नारायण सरहरू

सिकाइ खबर

Byसिकाइ खबर

१० श्रावण २०७७, शनिबार
पेशल आचार्य

कुरा सर्वमान्य छ –जन्मपछि मृत्यु अवश्यम्भावी छ । ठीक त्यस्तै मानिसको बालापन, युवावस्था र वृद्धावस्थाको समेत कुनै विकल्प छैन । मानिसका वशमा न समय छ न प्राकृतिक सत्ता । हरेक पल नयाँ रूपले अविचलित छ । मानिसले चाहेर या नचाहेर पृथ्वी आफ्नो गति छाडेर घुम्न छाड्दैन । न हावाको वेग रोक्न सक्छ । न सूर्यको तेज । चन्द्रमाको शीतलता पनि मानिसको पाइन र तागतले रोक्न सक्ने भए यो संसारमा मानिसकै एकछत्त राज चल्ने थियो ।

यी माथिका शक्तिहरू नभएको स्थितिमा समेत मानिसले संसारमा जुन डंका पिटेको छ त्यसमा सायद् ऊ प्राणीमध्येको बाठो र शक्तिशाली प्राणी भएकै अहम्ले हुनुपर्छ । सबैभन्दा बढी यो धर्तीमा सिकेको मानिसले नै आजसम्म सबभन्दा कम सिकेको अभिनय गरिरहेछ । बुझेर पनि बुझ पचाउँन सक्ने शक्ति मानिसलाई प्रकृतिले दिएको छ । अन्ततः ऊ त्यो शक्तिको दुरुपयोग गर्दैछ ।

एकजना विद्वान्ले भनेकाछन् –‘जीवन सिक्नका लागि हो । हामीले जीवनमा सिकेर सक्दैनौ ।’ शिक्षाविद्हरूले भलिभाँती भनेका छन् –‘शिक्षा कोक्राबाट शुरु भएर चिहानमा अन्त्य हुन्छ ।’ जीवन भनेकै सिक्न र सिकाउनका लागि हो । गत साल हामीलाई तालिम दिन त्रिविका स्वनामधन्य प्रा.डा.मन्थली आए । उनहरूले त्यसबेला भलिभाँती कुराहरू तालिम सन्दर्भमा हामीमा सुझाए । हामीले लियौँ । त्यसबेला उनले अर्को एक अनौठो कुरा हामीमाझ गरेर गए । झट्ट सुन्दा हामीलाई ऊ बेला उनको कुरा त्यति विश्वास भएन तर विस्तारमा मैले सोचेँ । पछि मलाई उनका कुराको राम्रो हेक्का भएथ्यो । तालिममा उनले भनेथे –‘मानिस कसरी सिक्छ ? किन सिक्दैन ? भन्ने कुरा अझै संसारमा अज्ञात छ ।’ उनले बेलायतबाट सन् ८० को दशकमा अङ्ग्रेजी भाषा विज्ञानमा विद्यावारिधि गरेका हुन् । नपत्याऊँ पनि कसरी उनले आफ्नो अध्ययनक्रममा बेलायतमा त्यो कुरा थाहा पाएका रे ! संसारमा यतिविघ्न उन्नति र प्रगतिका कुराहरू भए तापनि मानिसले सिक्ने र नसिक्ने कुरामा भने अझ हाम्रो संसार अन्धाले हात्ती छामेझैं अड्कलबाजी मै सुलुलुलु गरेर घिस्रिरहेको रहेछ । कत्रो भूलमा रहेछौँ हामी । कति नादान रहेछ –सिक्ने र सिकाउने प्रवृत्ति ?

विडम्बना उनको त्यो सूचना हामीमाझ आउँन उनी मन्थलीमा आएर तालिममा प्रसङ्ग चल्दा मात्र उठान भएको हो । संसारमा यति मात्र होइन यस्ता अनेकौँ कुराहरू कति छन् कति जसका न सिङ् पक्रन सकिएको छ न पुच्छरको भेउ ।

मानिस संसारका प्राणीमा अतिविकसित मानिन्छ । उसको मस्तिष्कको तह यति पातलो छ कि ऊ यो संसारका अन्य प्राणीमा अब्बल मानिन्छ । नक्कलै गरेर किन नहोस् मानिसले आजको संसारलाई यहाँसम्म ल्याइपुर्याउन अनेकानेक ठक्करहण्डर खाएर सभ्यताको रिले दौडमा सामेल छ । सृष्टि विज्ञानमा आधारित यो जीव विकासको चक्रलाई नियाल्ने हो भने मानिसभन्दा भीमकाय अरू कति जीवहरू यो संसारमा आएका थिए । छन् । ती सबैमा मानिसको पाइन बलवान् र भिन्न छ ।

