सुधारको चाहना भए बाहना आफै भाग्छन्

सिकाइ खबर

Byसिकाइ खबर

१८ असार २०७७, बिहीबार

नइन्द्र गुरुङ
प्रअ, जनप्रेम मावि
ताराखोला गाउँपालिका-१ भुस्कात,बागलुङ

विद्यालयको समग्र अवस्था कस्तो छ ?
वर्तमान अवस्थालाई इंगित गरी प्रश्न गर्नुभएको हो भने नियमित पठनपाठनको दृष्टिले हेर्ने हो भने रुग्न अवस्थामा छ, थला परेको छ । तर कोरोना संक्रमितको दृष्टिले हेर्ने हो भने विद्यालय भवन वरदान सावित भएको छ । जहाँ क्वारेन्टिनको रुपमा प्रयोग गर्न गराउनका लागि पहिलो प्राथमिकतामा परेको छ । पूर्ववत अवस्थालाई विश्लेषण गर्ने हो भने कक्षा ९–१२ र कक्षा १–८ को छुट्टाछुट्टै भवन छ । समुदाय र विद्यालयबीचको सम्बन्ध सुमधुर छ । कक्षा १–१२ सम्मको विद्यार्थी संख्या ३५२ छ । शिक्षक दरबन्दी १४ वटा मात्रै छ अन्यः ६ जना शिक्षकलाई स्थानीय स्रोतबाट ब्यहोर्ने गरी नियुक्त गरिएको छ । एसईई नतिजालाई मुल्याङ्कन गर्ने हो भने औसतमा ७५५ भन्दा माथि नै छ । स्थानीय पाठ्यक्रमको निर्माण गरी कक्षा ८ र ९ लाई व्यावसायिक शिक्षा प्रदान गरिएको छ । जहाँ विद्यार्थीहरुले विभिन्न किसिमको स्थानीय (झोला, टोपी, मोजा, पञ्जा, गलबन्दी, दोको, डाम्लो आदि बुन्ने) सीप सिक्ने गर्छन् ।

शैक्षिक सुधारका लागि विद्यालयमा भएका फरक अभ्यासहरु के–के छन् ?
जनप्रेम माविको शैक्षिक गुणस्तरका निमित्त हामीले विद्यालयलाई स्मार्ट विद्यालयको रुपमा विकास गर्ने तयारीमा छौं तर हाल कोरोना भाइरस वा कोभिड–१९ का कारण हामीले प्रत्येक चुनौतीका साथसाथै अवसरको पनि खोजी गरिरहेका छौं । जसका लागि अनलाइन क्लास, भर्चुअल क्लाससँगसँगै विभिन्न सिकाई केन्द्रहरुको निर्माण गरेका छौं । जहाँ सञ्चारका कुनै पनि साधनको पहुँच नपुग्ने विद्यार्थीहरुको समूहमा शिक्षक साथीहरुलाई परिचालन गरी सिकाइ सहजीकरण क्रियाकलापलाई निरन्तरता दिँदै छौं । गाउँपालिकाको लगानीमा होमवर्क डायरी तयार पारेका छौं । अभिभावक तथा विद्यार्थीहरुलाई मनोसामाजिक परामर्श दिने कार्यको थालनी गरेका छौं र शिक्षक तथा विद्यार्थीहरुलाई प्रविधिमैत्री बनाउने कार्यमा जुटेका छौं । विद्यालयमा सीपमूलक व्यवसायिक कक्षा सञ्चालन गरेका छौं । कक्षा ४ देखि कम्प्युटर कक्षालाई अनिवार्य गरेका छौ । कक्षा १ देखि ५ सम्म अंग्रेजी माध्यम र कक्षा ६ देखि माथिल्लो कक्षामा गणित र विज्ञान विषयलाई अंग्रेजी माध्यममा सञ्चालन गरेका छौ ।

