धेरैले भन्ने गर्दछन् – आजको विश्व साहित्यमा धेरै भन्दा धेरै ‘सेक्स’ बिक्छ । त्यसपछि ‘अपराध’ बिक्छ र सबैभन्दा कम ‘आदर्श’ बिक्छ । यो समय आदर्शको स्खलन भएको समय हो । बहस हुन सक्छ – यस तर्कमा । लेखक र पाठकहरू फरकफरक कित्तामा उभिन सक्छन् । माथापच्ची पनि हुन सक्छ । यो आजको लेखकीय बाध्यता हो । तर केही यस्ता लेखकहरू पनि समाजमा विराजमान हुन्छन् जो बिक्छ भन्दैमा सेक्स र अपराधलाई मात्र बढावा दिँदैनन् । तिनीहरू जीवनपर्यन्त आदर्शलाई नै शिरोधार्य गरेर लेखनमा समर्पण भैरहन्छन् ।

विगत चार दसकदेखि यसैगरी लेखनमा समर्पण भैरहने साहित्यिक स्रष्टा हुन् – पेशल आचार्य । यिनी मूलतः कवि, निबन्धकार र कथाकार हुन् । तर यतिखेर चाहिँ यिनी निबन्धकार ‘गेटअप’ मा आएका छन् । यो परिचयमा यिनलाई ल्याएको छ यिनको बहुप्रतिक्षित निबन्धात्मक कृति –‘ब्याक बेन्चर’ले ।

निबन्धलाई विश्व साहित्यकै सबैभन्दा कान्छो विधा मानिन्छ । विश्व साहित्यमा समेत अचेल अनाख्यान विधाका रूपमा बजार तताउन सफल निबन्ध आख्यान (कथा र उपन्यास) पछि सबैभन्दा धेरै विक्री हुने र पढिने विधामा पर्छ । नेपालमा लक्ष्मीप्रसाद देवकोटा, शङ्कर लामिछाने, भैरव अर्याल, डा.तारानाथ शर्मा र प्राडा डिपी भण्डारीका जस्ता रूमानि भाषाशैलीमा खिपेर निबन्ध लेखी यी ‘पाँच महारथी’ को गोहो पछ्याउने गम्भीर युवा निबन्धकारहरू अझै निस्कन सकिरहेका छैनन् ।

निस्केका र केही दम भएकाहरू पनि एकादुई मात्रैछन् । ती जो छन् आफैँमा स्वनामधन्य छन् नै तर कोहीकोही चाहिँ चर्चाको फूलबारीमा रमाएर औ रम्रिएर गजक्क परी बसेका छन् भने कोही पाउनु पर्ने जति समेत चर्चा नपाएर त्यसैत्यसै मुर्झाएका छन् । त्यसैले नेपाली साहित्यमा समेत आधुनिक कालका पाँच महारथीहरू भन्दा पछिल्लो कालमा देखिएका निबन्धकार र तिनका निबन्धहरूले पाठक, शुभेच्छुक, मर्मज्ञ र हिताकांक्षीलाई त्यसैत्यसै लठ्याएर पछि हिँडाउन सकेका छैनन् । यो साहित्यिक कटुसत्य हो ।

नेपाली निबन्ध लेखनमा समेत यो अवस्थाको विस्तारै अन्त्य हुँदै जाँदो छ । विगत् केही दसकयता नेपाली भाषामा राम्रा निबन्ध लेखकहरूको अभ्युदय हुँदै गएको पाइन्छ । तीसको दसकमा कलम चलाएर वर्तमान समयसम्म अनवरत कलम चलाइरहने निबन्धकारमध्ये क्रमशः प्रा.शिवगोपाल रिसाल, कृष्ण धरावासी, महेश प्रसाईं, श्याम गोतामे, बालमुकुन्ददेव पाण्डे, शिव अधिकारी, प्रकाश सायमी, युवराज नयाँघरे, भीष्म उप्रेती, वसन्तप्रकाश उपाध्याय, शेखर ढुङ्गेलर ज्ञानेन्द्र विवशहरूका कलमबाट अत्याधुनिक नेपाली निबन्धको यात्रा उत्तरोत्तर रूपमा अघि बढ्दै गएको ज्ञात हुन्छ ।

सोही आत्मपरक निबन्ध लेखनको सुललित ‘लेन’मा यतिखेर आफ्नो गम्भीर र बहुप्रतिक्षित निबन्धकृति ‘ब्याक बेन्चर’ लिएर प्रौढोन्मुख निबन्धकार पेशल आचार्य पाठकहरूमाझ आएका छन् । यिनले आफ्नो लेखन जीवनको जेजति ऊर्जा यसमा लगाएका छन् त्यस मानेमा उनका लागि यो ‘माष्टर मिस’ रचना नै हो । गूढ गम्भीर रचनाले मात्र लेखनमा दह्रो धमाका दिन्छ । समकालीन लेखनमा उम्दा लेखकहरूको आआफ्नो हस्तक्षेपमय उपस्थितिबाट हामी यही कुरा थाहा पाउन सक्छौं ।