‘शिक्षक नै संसारको निर्माता हो’ भनेर अर्का एकजना स्वनामधन्य विद्वान्ले भनेको कुरा म यतिखेर झल्झली सम्झिरहेको छु । बाबुआमाले त सन्तानलाई केवल जन्ममात्र दिने हो । संसारमा आएको त्यो नवीन मानवजीवलाई गुण, सीप र ज्ञानगुनका अनेक विशेषताहरू सिकाउने काम त केवल गुरुले मात्र गर्न सक्छन् । विगतमा गुरु र आचार्य हुँदै अध्यापक र शिक्षकको यात्रामा आएका हामी तमाम संसारका अक्षरकर्मीहरू आम हाम्रा विद्यार्थीहरूप्रति उत्तरदायी भएका छौँ । तिनीहरूलाई शिक्षा दिनमा सततः क्रियाशील छौँ । राज्यले हामीलाई निजामति, प्रहरी र सैनिक सेवाभन्दा सेवा र सुविधामा ठगे पनि हामी हाम्रा कर्म र सेवाका क्षेत्रमा अकण्टक रूपमा लागिरहेका छौँ । हामीलाई न त हाम्रा सेवाग्राहीसँग न कुनै ठेकी कोसेलीको लोभलालच छ, न हामी उनीहरूसँग कुनै प्रकारको घुसै माग्न सक्ने आँट गर्न सक्छौँ ।

हामीलाई थाहा भएको ज्ञान बाँड्न आफ्ना पिरियड र संगीतमय घन्टीको प्रतीक्षा गरिरहेका हुन्छौँ । जब हामीलाई आफ्ना कर्ण विवरमा सुनिने गरी घन्टीका आवाज आइपुग्छ त्यसपछि हामी प्याभलोभीय सिद्धान्तले भनेझैँ स्वतःस्फूर्त रूपमा कक्षा गएर आफूमा ज्ञात भएको, मन मस्तिष्कमा रहेको ज्ञान हाम्रा शिक्षार्थीलाई छनोट र स्तरणका नियम हेक्का गरी दिन्छौँ । हामीलाई ज–जसले हाम्रो निरक्षरबाट साक्षर यात्रामा यात्रारत बनाउँन कम्मर कसेर लागे अनि अक्षरीका कखरामा ल्याएर बानी पारे आज हामी हाम्रा महान् शिक्षकहरूलाई नमन गर्न चाहन्छौँ । एउटा असल विद्यार्थीले उसका आमाबाबुलाई भन्दा उसको भविष्य बनाइदिने ती महान् गुरुहरूलाई बेजोडसँग मान्दोरै’छ जसलाई उहाँहरूको असीम अनुकम्पाले गर्दा नै ऊ वर्तमान समयमा योग्य डाक्टर, इन्जिनियर, प्राध्यापक, प्रशासक, शिक्षक, वकिल, पत्रकार र अन्य क्षेत्रोपक्षेत्रका पेसेवर सफल र असल मानिस भएका हुन्छन् ।

वास्तवमा हामी शिक्षकहरू विद्यालयीय शिक्षाको आन्द्राभुँडी केलाउन सक्ने हैसियतका भइसक्दा पनि आफ्नो भने आर्थिक र व्यक्तिगत हैसियत अन्य पेशाका पेशाकर्मीहरू भन्दा कम भएको अवस्थामा चाहिँ किनकिन हीनताबोधले ग्रसित भएका हुँदा रहेछौँ । ‘निजी विद्यालयमा पस्न सजिलो टिक्न गाह्रो तर सरकारीमा भने पस्न गाह्रो टिक्न सजिलो ।’

जनसामान्यहरू आफ्ना गुरु गुरुमाप्रति कृतज्ञ भएर त्यति वास्ता गर्दैनन् तर उनीहरूले सिरियस भएर सोचेका खण्डमा हरेकलाई आफूले नौ महिने गर्भ बोकेर अथाह प्रशवपीडा सही धर्तीमा ल्याइपुर्याउने आमा र संरक्षणको न्यानो दिने बाबाभन्दा बढी मान्नु पर्ने अवस्था हुन्छ । गुरुको महत्ता बाबु आमापछि सर्वश्रेष्ठ छ । त्यो कमनीय र वन्दनीय त छँदैछ । अनुसन्धेय समेत रहेको छ ।

