आफ्टर कोरोना : मानिसको छिट्टै काममा फर्कने चाहना

सिकाइ खबर

Byसिकाइ खबर

१२ असार २०७७, शुक्रबार

विश्वमा मानव समुदायले नभोगेको र अनुभव नगरेको अनि नजानेका पाटापक्ष विरलै थिए र होलान पनि ।यहाँ विभिन्न खोज अनुसन्धानकर्ता र प्रतिभाशाली वैज्ञानिकहरू जन्मिए अनि यहीँ धर्तीलाई क्रीडास्थल बनाएर विभिन्न प्रयोग र परीक्षणहरू गरिरहे, शक्तिको तराजुमा एक अर्कालाई तौलिरहे । आफ्नो प्रभुत्व स्थापित गर्नका लागि कुनै कसर पनि बाँकी राखेनन् ।

विज्ञान र प्रविधिको तीव्रतर विकास भयो । मान्छेले चन्द्रधरातलमा पाइला टेक्यो, मङ्गल ग्रहमा बस्ती बसाल्ने महत्वाकांक्षी योजनाहरूको कल्पना ग¥यो ।अनि त्यहाँ जग्गा खरिदबिक्रीका समचारहरू सुनिए ।शक्तिको होडबाजीमा विभिन्न अन्तरमहादेशीय क्षेप्याश्त्रहरूदेखि लिएर शक्तिशाली न्युक्लियर शस्त्रादिहरूको निर्माण र परीक्षणहरू भइरहेका छन् । जसले कुनै एक शासकमा सनक चढिदियो भने कुनै पनि समयमा विश्व ध्वस्त हुन केहि क्षण नै लाग्दैन ।

यस्ता प्रकृतिका होडबाजीहरूमा मानव समुदाय अहिले तँछाडमछाड गरिरहेको छ । संसारलाई आफ्नो मुठीभित्र सीमित राख्नको लागि उसले आज केही पनि बाँकी राखेको छैन ।तर आज समय फेरिएको छ । शक्ति र सम्पत्तिले उन्माक्त मानव समुदायमा त्रास फैलिएको छ । बन्दाबन्दीले सबै आआफ्नै घरमा सीमित भएर रहन बाध्य हुनु परेको छ । मानिस मानिसबीचको दूरी कायम भएको छ । विश्व बजार सुस्ताएको छ । सबै उद्योगधन्दा, कलकारखाना, व्यापार व्यवसाय ठप्प छन् । सबैतिर सुनसान छ, त्रसित वातावरण छ । आफ्नै नातागोता, छरछिमेकी, इष्टमित्र बिराना बन्दै गइरहेका छन् ।

हिजोका दिनमा संसारलाई मुठीभर राख्न सक्छु भन्नेहरू आजको यो कोरोना महामारीमा रमिते बन्न बाध्य भएका छन् । सूक्ष्मादिसूक्ष्म यो भाइरसले विश्वमा विशाल रूप लिएको छ ।चन्द्रयात्राका ती सफलताहरूलाई छायाँमा पारिदिएको छ, मङ्गल ग्रहका बस्ती योजनाहरूलाई नराम्ररी थप्पड हानिदिएको छ । मानव शक्तिमाथि धावा बोलिदिएको छ । शस्त्रास्त्रबीचमा आफूलाई महान् र शक्तिशाली ठान्नेहरू निस्तेज हुन बाध्य भएका छन् ।

आजको यस घडीमा विभिन्न समाचारका माध्यमहरूबाट आआफ्नै किसिमका विश्लेषण र अड्कलबाजीका समाचारहरू प्रसारण भइरहेका छन् । यो भाइरस नियन्त्रणका लागि विभिन्न राष्ट्रहरूले आआफ्नै किसिमका नीतिनियम बनाएर कार्यान्वयनमा ल्याइरहेका छन् । यसले कतै सामान्य सफलता पाइरहेका तथ्यहरू सार्वजनिक भएका छन् भने कतै झन्झन् विकराल रूप लिइरहेका तथ्यहरू पनि बाहिर आइरहेका छन् ।विश्वमा हरेक राष्ट्रका राष्ट्रप्रमुखहरूको कार्यशैली तथा कार्यक्षमताको मूल्याङ्कन गर्न भ्याएको छ यो भाइरसले । कतै आसा जगाएको छ भने कतै निरासा मात्रै । यसको खोप अथवा औषधिको चर्चा यदि कतै भयो भने मात्रै पनि सबैको ध्यान त्यतै तानिने अवस्था सिर्जना भएको छ कतै यसको नियन्त्रण भइहाल्छ कि भन्ने आशमा ।

