काठमाडौं ।  राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्याङ्कन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७ सार्वजनिक गरेको छ । सो कार्यविधिमा विद्यालयले आफैले मिति तय गरेर परीक्षा सञ्चालन गर्न पाउने अधिकार दिइएको छ ।

कार्यविधिमा विद्यालयले वार्षिक परीक्षा सञ्चालन गर्नुपूर्व उक्त परक्षिाको मिति र समयका बारेमा छिटो छरितो माध्यमबाट बोर्डका सम्बन्धित कार्यालयहरुलाई जानकारी गराउनुपर्ने स्पष्ट गरेको छ ।

कक्षा ११ मा नियमिततर्फ कम्तीमा ७० प्रतिशत हाजिरी भएका विद्यार्थीले मात्र परीक्षा लिन पाउने, विद्यार्थीले कक्षा ११ मा अध्ययनका लागि विषयहरु बोर्डमा रजिष्ट्रेसन गराउनुपर्ने र परीक्षाका लागि प्रश्नपत्र र उत्तरकुञ्जिका पनि विद्यालय आफैले तयार गर्नुपर्ने व्यवस्था कार्यविधिमा गरिएको छ ।

यस्तै, त्यसका लागि बोर्डले तोकेको मापदण्ड पालना गर्नुपर्ने छ ।

कक्षा ११ को मूल्याङ्कन अक्षराङ्कन पद्धतिबाट नै हुने र कक्षा ११ मा जुन विषय अध्ययन गरेको हो विद्यार्थीलाई सोही विषयमा कक्षा १२ मा अध्ययन गर्न दिइने व्यवस्था कार्यविधिमा गरिएको छ ।

कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्याङ्कन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७

प्रस्तावना

राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को मिति २०७७/३/१९ को निर्णयबाट कक्षा ११ को वार्षिक परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्याङ्कन तथा प्रमाणीकरण सम्बन्धमा भएको व्यवस्थाबमोजिम यो कार्यविधि जारी भएपछिका शैक्षिक सत्रहरूमा सञ्चालन हुने कक्षा ११ को वार्षिक परीक्षासमेतको सञ्चालन तथा मूल्याङ्कन प्रक्रिया हाल कायम रहेभन्दा फरक ढङ्गले गर्नुपर्ने भएकोले मूल्याङ्कनलाई बैध र विश्वसनीय बनाउन सम्बन्धित विषय पठनपाठन गर्ने शिक्षक, प्रधानाध्यापक र विद्यालयलाई उत्तरदायी बनाई परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्याङ्कन, नतिजा प्रकाशन र प्रमाणीकरण गर्नका लागि शिक्षा (आठौं संशोधन) ऐन, २०२८ को दफा ४ग को उपदफा (ग) बमोजिम राष्ट्रिय परीक्षा बोर्डले यो कार्यविधि बनाएको छ।

परिच्छेद १
प्रारम्भिक

१ संक्षिप्त नाम र प्रारम्भ :

(१) यस कार्यविधिको नाम “कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्याङ्कन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७” रहेको छ ।

(२) यो कार्यविधि बोर्डबाट स्वीकृत भएको मितिदेखि लागू हुनेछ ।

२ परिभाषा :

विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस कार्यविधिमा :

(क) “बोर्ड” भन्नाले शिक्षा ऐन, २०२८ (संशोधन सहित) को दफा ४क बमोजिम गठित राष्ट्रिय परीक्षा बोर्ड सम्झनुपर्छ ।

(ख) “परीक्षा नियन्त्रण कार्यालय” भन्नाले राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा ११ र १२ सम्झनुपर्छ ।

(ग) “विद्यालय” भन्नाले माध्यमिक तह कक्षा ०+२ वा १-१२ सम्मको शैक्षिक कार्यक्रम सञ्चालन गर्न स्वीकृति सञ्चालन अनुमति प्राप्त गरी सञ्चालनमा रहेको विद्यालय / क्याम्पस सम्झनुपर्छ ।

(घ) “प्रधानाध्यापक” भन्नाले शिक्षा नियमावली बमोजिम नियुक्त प्रधानाध्यापक वा विद्यालय/क्याम्पसको व्यवस्थापन समितिले तोकेको प्रशासनिक तथा प्राज्ञिक प्रमुखलाई समेत सम्झनुपर्छ ।

(ङ) “समिति” भन्नाले यस कार्यविधिको परिच्छेद ४ को दफा ५ बमोजिम गठित “परीक्षा तथा प्रमाणीकरण समिति सम्झनुपर्छ।

(च) “परीक्षा” भन्नाले माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एस.एल.सी.इ.) अन्तर्गत कक्षा ११ को परीक्षा सम्झनुपर्छ ।

(छ) “विषय शिक्षक” भन्नाले कक्षा ११ मा सम्बन्धित विषय अध्यापन गराउने शिक्षक सम्झनुपर्छ ।

(ज) “कक्षा शिक्षक” भन्नाले हरेक कक्षामा विद्यार्थीहरूको अभिलेख व्यवस्थापन गर्ने, हाजिर गराउने तथा कक्षाको शैक्षिक प्रशासनिक कार्य गर्न तोकिएको शिक्षकलाई सम्झनुपर्छ ।