गएको माघ २१ गते हामीसँगै मन्थली माध्यमिक विद्यालयमा विगत ३२ वर्षदेखि काम गर्दै आउनु भएका हाम्रा अग्रज शिक्षक नारायणप्रसाद सुवेदीको उमेर हदका कारणले अनिवार्य अवकाश भयो । हामीले उहाँको सम्मानमा हार्दिक विदाइ कार्यक्रम राख्यौँ । सो कार्यक्रममा विव्यस अध्यक्ष र सदस्यलगायत सबै शिक्षकहरू र विद्यार्थीहरू ठूलो संख्यामा उपस्थित रहेका थिए । त्यसबेला अनुभूति गर्यौं भने एउटा शिक्षक आफ्नो पेशामा आउँदा जसरी उसको हात रित्तो हुन्छ, पेशाबाट फर्केर जाँदा समेत रित्तै हुँदो रहेछ । दिउँसभरि पढाएर हातमा लागेको चकडस्टरको आलो धुलोमा विदाइ लिँदा नारायण सरका आँखामा अश्रुधारा टप्किएका थिए । कार्यक्रममा जति मनहरू स्वतःस्पूmर्त रूपमा उपस्थित भए सबैका आँखा हिमाली निर्झर झैँ रसाए । एउटा ज्ञानले के गर्वानुभूति भयो भने शिक्षकले आफ्नो कार्यकालमा उत्पादन गरेका विद्यार्थीहरूको असीम माया पाएको छ भने उसलाई विदाइ गर्ने मानिसहरूको खाँचो पर्दो रहेनछ ।

लोकसेवा आयोगमा काम गर्ने एकजना आफन्तले उनको राष्ट्रिय स्तरको कार्यालयमा अर्का एकजना सुब्बा स्तरका कर्मचारीलाई दुई वर्षअगाडि उमेर हदका कारण विदाइ गर्दा जम्मा दुई जनाले विदाइ गरेको कुरा मार्मिक कथाझैँ भनेपछि नेपालको कर्मचारी जगत्मा मुटु नभएका मानिसको जमात मात्रै रहेछ भन्ने लाग्यो । जहाँ तीनचार सय निजामति कर्मचारी काम गर्छन् । त्यस अड्डामा त्यो तहमा मानवताको अकाल भएको कुरा सुनेथेँ । कठै ! सरकारी मानसिकता ।

सानो संस्थामा काम गर्ने आफ्ना अग्रज शिक्षकलाई विदाइ गर्दा भने माला र उपहारको पउल उपस्थिति देख्दा बरू पवित्र माया त शिक्षकलाई विद्यार्थीले गर्दा रहेछन् भन्ने लाग्यो । अबीर जात्रा गरेर घरमै पुर्याइदियौँ । घरमा हामीलाई उहाँ लगायत उहाँका परिवारजनले दिनुभएको सम्मानले के देखायो भने मानिसमा धनको होइन मनको पउल उपस्थिति हुनुपर्दो रहेछ ।

हामीलाई अभिभावकको गुन लगाएका हाम्रा बूढा नारान सर त्यस दिनदेखि स्वूmलमा औपचारिक रूपमा पढाउन नआएपछि निकै नियास्रो लागिरहेको छ । हामी ठट्टा गर्दा उहाँलाई बोल्ने शब्दकोश भन्थ्यौँ । हुन पनि उहाँमा यति धेरै क्षेत्रका ज्ञान अटेसमटेस थिए कि हामीलाई परेका खनखाँचामा उहाँ झट्ट आफ्नो दिमागीशक्ति उपयोग गरी भन्दिने हलुका शैली अनुकरणीय थियो । मीमांशा गर्न सक्ने उहाँको शैलीले अनुज शिक्षकलाई कुराको बोक्रोमा घोक्रो सुकाएर भन्दा चुरोमा पस्ने किसिमको ज्ञान लिनुपर्छ भन्ने शिक्षा प्राप्त भएको छ । औपचारिक रूपमा आई.ए.सम्म मात्र लिनुभएका नारान सरमा भन्न त नमिल्ने हो तर स्नातकोत्तर पढेर पास गरेका मानिसहरूलाई सजिलै चित्त बुझाइदिने सामथ्र्य थियो । ज्ञान किताबका पोथी पढेर होइन व्यवहारका बर्कोहरू ओढेर अनन्त हिउँदबर्खा बिताएपछि मात्र प्राप्त हुने रहेछन् भन्ने गीता ज्ञान मलाई उहाँसँगको संगतले भयो ।