यहाँ किताब समीक्षामा सोही निबन्ध कृतिलाई चर्चाको केन्द्रविन्दुमा राखेर लेखन समग्रता बारेमा उहापोह गरिएको छ ।

‘सबैभन्दा तीक्ष्ण दिमागकक्षाकोठाका अन्तिम बेन्चमा भेटिन सक्छन्’ – सामान्य जस्तो लाग्ने यो भनाइको अन्तर्यमा पसेर भावार्थ खोतल्ने हो भने जोकोहीमानिसलाई पनियसले ४४० भोल्टको करेन्ट लगाइदिन सक्छ ।

यो महान्वाणी भारतकापूर्व राष्ट्रपति स्व.एपिजे अब्दुलकलामको हो । कलाम भुइँमान्छेको तहऔ तप्काबाट स्वपरिश्रम र अतुल लगनले क्रमशः माथि उठेर अन्तरिक्ष विज्ञानका क्षेत्रमाभारतमाठूलो योगदानदिने त्यस्तामहापुरुषहरूमध्ये हुन् जसलाई भारतीय राजनीतिले सर्वसम्मत रूपले राष्ट्रपतिजस्तो उच्चगरिमामय स्थानमा पुर्यायो । उनी वैज्ञानिक, अनुसन्धानदाता, मोटिभेसन स्पिकर, प्राध्यापक, लेखक, सामाजिकअभियन्ता र राष्ट्रपति समेत भैसकेका बहुमुखी व्यक्तित्व हुन् ।

स्व.कलामको चर्चा यहाँमुफ्तमागरिएको होइन । यिनको महान् वाणी जो माथि ‘कोट’ गरियो त्यसैलाई समर्पणमा उद्धृत गरी आफ्नो निबन्धात्मक कृतिमा एकजना नेपाली निबन्धका क्रियाशील लेखकले एक दसक समय लगाएर निबन्धको कृति प्रकाशित गरेका छन् । कृतिको नाम –‘ब्याक बेन्चर’ र निबन्धकार हुन् –पेशलआचार्य ।

डिकुरा पब्लिकेसन, बागबजारद्वारा २०७६, माघमा प्रकाशित यो निबन्ध सँगालोमा २९ वटा आत्मपरक निबन्धहरू समेटिएका छन् । वरिष्ठ कवि/निबन्धकार महेश प्रसाईंको बेजोड भूमिका रहेको यो कृति आकर्षक साजसज्जा र कलेवरमा रम्रिएको छ । २४० पृष्ठको यो किताबको मोल ३९९ रूपैयाँ राखिएको छ ।

‘जीवन, जगत, प्रेम, यौन, इतिहास, दर्शन, वाङ्मय, कला, विकास, संस्कार, सन्तती, विवाह, सन्तान र भावी संसारका बारेमा विविध विषयानुभूति र तीर्यक चित्रणका साथ प्रस्तुत गरिएको’ कुरा लेखकले एक प्रश्नमा स्वीकारेका छन् ।

‘ब्याक बेन्चर’ नामकयिनको टाइटल निबन्ध र सङ्ग्रहकै मुटु हो । यसका अलावा मिठो झन्झट, दुःखआफै दुख्ने गर्छ, शब्दका पछाडि-पछाडि, असत्य मेव जयते, भार्या चिन्तन, सम्पादकको मृत्यु, कीर्तिपुरे जुत्ता, शम्भवामी युगेयुगे, समय बालापन फर्काइदे, कट्फर जिन्दगीर रित्तो गुँड र चरा नियति जस्ता बेजोड आत्मपरक निबन्धहरू नयाँ पुस्ताका लागि अमिट कोसेली हुन सक्छन् ।

२०३६ सालको ‘सडक कविता क्रान्ति’मा कवि भवानी घिमिरेको कविता भन्ने अद्भूत शैली र विद्रोह चेतका कविताको नटुङ्गिने रागबाट सर्लक्कै प्रभावित बनेर नेपाली साहित्यमा उदाएका पेशल आचार्य रूचिले कवि, निबन्धकार र कथाकार तथा पेसाले शिक्षक र प्राध्यापक हुन् । उनले तीन दसकको शिक्षण र प्राध्यापनका दौरानमा हजारौं विद्यार्थीहरूलाई कक्षाभित्र र बाहिर सिकाए/सुझाए ।