३. कक्षाकोठालाई बालमैत्री र सिकाइमैत्री बनाउन विद्यालयमा के प्रयास भएको छ ?
बालमैत्री विद्यालय र सिकाइमैत्री शिक्षक आजको प्रमुख आवश्यकता हो । अस्ति कण्ठेश्वरी, हिजो डण्ठेश्वरी र आज मन्टेश्वरी यसकै परिणाम हो । तसर्थ, कक्षाकोठालाई बालमैत्री र सिकाइमैत्री बनाउनका लागि खेल्दै र रमाउँदै सिक्ने वातावरण पैदा गर्नका लागि प्रत्येक कक्षाकोठामा स्मार्ट टिभी जडान गर्दैछौं । प्रत्येक कक्षाकोठामा इन्टरनेटको सुविधालाई विस्तार गर्दैछौं र प्रत्येक कक्षाकोठामा मिनी लाइब्रेरीको ब्यवस्थापन गर्दै छौं । शिक्षकहरुलाई बालमैत्री र द्वन्द्वरहित शिक्षणका निमित्त प्रशिक्षण गर्दैछौं ।

सिकाइस्तरको अवस्था कस्तो छ ?
सिकाइस्तरको हिसावले भन्नुहुन्छ भने जिल्ला शिक्षा कार्यालय बागलुङबाट उत्कृष्ट विद्यालयको रुपमा सम्मानित भएका छौं । पिपि प्रसाई फाउण्डेशनबाट सन् २०१४ को राष्ट्रिय पुरस्कार पाएका छौं । कक्षा ८ को र कक्षा १० को उत्कृष्ट शिक्षक तथा विद्यार्थीको रुपमा पुरस्कृत भएका छौं । काठमाडौं, ललितपुरदेखि अन्य तमाम विद्यालयबाट निरन्तर विद्यालयमा शैक्षिक अवलोकन भ्रमण हुँदै आएका छन् । तसर्थ, मलाई लाग्छ हामी जस्तो ग्रामीण क्षेत्रमा बसोबास गर्ने भए तापनि सिकाइस्तरको दृष्टिले धेरै पछाडि छैनौं । तर यत्तिमै सन्तोष मानेर बस्नु चाँही हुँदैन । हामी अझै राम्रो गर्ने प्रयासमा निरन्तर जुटिरहेको अवस्था छ ।

सामुदायिक विद्यालयको अवस्था देशभर खस्किदै गइरहेको भनिन्छ, यसको कारण के हो जस्तो लाग्छ ?
यसको मुख्य कारण सरकार हो । राज्य हो । सरकार नै लाचार छ, राज्य नै नतमस्तक छ । नीति नै स्पष्ट छैन । नियत नै खराव छ । सामुदायिक विद्यालय सुधारको जिम्मा संस्थागत विद्यालयलाई दिने भन्छ अनि सामुदायिक विद्यालयको सुधार हुन्छ ? अतः सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर साँच्चिकै सुधार गर्ने हो भने सम्पूर्ण सामुदायिक विद्यालयका शिक्षक, विव्यस, शिअसं, राजनीति गर्ने राजनीतिज्ञ र सरकारी सेवामा कार्यरत सम्पूर्ण कर्मचारीहरुका बालबच्चाहरुलाई सामुदायिक विद्यालयमा भर्ना गर्ने अनिवार्य व्यवस्था मिलाऔं भोलिपल्टदेखि सामुदायिक विद्यालयको स्तर क्रमशः सुधार हुँदै जानेछ । त्यसकारण यहाँको मुख्य दोषी सरकार हो । कमजोर सरकारको नीति हो । सामुदायिक विद्यालयहरु कमजोर छैनन् बनाइएको मात्रै्र हो । नराम्रो कुराको मात्रै खबर बन्ने गर्छ । बिग्रेको कुराको मात्रै चर्चा हुने गर्छ । हामी हाम्रो विद्यालयमा हरेक विद्यार्थीलाई एउटा न एउटा सीप सिकाउँछौं । उनीहरु पढ्दै आम्दानी गर्छ सक्षम छन् । सिकाइ पनि राम्रो छ । तर, हामी ओझेलमा छौं । सबै सामुदायिक विद्यालयको नियति यस्तै छ । नत्र व्यवहारिक रुपमा भन्नेहो भने सामुदायिक विद्यालय कोही भन्दा कम छैनन् ।