३२ वर्ष अहर्निष काम गरेर सरकारको नियमको परिधिमा बाँधिएर काम गर्न नसक्ने भनी अवकाश गरिए पनि उहाँमा हामी युवा अवस्थाका शिक्षकको भन्दा कुनै मानेमा कम जोश थिएन । उहाँले आफू रिटायर्ड हुँदैछु भन्ने थाहा पाएको दिन साविक झैँ कुनै किसिमको भावभङ्गी नबिगारीकन आफूलाई सुम्पिएको जिम्मेवारीलाई सततः निर्वाह गर्दै सरक्क आफ्नो सेवाबाट निवृत्त हुनुभयो ।

मलाई त्यो बेलुकी किनकिन राम्ररी निद्रा परेन । मैले मेरा सहकर्मी मित्र डी.बी. भुजेल सरसँग कुराकानी गरेँ –‘सर हामी सबैको यस्तै नियति हो । आज मलाई किनकिन नारान सरको नियास्रो लाग्दैछ ।’ बूढा आफ्नो सेवामा रहँदा कहिलेकाहीँ भन्ने गर्थे –‘हामी कहाँ एक–पाँचमा विद्यार्थी पढ्न खोज्छ शिक्षक पढाउँन चाहँदैन अनि छ–दसमा चाहिँ मास्टर लाजैगालै पढाउँन खोज्छ तर विद्यार्थी पढ्न चाहदैँन ।’

उहाँ कहिलेकाहीँ जीवनदर्शन फुरेका बेला यसो भनेर हामीलाई अर्ती दिने गर्नुहुन्थ्यो –‘निजी विद्यालयमा पस्न सजिलो टिक्न गाह्रो तर सरकारीमा भने पस्न गाह्रो टिक्न सजिलो ।’ नारान सरका यस्ता सटिक खालका उक्तिसूक्ति हामीलाई आफ्नो शिक्षण जीवनमा अर्तीपरक माया गरेरै मार्गदर्शन गर्न सक्नेछन् भन्ने मलाई लाग्छ ।

यो लेख उहाँको सम्झनामा हार्दिक भावोच्छलनका साथ सम्झेको मात्र हुँ ।

‘हो, हामी युवाहरू जोश जाँगरका साथ काम गरिरहेका छौँ तथापि नारान सरको जस्तो नियमितता र समय परिपालनलाई जोसुकैले अनुसरण गर्नु पर्ने लागेको छ । मैले विद्यार्थी कालमा यति फूर्तिलोसँग आफ्नो सेवामा दत्तचित्त हुने शिक्षक यसरी कामका सिलसिलामा लागेको देखेको छैन ।’ एक दशकदेखि शिक्षण सेवा गर्नुभएका डी.वी. भुजेल सरले यसरी उहाँको सटिक मूल्याङ्कन गर्नुहोला भन्ने मैले सोचेको थिइनँ ।

वास्तवमा हामी शिक्षकहरू विद्यालयीय शिक्षाको आन्द्राभुँडी केलाउन सक्ने हैसियतका भइसक्दा पनि आफ्नो भने आर्थिक र व्यक्तिगत हैसियत अन्य पेशाका पेशाकर्मीहरू भन्दा कम भएको अवस्थामा चाहिँ किनकिन हीनताबोधले ग्रसित भएका हुँदा रहेछौँ । हुन त यो मानसिकता पुरानो पञ्चायती र बहुदलको मानसिकता होला अब त हामी शिक्षक समेतका आन्दोलनमय लगानीमा यत्रो ठूलो परिवर्तन भई लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ । अब पनि नयाँ संस्कारको निर्माण नगर्ने हो भने नारायण सर र अन्य सरहरूको अवकाशीय द्रवित दिलमा शान्त्वनाको मल्हम लगाउन सकिदैन ।

हामी सबै अनुजका दिल र दिमागमा आदर्श शिक्षकको अमिट छाप छोड्न सफल नारान सरलाई फेरि पनि नमन । के ठेगान ! हामी शिक्षण सेवाको अन्तिम क्षणमा उहाँजस्तो हुन सकौंला या नसकौला ? यतिखेर म रनभुल्ल छु ।

प्रतिकृया दिनुहोस्