सोही पेसाले उनलाई आफ्ना कक्षाको अन्तिम सिटमा बस्ने विद्यार्थीहरूको हाउभाउ, फरक प्रतिभा र अन्तर्आवाजलाई सुन्यो र अन्ततः यो कृतिको जन्म भयो । उनी यसैपाला पनि ‘अमेरिकन आइडल’मा दोस्रो उपविजेता बन्न सफल भएका नेपाली मूलका विद्यार्थी देवेश पोखरेल उर्फ ‘आर्थर गन’को उदाहरण दिँदै भन्छन् –‘आजसम्म हामीले जहिल्यै अघिल्लो बेन्चमै बस्नेका कुरा मात्र सुन्यौं । अब पछिल्लो बेन्चमा बस्नेका कुरा सुनौ त विश्व कम्ति राम रमाइलो र फन्नी हुँदैन । प्रतिभा नै पछिल्लो पङ्क्तिमा बस्नेहरूसँग हुन्छ । भनिन्छ नि, हिलैमा कमल फुल्छ ।’

तीसको दसकको उत्तरार्धदेखि कविता विधामा देखा परेको नाम हो –पेशल आचार्य । २०२३ साउन १५ गते विराटनगर –४, बरगाछी, मोरङमा माता शोभा आचार्य र पिताश्याम आचार्यका तीनभाइ छोरा मध्ये जेठा छोराका रूपमा जन्मेका आचार्यले त्रिविबाट नेपालीमा एम्ए र बीएड्को शिक्षा हासिल गरेका छन् ।

यिनको लेखन २०३६ सालबाट आरम्भ भएपनि प्रकाशन चाहिँ २०४० सालबाट भएको हो । यिनी स्थानीय, क्षेत्रीय र राष्ट्रिय पत्रिकाहरूमा विस्तारै कलम चलाउँदै खारिएर आएका लेखक हुन् । जमानामा लेटर प्रेसका लागि प्रुफमा काम गरेका यिनलाई लेखनको सुखदुःख र प्रकाशनका ‘लगडधस्’  राम्रोसँग थाहा छ । यिनलाई युवाहरूसँग मिल्न सक्ने खुबीभएकासिर्जनशील लेखकपनि भनिन्छ ।

२०६० सालमा ‘कमिलाको ताँती’नामक बालकविता सङ्ग्रह प्रकाशित गरी कृति प्रकाशनको दौडमा सामेल आचार्यका बालकथा, कविता, निबन्ध, अन्तर्वार्ता, समालोचना र आत्मपरक निबन्धका गरी १० वटा किताब प्रकाशित भैसकेका छन् । यिनका ‘डुसी बाछी र भाइटीका’ तथा ‘किस्ताको कम्प्युटर’ नामकादुई कथाहरू कक्षा ५ र ६ मा विगत् एक दसक अघिदेखि कोर्समा पढाइ हुँदै आएका छन् ।

यिनले आधुनिक र राष्ट्रिय गीतहरू पनि लेखेका छन् । यिनका गीत सङ्स नेपालले यु ट्युबमा अपलोड गरेको छ । मुक्तक, छोक र हाइकूमा यिनी आफूलाई संक्षिप्तमा प्रस्तुत गर्न औधी मन पराउँछन् । यिनी बालसाहित्य र किशोर साहित्यमा तालिम समेत दिन्छन् । लेखन, सम्पादन, प्रकाशन र गोष्ठीमा यिनले उत्प्रेरित गरेका प्रतिभाहरूले यिनलाई ‘पिगुरु’ भनेर बोलाउँछन् । अध्ययन, लेखन र प्रशिक्षणमा समर्पित आचार्य रामेछाप जिल्लाका वर्तमान समयका सबैभन्दा पुराना नेपाली भाषा शिक्षक, साहित्यिक पत्रकार र लेखक हुन् ।

शिक्षण पेसामा रहेका आचार्य हाल मन्थली नमुना मावि मन्थलीको सहायक प्रधानाध्यापक पदमा क्रियाशील छन् । नेपाली भाषा शिक्षक समाज र अनौपचारिक साहित्यिक मञ्च रामेछापका अध्यक्ष समेत रहेका आचार्यले परिवेश पुरस्कार –२०५१, उत्कृष्ठ कवि, बीबीसी, लण्डन –२०५४, कविता महोत्सव पुरस्कार, धरान–२०५५, र राष्ट्रिय शिक्षा पदक –२०६८ समेतका पदक र पुरस्कारहरू प्राप्त गरेका छन् ।

निबन्ध सङ्ग्रह प्रकाशनको माहोल पार्दै लेखकलाई यहाँ सात प्रश्न गरिएको छ । प्र्रस्तुत छ जस्ताको तस्तै सवाल/जवाफ :

यहाँको आजको साहित्य लेखनको मूल अभीष्ट के हो ?
आफू बाँचेको समाज र समयलाई कलात्मक शब्द चित्रमा उतारेर भविष्यका सन्ततीलाई विविध विधा र नामका दस्तावेजका रूपमा अमूल्य विचार सुम्पने चाहना नै मेरो साहित्य लेखनको अभीष्टता हो ।आजसम्म म यो विचारमा अविचलित भई साहित्य लेखिरहेको छु ।