अभिभावकहरुले त अझै पनि सामुदायिक विद्यालयलाई पत्याएको देखिदैन नि ?
यसमा ३–४ वटा कारणहरुले काम गरेको छ । पहिलो कारण हो– हाम्रा अभिभावकहरुलाई आफ्ना छोराछोरीहरु सररर अंग्रेजी बोलुन् भन्ने चाहना छ । यही अंग्रेजी मोहले नै अभिभावकहरुले सामुदायिक विद्यालयलाई नपत्याएको हो । दोस्रो कारण हो–सामुदायिक विद्यालयमा बालबच्चा पढाइयो भने सामाजिक मर्यादा नै गिर्छ भन्ने पिर । त्यसैले सकिनसकि संस्थागत विद्यालयमा नै छोराछोरी भर्ना गर्नुपर्छ भन्ने भूतले गर्दा नै हो । तेस्रो कारण हो–प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संस्थागत विद्यालयमा लगानी गरी सामुदायिक विद्यालयको शेखलाई समाप्त पारी प्रतिफल खान पल्किएका र उनीहरुकै हित हुने गरी राज्यले नीति बनाइदिनाले नै हो । होइन भने उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगले तयार पारेको प्रतिवेदन र दिएको सुझाव यो राज्यले किन लागु गर्न सकेन ?

अहिले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको क्षमतामा बारम्बार प्रश्न उठ्ने गर्छ । सुधारका लागि के गर्नुपर्ला ?
सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरु योग्य छन् । तालिम प्राप्त छन् । त्यसकारण योग्यता भएर पनि क्षमताको प्रदर्शन हुन सकेन कि भन्ने आशंका होला । शिक्षक तालिम कक्षाकोठाभित्र छिर्न सकेन कि भन्ने होला । यसमा म पनि सहमत छु । हाम्रो संरचना र नियतले नै यस्तो बनाएको हो । जस्तैः– विव्यसको गठन गर्दा कुन राजनीतिको समर्थक हो ? कसलाई जिताउने ? कसलाई हराउने ? ठूलो कसरत हुन्छ र विव्यस को गठन गरिन्छ । अनि शिक्षक नियुक्त गर्दा कुन पार्टीको हो ? भन्ने आँखाले हेरिन्छ ।

माननीय सांसदहरुको दबाब आउँछ र सोही बमोजिम शिक्षक नियुक्त गरिन्छ । अनि त्यसरी भर्ना भएको शिक्षकको क्षमतामा प्रश्न उठ्नु स्वभाविकै हो । तसर्थः विद्यालयीय वातावरणलाई फोहोरी राजनीतिबाट टाढा राख्नु पर्यो । शिक्षकहरुलाई राजनैतिक दलको झोले होइन विश्लेषक बनाउनु पर्यो । विद्यालय परिसरभित्र शिक्षकहरुले राजनीतिको होइन गुणस्तर सुधारका लागि वहस गर्नुपर्यो । शिक्षक नियुक्त गर्दा सोर्स फोर्स र दबाबबाट होइन योग्यता र क्षमताका आधारमा नियुक्त गर्नुपर्यो । संस्थागत विद्यालयमा लगानी गरेका शिक्षकहरुलाई सामुदायिक विद्यालयमा प्रवेश निषेध गर्नुपर्यो । सुधार अवश्य सम्भव छ ।

शिक्षकहरुको बेलाबेलामा क्षमता परीक्षण हुनुपर्ला कि नपर्ला ?
शिक्षकहरुलाई कम्तिमा दुई–दुई वर्षमा उत्प्रेरणा (Motivation)  सम्बन्धी तालिमको ब्यवस्था हुनुपर्छ । आधुनिक प्रविधिसँग अपडेट गराउने तालिम दिनुपर्छ तर बेला बेलामा क्षमता गर्ने कुरा मलाई त वाहियात लाग्छ । बरु उत्कृष्ट सिकाइ उपलब्धी प्राप्त गर्ने शिक्षकहरुलाई पुरस्कृत र सम्मान गर्ने परिपाटीको ब्यवस्था मिलाउनु पर्छ । राजनैतिक झोलेको आधारमा सम्मान गर्ने परम्पराको अन्त्य गर्नु पर्छ ।

