साउने सक्रान्तिको साँस्कृतिक महत्व

सिकाइ खबर

Byसिकाइ खबर

३१ असार २०७७, बुधबार
शरद कुमार पौडेल

हरेक वर्ष श्रावण महिनाको पहिलो दिनलाई विशेषरुपले मनाइन्छ । नेपाली जनजिब्रोले साउने सक्रान्ति तथा लुतो फाल्ने दिनको रुपमा समेत मनाउने गरेको पाइन्छ । यसलाई कर्कट सक्रान्ति पनि भनिन्छ । सुर्यको किरण कर्कट रेखातर्फ उन्मुख हुने हुनाले यसो भनिएको हो । यसै दिन सुर्य नारायणको दक्षिणायन प्रारम्भ हुन्छ ।

श्रावण महिनामा सुर्य दक्षिणायन भएपछिको पहिलो चाड नै श्रावण सक्रान्ती हो । वर्षाकालको अन्त्य नागपञ्चमी मानिए पनि यस श्रावण सक्रान्तीको दिन वर्षाको कारण केहि नराम्रो भएन बाँचियो भन्ने भावना राख्दै पवित्र नदीतलाउमा स्नान गरि पाठपुजा समेत गर्ने प्रचलन पाइन्छ ।

वर्षा यामको हिलो र अशुद्ध पानीको कारण अनेक प्रकारका रोगहरु जस्तैः लुतो, पिलो, खटिरो, झाडापखाला आदिको महामारी फैलन सक्ने हुँदा आफ्नो व्यक्तिगत सरसफाइलाई विशेष ध्यान दिँदै विभिन्न प्रकारका साँस्कृतिक पुजापाठमा सरीक हुने परम्परालाई आजसम्मपनि निरन्तरता दिइँदै आएको पाइन्छ ।

माथि उल्लेख गरिएका तमाम् रोगहरुको प्रमुख कारक ‘काण्डारक’नामक राक्षसलाई शान्त पार्नको लागि विभिन्न प्रकारका सर्जामहरु तयार पारी साँझपख तुलसीको मठ भएको ठाँउ वा आँगनको डिलको पवित्र ठाँउमा विभिन्न प्रकारका सर्जामहरुलाई केराको पातमा राख्ने प्रचलन रही आएको छ ।

दिनभर भिरपाखा, खेतवारी र चउरमा गई निम्नानुसारका पुजासामग्री वा सर्जामहरुः १. लुतेझार २. स्युँडी ३. कुरिलो ४. कुकुरडाइनो ५. पानीसरो ६. रायो ७. उखुकापात ८. बाँसकापात ९. धोबिनी (पातफुलसहित) १०. सिरु ११. दुनामामास १२. रायो,सस्र्यु १३. हाडेउनियो १४. मालटाटो १५. निबुवा, सुन्तला आदीजोडि फलभएको १६. साउने आरुको झुप्पो १७. केराकोपात १८. जौ, तिल, कुश ९. दुनामा दिप आदी जम्मा गरि दियो, कलश र गणेशको स्थापना गरि जौ, तिल, चन्दन, अक्षता र फुलले पुजा गरि धुपदिप गरिन्छ र शंख घण्टा बजाइन्छ ।

यसरी जम्मा पारिएका सर्जामहरुमा काण्डारक नामक राक्षस उपस्थित भएकोमानी जौ, तिल, अक्षता आदी पंचोपचारले पुजा गरिन्छ । जोडीफल तथा फुल त्यही हुने भएकाले छुट्टै ल्याइरहन आवश्यक नपर्ने रहेछ ।

काण्डारक को पुजा गरिसकेपछी बालिएका ४ वटा सलेदा घरको चारैदिशा तर्फ फालिन्छ । लुतोलाई जा लुतो लईजा भन्दै वरपरका गाउँहरुको नाम लिइन्छ । राका फाल्दा वरपरका खरले छाइएका घर, गोठ, टौवा वा त्यस्तै आगोले झ्याप्प टिप्ने चिज वस्तुरहेको ठाँउमा नपरोस भनेर सचेतता अपनाइन्छ ।

छिमेकी गाउँहरुको नामलिने प्रचलन नेपालको एकिकरण अगाडि अस्तित्वमा रहेका सानातिना राज्यहरु बिचको दुश्मनी र आक्रोशलाई अभिब्यक्त गरेको प्रचलनबाट आएको पाइन्छ । पुजा गर्ने ठाउँमा राँका बाल्ने र चौतर्फी सलेदाहरु फ्याकिने हुनाले चारैदिशा उज्यालो र झलमल हुन्छ । राँको शब्दको अर्थ प्रकाश वा पुर्णिमा भएको र यसले लुतोलाईसमेत जनाउने हुनाले यसदिनलाई लुतो फाल्ने वा राँके सक्रान्ति भनिएको हो ।

काण्डारक पुजा सकिए पछी तिउरे लगाउने चलन पनि पाइन्छ । यसको पछाडिको कारण व्यक्तिगत सुन्दरता को साथसाथै हात गोडामा हिलोबाट पर्न सक्ने असरलाई जोगाउनु पनि हो । यसरी पुजा गर्नुको मुख्य कारण वर्षैभरी देखा पर्नसक्ने विभिन्न प्रकृतिका रोगहरुबाट मुक्ती पाउने अभिलाषा हो । सँगसँगै अर्कोतर्फ निबुवा, सुन्तलाजस्ता अमिला प्रजातिका फलफुलहरु अवउप्रान्त खाँदा हुने भयो भन्ने कुरा पनि हो ।

यसरी पुजा सम्पन्न गरेपछि काण्डारक नाम गरेको रोगको राजातर्फ फर्की यसवर्ष अन्मायौ अर्को वर्ष पर्सौला भनेर बिदा गर्ने चलन परापूर्व कालदेखि चलि आएको छ । सबै प्रकारका महामारीहरु सलेदोमा परेका रायो, सस्र्यु जस्तै भष्म होउन भन्ने कामनाका साथ यस संस्कृतिको निरन्तरता दिइँदै आएको छ ।

संसारको सबैभन्दा पुरानो र धनी हाम्रो पूर्वीय दर्शनमा भएका परम्परागत मुल्य मान्यतालाई संरक्षण गर्नु हामी सबैको कर्तब्य हो भन्ने अभिप्रायका साथ पछिल्ला पुस्ताका अनुजहरुलाई श्रावण सक्रान्ति अथवा लुतो फाल्ने दिनको साँस्कृतिक महत्व बारे बोध गराउन यो सम्क्षिप्त आलेख तयार गरिएको हो ।

-झारखोला, स्याङ्जा

प्रतिकृया दिनुहोस्