डीबी भुजेल

चीनको बुहान सहरमा पहिलोपटक यसको पुष्टि हुँदा विश्वले यसप्रति जुन नजरले हेरेको थियो त्यो आज आएर नितान्त फरक बनिदिएको छ । यो चीनबाट उत्पत्ति भयो, यसले चीनलाई मात्रै असर गर्छ, यो चीनमा मात्रै सीमित हुन्छ जस्ता आदि इत्यादि अड्कलबाजी गर्दागर्दै नै यो विश्व महामारीका रूपमा व्याप्त हुन पुग्यो । कतिले यसलाई जैविक हतियारको संज्ञा दिए त कतिले प्राकृतिक रूपमा नै उत्पन्न भाइरसको रूपमा लिए । यसै विषयमा आरोप प्रत्यारोपहरू गरिए । शक्तिसम्पन्न राष्ट्रहरूबीच एकआपसमा वाकयुद्ध नै चल्यो । गुटउपगुटहरूसिर्जना भए । तर कसैमा पनि मिलेर सहकार्य गरौँ र आजको शताब्दीमा देखा परेको मानव जातिमाथिको यो महासङ्कटको सामना सबै मिलेर गरौँ अनि यसलाई परास्त गरौँ भन्ने भावना र बिचार ती शक्ति सम्पन्न राष्ट्रहरूबीच भएको पाइएन ।

मानिसको मृत्यु भइरहयो र भइरहेको छ । सङ्क्रमणको दरमा तीव्रता आइरहेको छ । यो महामारीको बीचमा विश्वमा जति पनि मानिसको मृत्यु भएको छ, त्यसमा प्रत्यक्ष परोक्ष कोरोनाकै कारण रहेको तथ्यलाई नकार्न सकिदैन । कतिपय मृत्यु कोरोना भाइरसकै कारण भएको छ भने त्यो भन्दा बाहेकको मृत्यु कोरोना सङ्क्रमण हुने डरले उपचार नपाएर भएको छ । तसर्थ यसमा आम विश्व समुदाय नै सचेत हुनु नितान्त आवश्यक देखिन्छ ।

विज्ञान र प्रविधिको अधिकतम् प्रयोग उपयोग गरी प्रकृतिमाथि साम्राज्य स्थापना गर्दै गइरहेको मानव समुदायलाई आज कोरोनाले ठूलो शिक्षा प्रदान गरेको छ । एक त प्रकृतिमाथि मानिसले धावा बोलेर त्यसमाथि आधिपत्यता कायम गर्न खोजेको अवस्थामा स्वतस्फूर्त रूपमा प्रकृति प्रतिकारमा उत्रने रहेछ भन्ने तथ्यलाई यसले पुष्टि गरेको छ भने अर्कोतर्फ प्राकृतिक स्वतन्त्रतामाथिको मानव हस्तक्षेप अस्वीकार्य हुने रहेछ भन्ने तथ्यलाई यसले प्रमाणित गरिदिएको छ । मानिसले जति नै चुरिफुरी गरेतापनि प्रकृति मालिक नै हो र प्रकृतिको दासता अँगालेर मानिसले हिँड्न जानेन भने अर्थात् बाटो बिरायो भने त्यसलाई सही मार्गतर्फ उन्मुख गराउन सक्ने क्षमता प्रकृतिमा छ भन्नेमा पनि आज पुष्टि भएको छ ।

यसरी प्रकृतिमाथिको मानवीय अतिक्रमणको धज्जी उडाउँदै प्रकृति आज मुस्कुराइरहेको छ । डाँडापाखा, पखेराहरू हरियालीले छपक्कै ढाकेका छन्, हिमालहरू मुस्कुराइरहेका छन्, नदीनालाहरू छङ्छङ् गरी सुसाइरहेका छन् । प्रकृतिमा रमाउने पशुपन्छी, जीवजन्तु तथा चराचुरुङ्गीहरू बेलगाम प्रकृतिमा विचरण गरिरहेका छन् । मानिस आफू घरभित्र सीमित भएको छ अर्थात् मानिसले आफ्ना लागि बनाएका बासस्थानहरू साँघुरिएका छन्, खुम्चिएका छन भने पशुपन्छी तथा जीवजन्तुका लागि प्रकृतिले बनाइदिएको बासस्थानमा व्यापक फैलावट देखा परेको छ ।