एउटा विद्यालय राम्रो बनाउनका लागि एकजना प्रअ को कस्तो भूमिका रहन्छ ?
विद्यालय राम्रो बनाउनका लागि टिम स्प्रिट जरुर मिल्नुपर्छ । विव्यस र प्रअको बीच सुमधुर सम्बन्ध हुनुपर्छ । प्रअ र शिक्षकबीचको तालमेल पनि उत्तिकै जरुरी छ भने प्रअ को भूमिका पाइलट सरह नै हुन्छ । विद्यालय चलाउने पाइलट भनेको प्रअ नै हो । प्रअ योग्य, क्षमतावान, दूरदर्शी, निष्पक्ष र स्पष्ट वक्ता हुनुपर्छ ।Money Minded हुनुहुँदैन ।

यो विद्यालयमा नै विद्यार्थीहरु किन पढाउने ?
बागलुङ जिल्लाको यो जनप्रेम मावि ‘स्मार्ट विद्यालय’ को रुपमा विकास हुँदै गरेको विद्यालय हो । साथै यो विद्यालय खेलकुद तथा संगित विशेष विद्यालयको रुपमा पनि विकसित हुँदै गरेको विद्यालय हो । यहाँ खेल्दै सिक्ने र रमाउँदै सिक्ने वातावरणको शृजना गरिएको छ । आधुनिक प्रविधिलाई पकड्दै ब्यावसायिक शिक्षालाई समेत जोड दिइएको छ । तसर्थः यो विद्यालय बालमैत्री र प्रविधिमैत्री समेत भएको हुनाले र यहाँ हालसम्म राजनीतिलाई छिर्न नदिइएको हुनाले यो विद्यालयमा नै विद्यार्थीहरु पढाउनु पर्छ भन्ने मेरो मान्यता हो । विद्यार्थीलाई किताबी ज्ञानको सीमित घेराबाट बाहिर निकाली जीवनजगतको ज्ञान, व्यवहार, संस्कार, सीप र प्रविधिमा दक्ष बनाउने हो भने हाम्रो विद्यालयमा स्वागत छ । हामी सीपयुक्त शिक्षा शुरु गरेर त्यसको संस्थागतसँगै प्रविधियुक्त सिकाइमा फड्को हानिसकेका छौं । स्थानीय किसान, आरने, सुचीकार, संगितकार, गायक, कलाकार सबै हाम्रा विद्यालयमा कक्षा लिन्छन् । विद्यालयमै संग्रहालय बनाइएको छ । सम्पूर्ण जीवनोपयोगी सिकाइ हुन्छ यस विद्यालयमा ।

तपाईं यस विद्यालयमा कहिले प्रअ बन्नुभयो ? तपाई प्रअ बनेपछि के–के सुधार गर्नुभयो ?
म यस विद्यालयमा २०६० सालमा प्रअ भएको हो । म प्रअ भएपछि विद्यालयमा के–के सुधार भयो भनेर मैले भन्नु भन्दा पनि शिक्षा विकास तथा समन्वय इकाई बागलुङ वा ताराखोला गाउँपालिकाको शिक्षा शाखा वा मेरो समुदायका मानिसहरुसँग बुझ्दा धेरै राम्रो होला । तथापि तपाईंले जुन जिज्ञासा राख्नुभयो यसका बारेमा थोरै विषय मात्र अवगत गराउन चाहन्छु । मेरो स्टाफ टिम, विव्यस र स्थानीय अभिभावक ज्यूहरुको सक्रियता बढ्यो ।