(झ) “विद्यार्थी” भन्नाले कक्षा ११ मा भर्ना भई अध्ययन गर्ने विद्यार्थीहरू सम्झनुपर्छ ।

(ञ) “नियमित परीक्षार्थी” भन्नाले रजिष्ट्रेशन नम्बरको सुरुका दुई अङ्क ७७ भएका (२०७७ सालमा कक्षा ११ को वार्षिक परीक्षामा सहभागी हुन आवेदन फाराम भरेका) विद्यार्थीहरू सम्झनुपर्छ । साथै सो शब्दले यो कार्यविधि लागू भएपश्चात् कक्षा ११ मा भर्ना भई कक्षा ११ को वार्षिक परीक्षामा सहभागी हुने नियमित परीक्षार्थीहरूलाई समेत जनाउनेछ।

(ट) “आंशिक / ग्रेड वृद्धि परीक्षार्थी” भन्नाले रजिष्ट्रेशन नम्बरको सुरुका दुई अङ्क ७६ वा सोभन्दा कम भई २०७७ सालको कक्षा ११ को वार्षिक परीक्षामा सहभागी हुन आवेदन फाराम भरेका विद्यार्थीहरू सम्झनुपर्छ । साथै सो शब्दले यो कार्यविधि लागू भएपछि कक्षा ११ को ग्रेड वृद्धि/ आंशिक परीक्षामा सामेल हुने रजिष्ट्रेशन नम्बरको सुरुका दुई अङ्क ७६ वा सोभन्दा कम हुने परीक्षार्थीहरूलाई समेत जनाउनेछ।

परिच्छेद २
विद्यार्थीको मूल्याङ्कन पद्धतिसम्बन्धी व्यवस्था:

३. विद्यार्थीको मूल्याङ्कन पद्धतिसम्बन्धी व्यवस्था:

(१) विद्यार्थीको मूल्याङ्कन पद्धतिसम्बन्धी व्यवस्था देहायबमोजिम हुनेछ :

(क) निर्माणात्मक मूल्याङ्कन : निर्माणात्मक मूल्याङ्कन गर्न कक्षागत शिक्षण सिकाइकै अभिन्न अङ्गका रूपमा गृहकार्य, कक्षा कार्य, परियोजना कार्य, सामुदायिक कार्य, सह-अतिरिक्त क्रियाकलाप, इकाई परीक्षा, मासिक परीक्षा जस्ता मूल्याङ्कनका साधनहरूको प्रयोग गर्न सकिनेछ । यस्तो मूल्याङ्कनको लागि विद्यार्थीको अभिलेख राख्नुपर्दछ । सोको आधारमा नै सिकाइ अवस्था एकीन गरिन्छ र आवश्यकताअनुसार उपचारात्मक शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्नुपर्छ । विशेष सिकाइ आवश्यकता भएका विद्यार्थीहरूको लागि विषय शिक्षकले नै उपयुक्त प्रकृया अपनाउन सक्नेछन् । निर्माणात्मक मूल्याङ्कनको विधि पाठ्यक्रम विकास केन्द्रले निर्धारण गरेको नयाँ पाठ्यक्रम लागू भएपश्चात् अनुसूची १ मा तोकिएबमोजिम कार्यान्वयन गर्नुपर्नेछ।

(ख) निर्णयात्मक मूल्याङ्कन : पाठ्यक्रम विकास केन्द्रद्वारा निर्धारण गरिने नयाँ पाठ्यक्रमले तोकेको पाठ्यघण्टाअनुसार सैद्धान्तिक र प्रयोगात्मक तर्फ निर्णयात्मक मूल्याङ्कन गर्नुपर्नेछ । (वर्तमान पाठ्यक्रमअनुसार मूल्याङ्कन गर्नुपर्ने अवस्थामा साविकबमोजिम (अनुसूची ५) मूल्याङ्कनको विधि अवलम्बन गर्नुपर्नेछ ।)

अ) सैद्धान्तिक मूल्याङ्कन : प्रत्येक विषयका लागि स्वीकृत पाठ्यक्रममा भएको व्यवस्थाअनुसार विशिष्टीकरण तालिका (Specification Chart/Grid) अनुरूप सबै पाठ्यभारलाई समेट्ने गरी निर्धारित पूर्णाङ्कको सैद्धान्तिक मूल्याङ्कन गर्नुपर्नेछ ।

आ) प्रयोगात्मक मूल्याङ्कन : पाठ्यक्रममा प्रयोगात्मक परीक्षाका लागि छुट्याइएको पूर्णाङ्कका आधारमा बोर्डद्वारा जारी गरिएको प्रयोगात्मक परीक्षाको प्राप्ताङ्क भर्नेसम्बन्धी निर्देशनको अधीनमा रही प्रयोगात्मक मूल्याङ्कन गर्नुपर्नेछ।

(२) उपदफा (१) बमोजिम विद्यार्थीले प्राप्त गरेको नतिजालाई गणना गरी विद्यार्थीको समग्र मूल्याङ्कन गर्नुपर्नेछ । त्यसरी मूल्याङ्कन गर्दा तोकिएबमोजिमको पूर्णाङ्कको आधारमा छुट्टा छुट्टै प्राप्ताङ्क गणना गर्नुपर्नेछ ।

