै जिल्ला र नगर कार्यसमितिमार्फत यसको अगुवाई गर्ने ।

२. स्थानीय तहसंग राहतका लागि माग गर्ने । यो काम गर्न ढीलो भैसकेको छ । यद्यपि प्रयास गर्ने हो भने केही सहयोग जुट्न सक्दछ । संघीय सरकारले भन्दा स्थानीय सरकारले राम्रो सहयोग गर्न सक्दछन् ।

३. एक विद्यार्थी एक सीप र एक विद्यालय एक उत्पादन कार्यक्रम लागू गर्ने । स्थानीय स्रोतरसाधन, हावापानी, माटो अनुकुल उत्पादन गरी आर्थिक उपार्जन गर्ने र सो रकम एक कोषमा जम्मा गरी विभिन्न गतिविधिमा लागानी गर्ने । यसले देशलाई आत्मनिर्भर बन्न पनि सहयोग पुग्दछ । यो दिगो समाधान हो ।

४. सबै विद्यालय सामाजिक सुरक्षा कोषमा जानको लागि तयार रहने । उक्त कोषमा योगदान पुर्याए बापत सरकारसंग यस्तै आपतकालीन अवस्थामा सहयोग गर्ने गरी सम्झौता गर्ने । यसले पछि आइपर्नसक्ने यस्तै अवस्थामा सहज हुन्छ ।

५. सबै निजी विद्यालयले अभिभावकलाई बुझाएर भर्ना र एक महिनाको शुल्क मात्र माग्ने । नसक्ने अभिभावकलाई बाध्य नबनाउने तथा मानसिक दबाब नदिने । उक्त रकमले तत्काल शिक्षकलाई तलब खुवाउन पुग्छ । बाँकी शुल्क स्कुल औपचारिक रुपमा खुले पछि मात्र जोडिने गरी सम्बन्धित सबैसंग छलफल गर्ने ।

६. निजी स्कुल मात्र होइन, सबै व्यवसाय संकटमा छन् । शिक्षा क्षेत्रले सबैलाई पाठ सिकाउने हो भने अहिले जसरी सकिन्छ त्यसै गरी शिक्षकको तलब खुवाउने व्यवस्था गरौँ । अहिले नसके पछि दिने गरी शिक्षकसँग कुरा गरौँ । तत्काल अत्यधिक समस्या हुने शिक्षकलाई सबै मिलेर सहयोग गरौँ ।

७. निजी विद्यालय सेवा क्षेत्र मात्र नभएर यो एक व्यवसाय पनि हो । व्यवसायमा कहिले नाफा हुन्छ, कहिले घाटा हुन्छ । भोलि फेरि राम्रा दिन आउछन् । व्यवसायमा हात हालिसके पछि यस्ता परिस्थितिसंग डटेर सामना गर्ने हिम्मत र धैर्यता राख्नु पर्दछ ।

८. आफू टाट पल्टिन लागेको, निजी स्कुल संकटमा परेको जस्ता निराशाजनक अभिव्यक्ति प्रकट नगरौं । सामाजिक संजाल, संचार मिडिया लगायतमा आउने यस्ता अभिव्यक्तिले साना तथा मझौला स्कुलको आत्मविश्वास टुट्न सक्दछ । ठूला भनिएका स्कुलले निराशा होइन, हौसला दिने वातावरण निर्माण गर्नुपर्दछ ।

९. निजी विद्यालयका संगठनका नेताको सबै भन्दा ठूलो परीक्षाको समय हो यो । सार्वजनिक खपतको लागि मात्र नबोलौं । मिडियाबाजी मात्र गर्दा समस्या झन् बिकराल बन्दछ । सरकारलाई दंग्याउने, चिढ्याउने भन्दा पनि समस्यालाई मनन गर्ने गरी बुझाएर, सबै पक्षको साथ् र सहयोग लिएर समाधान खोज्नु राम्रो हुन्छ । आफ्ना कुरालाई सबैले बुझ्ने भाषामा प्रस्तुत गरौँ, तर कसैको मन नदुखोस् ।

१०.। अहिले सबै बाँच्ने उपाय मात्र सोचौं । सबैको सहअस्तित्व सोचौं । बालबालिकालाई सिकाउने, पढाउने धर्मलाई यसै गरी सुचारू गरौँ । निरन्तर लागौं ।

अन्त्यमा, चीलले निश्चित उमेर पार गरे पछि उसको नंग्रा र चुच्च्चो फेरि सिकार गर्न नसक्ने गरी कमजोर हुन्छ । सिकार गर्न नपाएका कारण भोक भोकै मर्नु पर्न्ने स्थिति आउँछ । यो बेला चीलसंग दुई विकल्प रहन्छन् । या त भोक भोकै मर्ने, या त दुख सहेर भए पनि आफ्नो चुच्चो र नंग्रालाई महिनौंसम्म कठोर चट्टानमा रगडेररघोटेरआफैंलाई याताना दिएरररगताम्य भएर फेरि नयाँ नंग्रा र चुच्चोलाई जन्म दिने ।

चीलले दोस्रो विकल्प रोज्छ र फेरि बर्षौं रमाएर बाँच्दछ ! निजी स्कुलले कुन विकल्प रोज्ने, आफ्नो हातमा छ !

-घिमिरेको फेसबुकवालबाट

प्रतिकृया दिनुहोस्