समय र चुनौतिको पहिचान भयो । प्रविधि र व्यवसायिक शिक्षामा जोड दिइयो । विज्ञान प्रयोगशाला, कम्प्युटर ल्याव, मिनी संग्रहालय, इ–लाइव्रेरी, स्मार्ट बोर्ड, स्मार्ट टिभी, विद्युतीय हाजिरी, मिडास एजुकिट, सिसी क्यामेराको जडान, इमेल इन्टरनेट सुविधाको विस्तार गरियो । अब केही समयमै स्मार्ट विद्यालयको रुपमा घोषणा गर्ने तयारीमा जुटिरहेका छौं । विद्यालयमा शैक्षिक, भौतिक, प्रशासनिक र आर्थिक क्षेत्रमा नै परिवर्तन भएको छ । तर यो परिवर्तन मेरो कारणले भन्दा पनि अभिभावकहरुको मानसिकतामा भएको परिवर्तन, शिक्षक साथीहरुमा आएको उत्सुकता र वि.व्य.समा देखिएको जागरुकताकै उपज हो भन्ने मलाई लाग्दछ ।

राम्रो प्रअ बन्नका लागि तपाईंका सुझाबहरु के के छन् ?
जिम्मेवारी दिन र बाँड्न सक्नुपर्छ । आर्थिक पारदर्शितालाई विशेष ध्यान दिनुपर्छ । घरायसी र ब्यक्तिगत कामलाई भन्दा विद्यालयलाई बढी समय दिन सक्नुपर्छ । समुदायको मन जित्नुपर्छ । राजनैतिक झण्डा बोकेर होइन विद्यार्थीहरुको समस्या बुझेर र विद्यालयीय समस्या समाधानका निमित्त जुध्ने जुझारु व्यक्ति हुनु पर्दछ ।

विद्यालय सुधारका लागि तपाइका योजनाहरु के–के छन् ?
सर्वप्रथम अभिभावक शिक्षा लागु गर्ने हो । अभिभावक सचेत र सजग नहुँदासम्म सामुदायिक विद्यालयको शैक्षिक स्तरमा सुधार हुन सक्दैन । त्यसकारण प्रत्येक टोलटोलमा गएर अभिभावक शिक्षा लागु गर्छौं । त्यसपछि प्रत्येक अभिभावकहरुको मोवाइलमा घरमै बसेर आफ्ना नानीबावुको शैक्षिक गतिविधि अवलोकन गर्न सक्ने प्रविधिको विकास गर्छौं । त्यसपछि विद्यार्थीहरुमा साँच्चिकै सिकाइ र ज्ञानको प्यास कसरी जगाउने ? भन्ने कुराको निक्र्यौल निकाली त्यसतर्फ अग्रसर हुने छौं र विद्यालयलाई स्मार्ट विद्यालयको रुपमा विकास गरी घोषणा गर्ने योजना बनाइएको छ ।

स्थानीय समुदायको सहयोग कत्तिको छ ?
स्थानीय समुदायको सहयोग विना त यो विद्यालय यो अवस्थासम्म कुनै पनि हालतमा आउन सक्ने थिएन । यहाँका अभिभावकज्यूहरुले भवन बनाउँदा ६९ दिनसम्म श्रमदान गर्नुभएको छ । एकपटक होइन तीन पटकसम्म चन्दा प्रदान गर्नुभएको छ । यो गाउँका ज्वाइँसाहेबहरुले समेत चन्दा दिनबाट छुट पाउनु भएको छैन । खाडी मुलुक र युरोपियन मुलुकमा गई श्रम गरेर फर्कने दाजुभाइहरुलाई छुट्टाछुट्टै दररेट कायम गरिएको छ । सोहि आधारमा लाहुरे चन्दा उठाइन्छ । विद्यालयको आयको प्रमुख स्रोत नै लाहुरे चन्दा बनेको छ । जसबाट छ जना निजी स्रोतका शिक्षकहरुलाई तलब भत्तादी खुवाइन्छ ।