परिच्छेद ३

विद्यालयमा विद्यार्थीको मूल्याङ्कनसम्बन्धी व्यवस्था

४ विद्यालयको काम, कर्तव्य र अधिकार :

(१) विद्यार्थीको मूल्याङ्कनका सम्बन्धमा सम्बन्धित विद्यालयको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :

(क) विद्यार्थीले कक्षा ११ मा अध्ययनका लागि छनौट गरेका विषयहरूको बोर्डमा रजिष्ट्रेशन गराउनुपर्नेछ । विषय छनौटको आधार पाठ्यक्रम विकास केन्द्रले तय गरेअनुसार हुनेछ । (हालको पाठ्यक्रम संरचनाअनुसार कक्षा ११ मा अध्ययनका लागि छनौट गरिने विषय र सोही अनुरूप कक्षा १२ मा अध्ययन गर्नुपर्ने विषयहरूको विस्तृत विवरण अनुसूची २ मा दिइएको छ ।)

(ख) विद्यार्थीहरूको दैनिक हाजिरी अभिलेख राख्नुपर्ने तथा नियमिततर्फ कम्तिमा ७० (सत्तरी) प्रतिशत हाजिरी भएका विद्यार्थीहरूलाई मात्र विद्यालयबाट लिइने अन्तिम परीक्षामा सहभागी गराउनुपर्नेछ ।

(ग) पाठ्यक्रमले तोकेको पाठ्यघण्टालाई आधार मानी अनुसूची १ मा उल्लेख गरे अनुरूपको ढाँचामा विद्यार्थीको निर्माणात्मक र निर्णयात्मक मूल्याङ्कन गर्नुपर्नेछ ।

(घ) विषयको प्रकृतिअनुरूप मूलतः कक्षा सहभागिता, कक्षाकार्य, परियोजना कार्य, गृहकार्य, सामुदायिक कार्य, सह / अतिरिक्त क्रियाकलाप, प्रस्तुतीकरण, सामुहिक कार्य, लिखित तथा मौखिक इकाई/मासिक परीक्षाहरू आदिको आधारमा निर्माणात्मक मूल्याङ्कन गर्नुपर्नेछ।

(ङ) विद्यालयले वार्षिक परीक्षा सञ्चालन गर्नुपूर्व उक्त परीक्षाको मिति र समयका बारेमा छिटो छरितो माध्यमबाट बोर्डका सम्बन्धित कार्यालयहरूलाई जानकारी गराउनुपर्नेछ।

(च) परीक्षामा सहभागी भएका परीक्षार्थीहरूको विषयअनुसार सिलसिलेवार रूपमा हाजिरी गराई सुरक्षित राख्नुपर्नेछ।

(छ) परीक्षा सञ्चालन र मूल्याङ्कनका क्रममा प्रयोग भएका प्रश्नपत्र र उत्तरकुञ्जिका पाठ्यक्रमले तोकेको विशिष्टीकरण तालिका र बोर्डले तोकेको मापदण्डअनुसार तयार गर्नुपर्नेछ । बोर्डले माग गरेको अवस्थामा विद्यालयले उक्त प्रमाण कागजात उपलब्ध गराउनुपर्नेछ ।

(ज) समितिबाट प्रमाणित भए अनुरूपको प्राप्ताङ्कका आधारमा नियमित परीक्षार्थीहरूलाई विद्यालय शिक्षामा अक्षराङ्कन पद्धति कार्यान्वयन कार्यविधि, २०७२ अनुरूप विद्यालयको नाम र प्रतिक चिन्ह (Logo) अङ्कित अक्षराङ्कन पद्धतिअनुरूप अनुसूची ३ मा दिइएअनुसार ग्रेड सिट प्रमाणित गरी उपलब्ध गराउनुपर्नेछ । (ग्रेड, ग्रेड अन्तराल र GPA सम्बन्धी व्यवस्था अनुसूची ४ मा दिइएको छ ।) ।

(झ) विद्यार्थीहरूलाई उपलब्ध गराउने ग्रेडसिटमा बोर्डबाट उपलब्ध गराइएको रजिष्ट्रेशन नम्बर तथा नौ अङ्कको सिम्बोल नम्बर उल्लेख गर्नुपर्नेछ । जसअनुरूप पहिलो अङ्क १, त्यसपछिको चार अङ्क विद्यालय कोड र अन्तिमका चार अङ्क क्रमशः विद्यार्थीको रजिष्ट्रेशन नम्बरअनुसारको क्रममा सिम्बोल नम्बर कायम गर्नुपर्नेछ ।

(ञ) ग्रेड सिटको प्रतिलिपि आवश्यक परेमा विद्यार्थीहरूलाई उपलब्ध गराउनुपर्नेछ ।

(ट) परीक्षार्थीहरूको विषयगत उत्तरपुस्तिका अलग/अलग थैलामा सिलबन्दी गरी कम्तिमा एक वर्षसम्म सुरक्षित राख्नुपर्नेछ।