साहित्य यहाँले लेखेर के पाउनु भयो ? के गुमाउनु भयो ?
मेरा विचारमा लेखनमा गुमाउनु पर्ने केही छैनन् । सबै पाउनु मात्रै छन् । लेख्ने मान्छेकै नाताले भलिभाँती समाज पढ्न पाएँ । नैरन्तर तरोताजा (अपडेट)हुने अवसर जो मिलेको छ । देशभित्र र देशबाहिर केही साथीभाइ पनि कमाएँ । विभिन्न हाँच र रूचिका विद्यार्थीलाई सकेको काउन्सिलिङ् गरेकै छु । धेरै लेखक र पाठकलाई नजिकबाट पढेको छु । एउटा जीवनमा यो भन्दा धेरै उपलब्धि अरू के हुन सक्छन् र ? हैन त ।

यहाँका कति कृति प्रकशनमा आए, अझै कति बाहिर ल्याउने योजना छ ?
१० वटा आए । ७ वटा बाल साहित्यका र ३ वटा प्रौढ साहित्यका । बाल साहित्यका कृति अब छैनन् । प्रौढ साहित्यका चाहिँ सबै विधा गरी अझै ८/१० वटै कृति छन् । कुनकुन आउँछन् अहिले नै भन्नु चाँडो हुनेछ । प्रकाशकले जे मन पराउँछन् ती अघि आउने रै’छन् । यो ‘ब्याक बेन्चर’ निबन्धसङ्ग्रह समेत १० वर्षका दौरानमा प्रकाशन भएको हो । अब २०७७ मङ्सिर तिर निबन्धकै कृति ‘पावर, मनी र सेक्स’ बजारमा आउँदै छ । त्यो चाहिँ सामयिक रूपमा पत्रपत्रिकाहरूमा लेखिएका निबन्धहरूको सँगालो हो

पुरस्कारका सवालमायहाँको धारणा जान्न सकिन्छ ?
लेखन अन्तर्मनको अनन्त इच्छा हो भने प्रकाशन सोही इच्छाको दोस्रो खुड्किलोहो ।

 नयाँ लेखकहरूलाई लेखनका बारेमा के सल्लाह दिनु हुन्छ ?
नयाँ लेखकहरू हामी पुराना भन्दा धेरै उम्दा र चुजी छन् । तिनीहरूको विषयवस्तु पक्रने कला, लेखन शैली र अध्ययन हामीभन्दा धेरै उच्च स्तरको छ । अझ म त भन्छु : यहाँ पुराना भन्दा नयाँ लेखक अघि, गुरुभन्दा चेलाअघि, बाबुभन्दा छोराअघि, नेताभन्दा जनताअघि, हाकिम भन्दा कारिन्दा अघि, डिरेक्टर भन्दा दर्शक अघि र लेखकभन्दा पाठक अघि देख्छु म त । अहिले लेख्ने जो सुकैले पाठकलाई नजर अन्दाज गरेर लेख्यो भने त्यो टिक्दैन अनि बजारमा बिक्दैन । यो समग्रतामा हो । म केही पुरानै भएपनि सबै खाले नयाँहरूलाई असीम माया र ऊर्जाशील उत्प्रेरणा दिन्छु । दिइरहेछु ।

गद्य र पद्य लेखनमाकुन सजिलो हो ?
कस्तो विषय वस्तुले दिमागमा क्लिक गरेको छ भन्ने कुराले नै विधा माग्ने हुन् । जहाँसम्म मेरो कुरा छ – म सोच दिमागमा आउने बित्तिकै एकैपटक लेखी हाल्दिनँ । विषयले नै आफैँ गद्य वा पद्य विधा माग्ने गर्छन् । तर तिनलाई परिपक्व बनाउन चाहिँ हप्ता पन्ध्र दिनलाग्न सक्छ ।

 कहिलेसम्म लेखिरहने हो ?
जीवन पर्यन्त लेखि रहने हो । समयले के माग्छ त्यही लेख्ने हो । देश, काल र परिस्थितिअनुसार लेखकले लेखिरहनु पर्छ । नदी झैँ हो लेखक पनि जो नित्य नवीन बगिरहन्छ ।

आदरणीय पाठकहरू ! निबन्धकार पेशलआचार्यलाई मोबाइलनम्बर ९८४४०४४०८३ र इमेल [email protected] र peshal Acharya नामक फेसबुक अकाउन्टमा सम्पर्क गरी विविध साहित्यिक र जीवनोपयोगी जिज्ञासा एवम् साहित्यिक संवादमा जोडिन सकिन्छ ।

प्रतिकृया दिनुहोस्