शिक्षा सुधार नहुनुमा सरकारको नीतिमा समस्या देख्नुहुन्छ कि नियतमा ?
नियत राम्रो भए नीति पनि राम्रो बन्ने हो । नियत खराब भए नीति पनि खराब बन्ने हो । त्यसकारण नियत नै खराब भएको सरकारले नीति असल बनाउँछ कि भन्ने सपना हामीले देख्न छोडौं । नियत खराब भएकै कारणले नै नेपालमा दुईखाले शिक्षा लागु गरियो । नियत खराब भएकै कारणले उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगले दिएको प्रतिवेदन र सुझावलाई गुपचुप बनाएर राखेको हो नि ।

हाम्रा शिक्षकहरुलाई साँच्चै गुरु बनाउन के गर्नुपर्ला ?
हामी, म र मेरा शिक्षक साथीहरुले परिस्थितिलाई आँकलन गर्न सकेनौं । विद्यार्थीहरुको मनोभावनालाई बुझ्न सकेनौं । उनीहरुको आन्तरिक समस्यालाई पढ्न सकेनौं । गतिशील समयसँगसँगै आफूलाई रुपान्तरण गर्न सकेनौं । मलाई जसरी लठ्ठी लगाएर र दण्ड दिएर मेरा सरहरुले सिकाउनुभयो मैले सोही तरिका नै अपनाएँ । जसले गर्दा विद्यार्थीहरुका लागि म बाउन्सर बनेँ । विद्यार्थीहरुलाई चुप लगाएर एकोहोरो भट्भटाएँ । गृहकार्य नगर्नाको कारण नै नखोजी सजायँ दिलाएँ । उनीहरुकै अगाडि जाँड रक्सी खाएँ । जुवाँतास खेलें । अनि कसरी गुरु बन्न सकिन्छ । त्यसकारण साँच्चिकै गुरु बन्नका लागि परिवर्तित समय र विकसित प्रविधिसँग चल्न सक्नुपर्यो । आफूलाई अपडेट बनाइराख्नु पर्यो । ज्ञानको भोक जगाउन सक्नु पर्यो । बालमैत्री र प्रविधिमैत्री बन्नु पर्यो । दण्डरहित शिक्षामा जोड दिनुपर्यो । आफ्नो हरेक आनीबानी र आचरणमा सुधार गर्नुपर्यो । तब असल गुरु बन्न सकिन्छ भन्ने मेरो विचार हो ।

सरकारको ठूलो लगानीका बाबजुद सामुदायिक विद्यालयको गुणस्तर कम देखिन्छ । यसको कारण केलाई मान्नुहुन्छ ?
राजनीतिज्ञ, सरकारी जागिरे, समाजसेवी र समाजका टाठाबाठा मानिसहरु सबैले संस्थागत विद्यालयमा आफ्ना बालबच्चा भर्ना गर्ने हाम्रो परम्परा छ । बाँकी रहेका सोझा, निमुखा र निम्न आयस्तर भएका बच्चाहरु सामुदायिक विद्यालयमा छन् अनि कसरी सामुदायिक विद्यालयको गुणस्तर बढी हुन्छ । सामुदायिक विद्यालयमा योग्य र दक्ष शिक्षक हुँदाहुँदै पनि बिडम्बना नै भन्नुपर्छ सोचे र खोजे जस्तो गुणस्तर नआउनुका पछाडिको कारण त्यही हो । जहाँसम्म सरकारको ठूलो लगानीको कुरा कोट्याउँदा कुल राष्ट्रिय बजेटको कम्तीमा पनि २० प्रतिशत शिक्षा क्षेत्रमा लगानी हुनु पर्छ तर नेपालमा हाल केवल १२ प्रतिशतको हाराहारीमा मात्रै विनियोजन गरिएको छ ।

सामुदायिक विद्यालयलाई कसरी प्रतिस्पर्धा बनाउन सकिएला ?
अहिलेकै अवस्थामा पनि हेर्ने हो भने कतिपय सामुदायिक विद्यालयहरु संस्थागत विद्यालयहरुभन्दा धेरै राम्रा पनि छन् । तिनीहरुको नतिजा संस्थागत विद्यालयको भन्दा झनै राम्रा पनि छन् ।। त्यसकारण अन्यः सामुदायिक विद्यालयहरुलाई त्यस्ता राम्रा विद्यालयको अवलोकन भ्रमण गराउनु पर्छ । राम्रा अभ्यासहरुको अनुसरण गर्ने पद्दतीको विकास गराउनु पर्छ । नाम मात्रको निःशुल्क र अनिवार्य शिक्षाको नारालाई बदल्नु पर्छ ।