(ठ) पाठ्यक्रममा अन्यथा व्यवस्था नहुँदासम्म विद्यार्थीहरूलाई कक्षा ११ मा जुन विषय अध्ययन गरेको हो कक्षा १२ मा समेत सोही विषयसँग सम्बन्धित विषय मात्र अध्ययन गर्न लगाउनुपर्नेछ । हाल प्रचलनमा रहेको पाठ्यक्रम संरचनाअनुसारको सम्बन्धित विषय अनुसूची २ मा दिइएको छ । विषय छनौटको आधार पाठ्यक्रम विकास केन्द्रले निर्धारण गरेअनुसार हुनेछ।

(ड) विद्यार्थीहरूको नतिजा अनुसूची १ वा ५ अनुसारको समष्टिगत फाराम दुई प्रति तयार गरी समितिबाट प्रमाणित गराइ एक प्रति राष्ट्रिय परीक्षा बोर्डको सम्बन्धित कार्यालयमा बुझाउने र अर्को प्रति विद्यालयमा अभिलेखको रूपमा सुरक्षित राख्नुपर्नेछ ।

(ढ) विद्यालयले पठाएको विवरण झूठा ठहरेमा सोको कानून बमोजिमको जवाफदेही विद्यालय स्वयम् हुनेछ ।

परिच्छेद ४

परीक्षा तथा प्रमाणीकरण समितिसम्बन्धी व्यवस्था

५ परीक्षा तथा प्रमाणीकरण समितिको गठन : विद्यालयद्वारा सञ्चालन गरिने वार्षिक परीक्षा व्यवस्थापन, सञ्चालन, नतिजा प्रकाशन तथा प्रमाणीकरण गर्न देहाय बमोजिमको समिति रहनेछ :

(क) सम्बन्धित विद्यालय / क्याम्पसको प्रधानाध्यापक/ प्राचार्य अध्यक्ष

(ख) सम्बन्धित कक्षा शिक्षक सदस्य

(ग) विषयगत शिक्षकहरूमध्येबाट प्रधानाध्यापक / प्राचार्यबाट मनोनित शिक्षक सदस्य

६ समितिको काम, कर्तव्य र अधिकार :

(१) परीक्षा तथा प्रमाणीकरण समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :

(क) सैद्धान्तिक तथा प्रयोगात्मक परीक्षाको मूल्याङ्कन गर्दा तपसिलका प्रक्रिया अवलम्वन गर्नुपर्नेछ :

(अ) सैद्धान्तिक मूल्याङ्कन

१. प्रश्नपत्र निर्माण : हरेक विषयका लागि स्वीकृत पाठ्यक्रममा भएको व्यवस्थाअनुसार विशिष्टीकरण तालिका (Specification Chart/Grid) अनुरूप सबै पाठ्यभारलाई समेटने गरी विषय शिक्षक विषय समितिबाट मूल्याङ्कन योजनाअनुसार प्रश्नपत्र निर्माण गराउने । (अनुसूची ६ मा केही विषयहरूको मूल्याङ्कन योजना (Evaluation Scheme) दिइएको छ ।)

२. परीक्षा सञ्चालन : बोर्डले तोकेको मापदण्डअनुसार हरेक वर्षको जेठको तेस्रो हप्तादेखि परीक्षा सञ्चालन गर्ने (परीक्षा सम्बन्धी मापदण्ड अनुसूची ७ मा दिइएको छ ।)

३. उत्तरकुञ्जिका निर्माण : प्रत्येक विषयको प्रश्नमा उल्लेखित हरेक प्रश्नले माग गरेको अङ्कभार अनुसार विषय शिक्षक विषय समितिबाट अङ्कन योजना सहितको उत्तरकुञ्जिका (Answer key with marking scheme) निर्माण गराउने ।

४. विषयगत उत्तरकुञ्जिका अनुसार परीक्षार्थीहरूको उत्तरपुस्तिका परीक्षण गराई अनुसूची ८ अनुसार विषयगत शिक्षकहरूबाट अङ्क प्राप्त गरी तोकिएको अनुसूची १ वा ५ अनुसारको समष्टिगत फाराममा चढाउने।

५. विषयगत रूपमा विद्यार्थीले कुन-कुन ग्रेड प्राप्त गरे, हरेक ग्रेड प्राप्त गर्ने विद्यार्थी संख्या कति छ, स्पष्ट हुने गरी अनुसूची ९ अनुरूप तेरिज बनाउने ।

(आ) प्रयोगात्मक मूल्याङ्कन : विद्यालयहरूले बोर्डद्वारा जारी गरिएको प्रयोगात्मक परीक्षाको प्राप्ताङ्क भर्नेसम्बन्धी निर्देशनअनुरूप सम्बन्धित विषय शिक्षक र वाह्य परीक्षकबाट प्रदान गरिएको अङ्कलाई प्रमाणित गर्नुपर्नेछ । वाह्य परीक्षक आवश्यक पर्ने विषयहरूमा फरक विद्यालयका सम्बन्धित विषय शिक्षकलाई वाह्य परीक्षकमा नियुक्ति गर्नुपर्नेछ । (कक्षा ११ का केही विषयहरूको प्रयोगात्मक परीक्षाको प्राप्ताङ्क चढाउने विवरण अनुसूची १० मा दिइएको छ ।)