मानिसका स्वतन्त्रतामाथि अङ्कुश लागेको छ भने प्रकृतिमा रमाउने जीवजन्तु तथा पशुपन्छीका स्वतन्त्रताहरू बेलगाम बनेका छन् । तर प्रविधिको दुनियाँमा अभ्यस्त भइसकेको आजको मानव समुदायमा समस्या उत्पन्न भएको छ, दैनिकी नै अस्तव्यस्त बनेको छ । यस्ता समस्याले आज आम मानव समुदायमा नकारात्मक असर पर्दै गइरहेको छ ।

कोरोनाले आज धेरै कुरामा परिवर्तन ल्याइदिएको छ । बस्न अयोग्य हुनै लागेका सहरबस्तीहरू योग्य बन्दै गइरहेका छन् । प्राकृतिक सन्तुलन मजबुत बन्दै गइरहेको अवस्था छ । मानिसका दैनिक क्रियाकलापमा व्यापक फेरबदल भइरहेको छ । कर्मचारी, शिक्षक, विद्यार्थी, गृहिणी सबैसबैमा नै केही न केही उतारचढाबहरू देखिएका छन् । हिजोका दिनमा कार्यालयमा काम गर्दागर्दा दिक्दार मान्दै विदाको आशा गरिरहने कर्मचारीमा कार्यालयको वास्तविक महत्व दर्शिएको छ । एक साता विद्यालय बिदा हुँदा पनि खुसीले रमाउने उफ्रने शिक्षक विद्यार्थीमा पनि अब त विद्यालय सुचारू भइदिए हुन्थ्यो भन्ने अपेक्षा जागृत हुन थालेको छ । यतिसम्म कि यो महामारी अघि त्यत्तिकै दिनभर बेरोजगार रहेर आफ्नो दैनिकी चलाउनेहरूमा पनि दिक्दारीको आभाष भएको प्रतीत हुन्छ । यसबाट के स्पष्ट हुन्छ भने हरेक कुरको निश्चित सीमा हुन्छ चाहे त्यो सकारात्मक होस् वा नकारात्मक नै किन नहोस् ।

साथीभाइ, इष्टमित्र, छरछिमेकी बीचमा जुन एउटा अपनत्वको भाव थियो त्यो अपनत्वका बीचमा अचानक यसरी दूरी बढ्ला भनेर कसैले पनि सोचेको थिएन होला । भलै मानवीय कमजोरीका कारणले हाम्रो समाजमा त्यस्ता छिटपुट घटना नघटेका होइनन् तर यसरी समग्र विश्व परिवेशमा नै यसरी सामाजिक दूरी निम्तिएला भन्ने परिकल्पना समेत गरिएको थिएन । आज प्रत्यक्ष रूपमा यो मानव समुदायले यस्तो परिस्थितिलाई झेल्नु परिरहेको छ र यस्तो विषम परिस्थितिको यात्रामा पूर्णविराम कहिले लाग्ने हो त्यो पनि अनिश्चित बनिरहेको छ ।

विकसित, अल्पविकसित, अविकसित प्रायः सबै राष्ट्रहरूमा यो महामारीले एकै र समान तरिकाको सङ्कटपूर्ण अवस्था सिर्जना गरिदिएको छ । विश्वका कुनै पनि राष्ट्रहरू यसबाट अछुतो छैनन् । भलै नेतृत्व पक्ष सबल रहेका राष्ट्रहरूमा महामारीले उग्र रूप लिन नपाएको तथा समयमा नै यसको नियन्त्रणका लागि आवश्यकीय सावधानी अपनाइएका समाचारहरू हेर्दै सुन्दै आइरहेका छौं भने आर्थिक रूपमा सबल र सक्षम हुँदाहुँदै पनि सरकारको नेतृत्व पक्ष फितलो बनिदिँदा त्यहाँ यो महामारीले उग्र रूप लिएको समाचारहरू पनि सुन्दै हेर्दै आइरहेका छौँ । यसबाट के स्पष्ट हुन्छ भने अहिलेसम्म कुनै पनि खोप तथा औषधिको आविष्कार नभएको यो कोरोनाबाट बच्न र बचाउन केबल मानवीय सावधानी अपनाउनुको कुनै विकल्प नरहेको तथा कुशल एवम् सक्षम राष्ट्रिय नेतृत्व र सचेत, सजग तथा उत्तरदायी नागरिक हुनुपर्ने तथ्य स्पष्ट भएको छ ।