अतिरिक्त शुल्क लिएर अतिरिक्त कक्षा र अंग्रेजी भाषालाई माध्यम भाषा बनाउछु भन्ने सामुदायिक विद्यालयलाई हौसला दिनुपर्छ । पूर्ण अधिकार सहितको प्रअको भूमिका निर्वाह गर्ने जिम्मेवारी सुम्पन सक्नुपर्छ । शिक्षक सरुवा बढुवा र नियुक्तिमा दलीय हस्तक्षेप हुनुहुँदैन । संस्थागत विद्यालयका अभिभावक झैं सामुदायिक विद्यालयका अभिभावकहरु पनि सचेत हुनुपर्छ र निःशुल्क भन्ने शब्दको अन्त्य हुनुपर्छ । गान्धी डिभिजनले मात्र शिक्षाशास्त्र पढ्ने परम्परा र पद्धतीको अन्त्य हुनुपर्छ । ५० वर्षको उमेरपछि निवृत्तिभरणको व्यवस्था गर्नुपर्छ ।

शिक्षक तालिम कक्षाकोठामा पुगेको लाग्छ त ?
विडम्वना, प्रत्येक वर्ष अर्बौं रुपैयाँ खर्च गरेर राज्यले सञ्चालन गरेको तालिम कक्षाकोठामा नपुगेको भन्ने गुनासो सुन्नमा पाइन्छ । वास्तवमा थोत्रिएको विधि सिकाएर राज्यको ढुकुटी सक्नुभन्दा नविनतम् आधुनिक प्रविधि र नितान्त कक्षाकोठामा उपयोगि हुने व्यवहारिक, प्रभावकारी र उत्प्रेरणा जगाउने खालको तालिमको आवश्यकता छ । तालिम पश्चात अवलोकन र अनुगमनको भरपर्दो व्यवस्थापन पनि उत्तिकै जरुरी हुन्छ र मात्रै तालिमको प्रभावकारिता झल्किने छ ।

सिकाइ र भौतिक पूर्वाधारको कस्तो सम्बन्ध रहन्छ ?
भौतिक पूर्वाधारभन्दा पनि सिकाईको स्तर उच्च हुनुपर्छ भन्ने ठान्दछु । गुणस्तरीय सिकाइका लागि सम्पन्न भौतिक पूर्वाधार अनिवार्य शर्त होइन तर भौतिक पूर्वाधार विनाको सिकाई अपूर्ण नै हुन्छ । त्यसैले सिकाइ र भौतिक पुर्वाधारबीच अन्यायोश्रित सम्बन्ध छ भन्ने लाग्दछ । तथापि थोत्रो र पुरानो घारमा पनि मौरीको मिठो मह हुन्छ भन्ने कुरा बिर्सनु हुँदैन भन्ने लाग्दछ ।

सामुदायिक विद्यालय सुधारको शुरुवात कहाँबाट गर्नुपर्ला ?
सामुदायिक विद्यालय सुधारका निमित्त एकले अर्कोलाई दोषारोपण गरेर उम्कन कोही पनि मिल्दैन । त्यसैले विद्यालयको जग मानिने बालविकास केन्द्र र कक्षा १ देखि ५ सम्मको जग बलियो बनाउन शुरुवात गर्नुपर्छ । बालविकास केन्द्र र प्राथमिक तहमा बालमनोविज्ञान बुझ्ने दक्ष र योग्य शिक्षक नियुक्त गर्ने नीति ल्याउनु पर्छ । साना कक्षामा तल्लो योग्यता भएका शिक्षकलाई कक्षा दिने व्यवस्थाको अन्त्य गरिनु पर्छ ।

प्रस्तुतिः रोशन गाउँले

प्रतिकृया दिनुहोस्