(ख) परीक्षार्थीहरूको उत्तरपुस्तिका सम्बन्धित विषय शिक्षकबाट परीक्षण गराई अनुसूची ८ अनुसारको प्राप्ताङ्क विवरण भर्न लगाउने।

(ग) परीक्षार्थीहरूको विषयगत उत्तरपुस्तिका अलग-अलग थैलामा सिलबन्दी गरी कम्तिमा एक वर्षसम्म सुरक्षित राख्ने व्यवस्था मिलाउने ।

(घ) सम्बन्धित विद्यालयले अनुसूची १ वा ५ र ९ बमोजिम विद्यार्थीहरूको मूल्याङ्कन गरी तयार गरेको मूल्याङ्कन विवरण रुजु गरी एकीन गर्ने ।

(ङ) विवरणमा तोकिए बमोजिमको अङ्कभार उल्लेख भए / नभएको रूजु गर्ने र नतिजा प्रकाशन गर्ने ।

(च) विद्यार्थीहरूको नतिजा प्रमाणित गरी एक प्रति राष्ट्रिय परीक्षा बोर्डका सम्बन्धित कार्यालयमा बुझाउने र अर्को ___ प्रति विद्यालयमा अभिलेखको रूपमा सुरक्षित राख्ने ।

२. समितिले प्रमाणित गरी पठाएको विवरण झूठा ठहरेमा सोको कानूनबमोजिम जवाफदेही परीक्षा तथा प्रमाणीकरण समिति हुनेछ।

परिच्छेद ५

राष्ट्रिय परीक्षा बोर्डका प्रदेश/शाखा कार्यालयहरूको काम, कर्तव्य र अधिकार

७ राष्ट्रिय परीक्षा बोर्डका प्रदेश/शाखा कार्यालयहरूको काम, कर्तव्य र अधिकार :

(१) कक्षा ११ को वार्षिक परीक्षाका सम्बन्धमा राष्ट्रिय परीक्षा बोर्डका प्रदेश/शाखा कार्यालयहरूको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछ :

(क) विद्यार्थीले कक्षा ११ मा अध्ययनका लागि छनौट गरेका विषयहरूको रजिष्ट्रेशन गराउने, अद्यावधिक गर्ने र सोको विवरण विद्यालयलाई उपलब्ध गराउने ।

(ख) परीक्षा नियन्त्रण कार्यालयको निर्देशनबमोजिम विद्यालयद्वारा सञ्चालन गर्ने वार्षिक परीक्षाको अनुगमन निरीक्षण गर्ने ।

(ग) विद्यालयद्वारा निर्माण गरिएका प्रश्नपत्रहरू पाठ्यक्रमले तोकेको संरचना तथा विशिष्टीकरण तालिका (Specification Chart/Grid) अनुसार गर्न / गराउन निर्देशन दिने ।

(घ) विद्यालयद्वारा सञ्चालन हुने वार्षिक परीक्षाका लागि आवश्यक पर्ने प्रश्नपत्र तथा उत्तरकुञ्जिका निर्माण, उत्तरपुस्तिका मूल्याङ्कन, नतिजा तयारी तथा प्रमाणपत्र वितरण गर्ने कार्यमा विद्यालयहरूलाई सहजीकरण गर्ने ।

(ङ) कक्षा ११ का सबै विषयमा सैद्धान्तिकतर्फ न्यूनतम डि प्लस (D+) र प्रयोगात्मकतर्फ न्यूनतम सी (C) ग्रेड प्राप्त ___ गरेका विद्यार्थीको मात्र कक्षा १२ को परीक्षा आवेदन स्वीकार गर्ने ।

परिच्छेद ६

८ परीक्षा नियन्त्रण कार्यालयको काम, कर्तव्य र अधिकार :

(१) परीक्षा नियन्त्रण कार्यालयको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछ :

(क) विद्यार्थीले कक्षा ११ मा छनौट गरेका विषयहरूको रजिष्ट्रेशन विवरण अद्यावधिक गर्ने ।

(ख) विद्यालयद्वारा सञ्चालन गरिने वार्षिक परीक्षाको अनुगमन तथा निरीक्षण गर्ने / गराउने ।

(ग) विद्यालयद्वारा निर्माण गरिएका प्रश्नपत्रहरू पाठ्यक्रमले तोकेको संरचना तथा विशिष्टीकरण तालिका (Specification Chart/Grid) अनुसार गर्न गराउन निर्देशन दिने ।

(घ) विद्यालयद्वारा सञ्चालन हुने वार्षिक परीक्षाका लागि आवश्यक पर्ने प्रश्नपत्रको स्तर तथा उत्तरकुञ्जिका निर्माण, उत्तरपुस्तिका परीक्षण, नतिजा तयारी तथा प्रमाणपत्र वितरण जस्ता कार्यमा एकरूपता कायम गर्न/ गराउन विद्यालयलाई सहजीकरण गर्ने ।

परिच्छेद ७

सङ्क्रमणकालीन व्यवस्था

९. सङ्क्रमणकालीन व्यवस्था : यस वर्ष (वि.सं.२०७७) नियमित तथा आंशिक / ग्रेड वृद्धि परीक्षामा सहभागी हुन परीक्षा आवेदन फाराम भरेका विद्यार्थीको हकमा तपसिल बमोजिमको व्यवस्था गरिएको छ :