कोरोनाले त्राहिमाम पारेका विश्वका तमाम अनुसन्धानकर्ता, वैज्ञानिक तथा आविष्कारकहरू आज यो महामारीको अन्त्यका लागि यसको पछि लागेका छन् । रातदिन नभनी निरन्तर रूपमा विभिन्न खोज अनुसन्धान तथा प्रयोग परीक्षणमा लागिपरिरहेका छन् । विश्वलाई नै आफ्नो पकडमा राख्न खोज्ने र मै हूँ भन्ने वैज्ञानिक तथा अनुसन्धानकर्ताहरूलाई यसले अत्याइरहेको छ । यसको अन्त्यका लागि धनी र सम्पन्न राष्ट्रहरूले पैसाको खोलो बगाइरहेका छन् । तापनि सफलता नजिकिइरहेको छैन ।

तिनै वैज्ञानिकहरू तथा आविष्कारकहरू, जसले न्युक्लिएर शस्त्राश्त्रहरू निर्माण तथा आविष्कार गरे आज यो सोच्न बाध्य भएका होलान् कि विनास र ध्वंश जति सहज र सरल हुन्छ, निर्माण र विकास त्यो भन्दा सयौं गुणा असहज र जटिल हुँदोरहेछ । नत्र अणुअश्त्र निर्माण गर्ने विज्ञानले किन यो सङ्कटलाई पाखा लाउन सकिरहेको छैन ?अणुअश्त्रले निमेषभरमा नै विश्व ध्वंश बन्न सक्तछ भने औषधि तथा खोपहरूले मानव समुदाय सुरक्षित हुन्छ । तसर्थ हाइड्रोजन, एटम तथा न्युक्लिएर शश्त्राश्त्र निर्माण गर्न सक्ने बौद्धिक क्षमता किन आज यो महामारी नियन्त्रणमा सफल देखिन सकेन ?

परिस्थिति जेजस्तो भएतापनि आजको यो महासङ्कटको अवस्थामा विश्वका सम्पूर्ण वैज्ञानिक, अनुसन्धानकर्ता तथा आविष्कारकहरू एकजुट भएर यसको अन्त्यका लागि लाग्नुपर्ने समयमा यसमा पनि आरोपप्रत्यारोपहरू देखिनु दुःखको विषय बनेको छ । यसले यो महामारीलाई चाँडै निर्मूल पार्नुको सट्टा झन थप जटिल बनाउँदै लान नसक्ला भन्न सकिन्न । तसर्थ आज विश्व एक हुने अवस्था छ । मानव अस्तित्वको रक्षाका लागि सबैमा सहकार्यको भावना जागृत हुनु नितान्त आवश्यक देखिन्छ ।

भोलिका दिनमा आर्थिक, राजनैतिक लगायतका प्रतिस्पर्धाहरू गरिएलान्, विश्वको नेतृत्वका लागि विविध गतिविधिहरू होलान् तर आज कोरोनाबाट ग्रसित धेरैको ज्यान जोगाउनु नै प्रमुख कर्तव्य हुन जान्छ । कोरोनाको त्रासबाट विश्व समुदायलाई मुक्त गराउनु नै आजको मुख्य दायित्व हुने देखिन्छ । तसर्थ यसबाट कोही पनि नपन्छियोस्, अनावश्यक बहानाबाजी नगरोस् । सकेसम्म चाँडोभन्दा चाँडो विश्व मानव समुदाय पूर्ववत अवस्थामा आओस् र पुनः तमाम मानव समुदायमा खुसी र उल्लास छाएको देख्न पाइयोस् ।
ड्ड

प्रतिकृया दिनुहोस्