(१) नियमित परीक्षार्थीको हकमा विद्यालयको थप काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :

(क) राष्ट्रिय परीक्षा बोर्डको सम्बन्धित कार्यालयबाट परीक्षार्थीहरूको प्रवेशपत्र, ट्रिप्लिकेट लगायत अन्य विवरणहरू प्राप्त गर्ने ।

(ख) बोर्डले तोकेको समयावधिभित्र (ढिलोमा वि.सं. २०७८ सालको बैशाख जेष्ठ महिनामा सञ्चालन हुने कक्षा १२ को परीक्षा आवेदन फाराम भर्नुपूर्व) विद्यालयको अनुकूलतामा सामाजिक दूरी कायम गर्न मिल्ने गरी एक दिनमा एक सिफ्ट वा एकै दिन दुई सिफ्टमा फरक विषय वा दुई सिफ्टमा एउटै विषयको परीक्षा सञ्चालन गर्ने । एकै दिन सिफ्टका आधारमा एउटै विषयको परीक्षा सञ्चालन गर्दा फरक प्रश्नपत्रबाट परीक्षा सञ्चालन गर्ने ।

(ग) बोर्डद्वारा जारी गरिएको प्रयोगात्मक परीक्षाको प्राप्ताङ्क भर्नेसम्बन्धी निर्देशनबमोजिम प्रयोगात्मक परीक्षा सञ्चालन गरी प्राप्ताङ्क चढाउने । (केही विषयहरूको प्रयोगात्मक परीक्षाको प्राप्ताङ्क चढाउने विवरण अनुसूची १० मा दिइएको छ ।)

(घ) बोर्डद्वारा प्रदान गरिएको रजिष्ट्रेशन नम्बर र सिम्बोल नम्बर उल्लेख गरी अनुसूची ३ मा दिइए अनुसारको ढाँचामा ग्रेड सिट प्रमाणित गरी उपलब्ध गराउने । ग्रेड अन्तराल, ग्रेड, ग्रेड प्वाइन्ट र ग्रेडको व्याख्या अनुसूची ४ बमोजिम हुनुपर्नेछ ।

(२) आंशिक / ग्रेड वृद्धि परीक्षार्थीको हकमा विद्यालयको थप काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछ :

(क) राष्ट्रिय परीक्षा बोर्डको सम्बन्धित कार्यालयबाट परीक्षार्थीहरूको प्रवेशपत्र, ट्रिप्लिकेट लगायत अन्य विवरणहरू प्राप्त गर्ने ।

(ख) बोर्डले तोकेको समयावधिभित्र (वि.सं. २०७७ सालको कक्षा १२ को वार्षिक परीक्षा सञ्चालन हुनुपूर्व) सामाजिक दूरी कायम गर्न मिल्ने गरी एक दिनमा एक सिफ्ट वा एकै दिन दुई सिफ्टमा फरक विषय वा दुई सिफ्टमा एउटै विषयको परीक्षा सञ्चालन गर्ने । एकै दिन सिफ्टका आधारमा एउटै विषयको परीक्षा सञ्चालन गर्दा फरक प्रश्नपत्रबाट परीक्षा सञ्चालन गर्नुपर्नेछ।

(ग) परीक्षार्थीहरूको उत्तरपुस्तिका सम्बन्धित विषय शिक्षकबाट परीक्षण गराई अनुसूची ८ अनुसारको फाराम (Marks Slip) मा प्राप्ताङ्क भर्न लगाउने ।

(घ) यसअघि नै प्रयोगात्मक परीक्षा सञ्चालन भइसकेको अवस्थामा सोही अङ्क र परीक्षा सञ्चालन नभएको अवस्थामा बोर्डद्वारा जारी गरिएको प्रयोगात्मक परीक्षाको प्राप्ताङ्क भर्ने निर्देशन बमोजिम सामाजिक दूरी कायम गरी प्रयोगात्मक परीक्षा सञ्चालन गर्ने र प्राप्ताङ्क चढाउने । (केही विषयहरूको प्रयोगात्मक परीक्षाको प्राप्ताङ्क चढाउने विवरण अनुसूची १० मा दिइएको छ ।)

(ङ) परीक्षार्थीलाई वितरण गरिएको प्रश्नपत्र, उत्तरकुञ्जिका, विषय शिक्षकद्वारा परीक्षण गरिएको उत्तरपुस्तिका तथा प्राप्ताङ्क विवरण सिलबन्दी गरी बोर्डको सम्बन्धित कार्यालयमा उपलब्ध गराउने ।

(च) बोर्डबाट नतिजा प्रकाशन नहुँदासम्म परीक्षार्थीहरूको प्राप्ताङ्क विवरण गोप्य राख्ने ।

(३) परीक्षा तथा प्रमाणीकरण समितिको थप काम, कर्तव्य र अधिकार

(१) कक्षा ११ को वार्षिक परीक्षामा सम्मिलित हुने ग्रेड वृद्धि / आंशिक परीक्षार्थीको परीक्षा सञ्चालन गरी उत्तरपुस्तिका परीक्षण गराई संपरीक्षणका लागि प्रश्नपत्र, उत्तरकुञ्जिका, उत्तरपुस्तिका र अनुसूची ८ अनुसारको प्राप्ताङ्क विवरण (Marks Slip) बोर्डको सम्बन्धित कार्यालयमा पठाउने ।

(४) बोर्डका प्रदेश/शाखा कार्यालयको थप काम, कर्तव्य र अधिकार

(१) नियमित परीक्षार्थीको हकमा

(क) कक्षा ११ को परीक्षामा सहभागी हुन पाउने विद्यार्थीहरूको रजिष्ट्रेशन नम्बर र सिम्बोल नम्बर सहितको नाम / नामेसी विद्यालयहरूलाई उपलब्ध गराउने ।

(ख) बोर्डको निर्देशनबमोजिम परीक्षा सञ्चालनका समयमा परीक्षाको अनुगमन निरीक्षण गर्ने ।

(ग) प्रश्नपत्र तथा उत्तरकुञ्जिका निर्माण, उत्तरपुस्तिका परीक्षण जस्ता कार्यमा विद्यालयहरूलाई सहजीकरण गर्ने ।

(२) आंशिक / ग्रेडबृद्धि परीक्षार्थीको हकमा

(क) कक्षा ११ को परीक्षामा सहभागी हुन पाउने विद्यार्थीहरूको रजिष्ट्रेशन नम्बर र सिम्बोल नम्बर सहितको नाम/नामेसी विद्यालयहरूलाई उपलब्ध गराउने । विद्यालयद्वारा मूल्याङ्कन भई आएका परीक्षार्थीहरूको उत्तरपुस्तिकाहरू तोकिएबमोजिम संपरीक्षण गराउने।

(ग) उपलब्ध विषय शिक्षकहरूमध्ये वरिष्ठ शिक्षकलाई संपरीक्षकमा नियुक्त गर्ने । संपरीक्षण गर्दा उत्तरपुस्तिका र प्राप्ताङ्क विवरणमा अनिवार्य रूपमा हरियो मसीको प्रयोग गर्न लगाउने ।

(घ) उपदफा (ग) बमोजिम संपरीक्षणपश्चात् कायम भएको अङ्कसहितको प्राप्ताङ्क विवरण (Marks Slip) सिलबन्दी गरी परीक्षा नियन्त्रण कार्यालयमा पठाउने ।

(ङ) प्रयोगात्मक परीक्षाको अङ्क प्रविष्टि गरी परीक्षा नियन्त्रण कार्यालयमा पठाउने ।

(च) परीक्षार्थीहरूको उत्तरपुस्तिकाहरू एक वर्षसम्म सुरक्षित राख्ने ।

(छ) बोर्डद्वारा नतिजा प्रकाशन नभएसम्म परीक्षार्थीहरूको प्राप्ताङ्क विवरण गोप्य राख्ने ।

(५) परीक्षा नियन्त्रण कार्यालयको थप काम, कर्तव्य र अधिकार

(१) नियमित परीक्षार्थीको हकमा

(क) कक्षा ११ को परीक्षामा सहभागी हुन पाउने परीक्षार्थीहरूको रजिष्ट्रेशन नम्बर र सिम्बोल नम्बरसहितको ___नाम / नामेसी बोर्डका सम्बन्धित कार्यालयहरूबाट प्राप्त गरी अद्यावधिक गर्ने ।

(ख) कक्षा १२ को वार्षिक परीक्षाको आवेदन फाराम भर्नुपूर्व कक्षा ११ को परीक्षा सञ्चालन गर्नुपर्ने विषयमा विद्यालयहरूलाई जानकारी गराउने ।

(ग) विद्यालयद्वारा सञ्चालन हुने परीक्षाको अनुगमन तथा निरीक्षण गर्ने गराउने ।

(घ) कक्षा ११ को परीक्षामा सहभागी हुने नियमित परीक्षार्थीले तोकिएको न्यूनतम ग्रेड प्राप्त गरेको छ / छैन तथा अनुसूची २ बमोजिमको विषय छनौट गरे / नगरेको समेत रुजु गरी एकीन भएपश्चात् मात्र कक्षा १२ को प्रमाणपत्र प्रदान गर्ने ।

(२) आंशिक /ग्रेडबृद्धि परीक्षार्थीको हकमा

(क) विद्यालयद्वारा सञ्चालन गरिने परीक्षाको अनुगमन तथा निरीक्षण गर्ने गराउने ।

(ख) संपरीक्षकको नियुक्ति, काम, कर्तव्य र अधिकारका बारेमा बोर्डका सम्बन्धित कार्यालयहरूलाई निर्देशन दिने।

(ग) परीक्षार्थीहरूको उत्तरपुस्तिका संपरीक्षण, अङ्क प्रविष्टिलगायतका कार्यहरू गर्ने गराउने । संपरीक्षण पश्चात् कायम हुन आउने अङ्क मात्र नतिजाका लागि योग्य मान्नुपर्नेछ ।

(घ) दफा ९ को उपदफा ४ (२) को (घ) र (ङ) बमोजिम राष्ट्रिय परीक्षा बोर्डका सम्बन्धित कार्यालयहरूबाटप्राप्त सैद्धान्तिक र प्रयोगात्मक परीक्षाको प्राप्ताङ्क विवरणअनुरूप अङ्क प्रविष्टि गरी रुजु गर्ने ।

(ङ) उपदफा (घ) बमोजिम एकीन भएको विवरण र परीक्षा नियन्त्रण कार्यालयमा रहेको परीक्षा आवेदनमा उल्लिखित विषय अभिलेखसँग मिले | नमिलेको रुजु गर्ने ।

(च) उपदफा (ङ) बमोजिमको कार्य सम्पन्न भएपछि सैद्धान्तिक र प्रयोगात्मक दुवै खण्डको पूर्णाङ्क पाठ्यघण्टा र प्राप्ताङ्क रुजु गरी एकीन गर्ने ।

(छ) अक्षराङ्कन पद्धतितर्फ ग्रेड वृद्धि परीक्षामा सहभागी परीक्षार्थीले प्राप्त गरेको प्राप्ताङ्कलाई विद्यालय शिक्षामा अक्षराङ्कन पद्धति कार्यान्वयन कार्यविधि, २०७२ (संशोधनसहित) बमोजिम रूपान्तरण गर्ने ।

(ज) उपदफा (छ) बमोजिम रूपान्तरित विवरणलाई रुजु गर्ने ।

(झ) अङ्काङ्कन पद्धतितर्फ आंशिक परीक्षामा सहभागी परीक्षार्थीहरूको विषयगत पूर्णाङ्क र उत्तीर्णाङ्क एकीन गरी अङ्कका आधारमा नतिजा तयार गर्ने ।

(ञ) उपदफा (ज) र (झ) बमोजिम रुजु भएको अन्तिम विवरण नतिजा प्रकाशनको लागि बोर्डसमक्ष सिफारिस गर्ने।

(ट) बोर्डबाट नतिजा प्रकाशन भएपश्चात अभिलेख अद्यावधिक गरी ग्रेडसिट/मार्कसिट एवं प्रमाणपत्र उपलब्ध गराउने ।

परिच्छेद ८

विविध

१० बोर्डले प्रकाशन गरेको सूचना बमोजिमको समयावधिभित्र विद्यालय र बोर्डका कार्यालयहरूले रजिष्ट्रेशन, परीक्षा सञ्चालन, प्राप्ताङ्क प्रविष्टि जस्ता कार्यहरू सम्पन्न गर्नुपर्नेछ ।

११ २०७७ सालको कक्षा ११ को वार्षिक ग्रेड वृद्धि / आंशिक परीक्षार्थीको नतिजा प्रकाशनमा प्राविधिक कारणबाट कुनै त्रुटि भएमा वा नतिजा स्थगित भएमा वा नतिजा छुट भएमा सम्बन्धित विद्यालयको सिफारिससहित नतिजा प्रकाशन भएको मितिले तीन महिनाभित्र प्रवेशपत्र र ग्रेडसिट लेजरको प्रतिलिपि संलग्न गरी बोर्डको सम्बन्धित कार्यालयमा निवेदन दिनुपर्नेछ । त्यसरी प्राप्त निवेदन सङ्कलन गरी कार्यालयहरूले परीक्षा नियन्त्रण कार्यालयमा पठाउनुपर्नेछ र परीक्षा नियन्त्रण कार्यालयले अभिलेख अनुसार आवश्यक कारवाही गर्नुपर्नेछ ।

१२ कक्षा १२ को परीक्षामा सहभागी हुनका लागि विद्यार्थीहरूले कक्षा ११ का हरेक विषयको सैद्धान्तिकतर्फ न्यूनतम डि प्लस (D+) र प्रयोगात्मकतर्फ न्यूनतम सी (C) ग्रेड प्राप्त गर्नुपर्नेछ।

१३ परीक्षामा तोकिएको ग्रेड प्राप्त गर्न असमर्थ विद्यार्थीहरूको लागि विद्यालयले ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्नुपर्नेछ ।

१४ कक्षा ११ का विद्यार्थीहरूले स्वीकृत पाठ्यक्रम संरचना अनुसार अध्ययन गर्नुपर्नेछ । हाल प्रचलनमा रहेको पाठ्यक्रम संरचना अनुसूची ११ उल्लेख गरिएको छ ।

१५ विद्यालयबाट परीक्षा सञ्चालन र मूल्याङ्कनका क्रममा प्रयोग भएका प्रश्नपत्र र उत्तरकुञ्जिका पाठ्यक्रमले तोकेको विशिष्टीकरण तालिका र बोर्डले तोकेको मापदण्डअनुसार भए-नभएको सम्बन्धमा बोर्डले अनुगमन गर्न सक्नेछ ।

१६ स्तरीकृत परीक्षा सम्बन्धमा : बोर्डले पाठ्यक्रममा तोकेको विशिष्टीकरण तालिका र पाठ्यक्रममा फरक नपर्ने गरी हरेक विषयहरूमा सूक्ष्म पाठ्यक्रम (Micro Curriculum) तयार गर्न र सोहीअनुसार आइटम मेट्रिक्स (Item Matrix) तयार गरी प्रकाशन गर्न सक्नेछ । १७ यस कार्यविधिको कार्यान्वयनमा कुनै बाधा अड्काउ आइपरेमा बोर्डले बाधा अड्काउ फुकाउन सक्नेछ ।

 

प्रतिकृया दिनुहोस्