कर्मचारी, जनप्रतिनिधि द्वन्द्व !

सिकाइ खबर

Byसिकाइ खबर

१४ श्रावण २०७७, बुधबार
नगेन्द्रराज पौडेल

यतिबेला कतिपय पालिकहरुमा जनप्रतिनिधिहरु र कर्मचारीहरुबीच बेमेलका समाचारहरु छरपष्ट भइरहेका छन् । यसो त राष्ट्रिय राजनीतिमा पनि सचिवहरुले मन्त्रीलाई नटेरेका बग्रेल्ती उदाहरणहरु हाम्रा सामुु छन् । अवकाश हुने बेलाका कर्मचारीसरह परिवर्तन हुनै लाग्दाको अवस्थामा सरकारलाई नसघाउने,नीति तथा कार्यक्रम बिफल बनाइदिने र सरकारलाई बदनामको पगरी गुुथाइदिने चलन हामीकहाँ विगतकै परम्परा हो । तर, अहिले भने स्थानीय तहमा यी दुई शक्तिबीच राम्रै द्वन्द्व देखिएको छ ।

यो त आर्थिक वर्षको अन्त्य भएकोले वर्षदिनभरिको लेनदेन पनि नमिलेको हुन सक्छ । यसैकारण अहिले अख्तियारको नियन्त्रणमा कतिपय पालिकाहरुमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत,लेखासम्बद्ध कर्मचारी, प्राविधिक कर्मचारीहरुसमेत परिरहेका छन् । दोलखाको मुलङु गाउँपालिकाले एउटा विद्यालयको बजेट नै प्रिज बनाएको भनेर त्यहाँ जनप्रतिनिधिबीच नै हात हालाहालको अवस्था देखियो ।रौतहटका केही पालिकाहरुमा प्रमुख प्रशासकीय अधिकृत नै टिक्न नसकी छिटो, छिटो परिवर्तन भैरहेको देखिन्छ । कति पालिकाले सालतमामीका नाममा रात्री भोज गरी बजेट सकेको समाचार र भिडियोहरु आउनेक्रम पनि यतिबैला नै हो ।

अहिले कतिपय पालिकाले लोकसेवामार्फत् संघले पठाएका कर्मचारीहरु आफूलाई आवश्यक नपरेको भन्दै धमाधम फिर्ता पठाउन थालेका छन् । यो शुुुुुुुभ संकेत होइन । कैयौ पालिकामा विषयगत शाखाहरु नै अपुर्ण छन् । शिक्षाजस्तो दैनानुदिन आवश्यक पर्ने शाखामा समेत कर्मचारीविहिनताको अवस्था छ । अचम्म त कतिसम्म छ भने विषयगत शाखाका प्राविधिकहरुले अहिले कैयौ महानगरका वडामा सचिवको काम धानिदिनुपरेको छ । समायोजन, समायोजनमा संशोधन र फेरि समायोजनका नाममा आएका कर्मचारीहरु धमाधम घरपायक खोज्न र बँचेका कर्मचारीहरु राजनीतिक नेतृत्वसँगको बेमेलका कारण सरुवा माग्ने प्रवृत्ति बढ्दो छ । खासगरी संघीय सरकारअन्तर्गत कर्मचारीवृत्तमा रमाइरहेका कर्मचारीलाई स्थानीय जनप्रतिनिधि मातहत काम गर्न अप्ठेरो परेको तथा आफूस्वतन्त्र हुन नपाइएको कारण पनि कर्मचारीहरु स्थानीय तहमा सकेसम्म जान नचाहेका हुन् ।

सन्तुलन मिलेन
भनिन्छ राजनीति र प्रशासन एकसिक्काका दुुईपाटा हुन् । एउटाको अभावमा अर्कोले गति लिन सक्दैन । जनसेवाका लागि यी दुुबैबीच सन्तुलन, सहकार्य र समन्वय जरुरी छ । यसैले होला संस्थागत मेमोरीसमेतका कारण प्रशासनिक संयन्त्र स्थायी सरकारका रुपमा संसारभर चिनिन्छ । जनप्रतिनिधिहरुको संस्था अविछिन्न भएपनि आवधिक निर्वाचनका माध्यमबाट गठन हुने हुँदा स्थायी मानिदैन । राजनीतिक नेतृत्वसँग निहितशक्ति र प्रशासनिक नेतृत्वसँग निहित विज्ञताको संयोजनबाट नै सुशासन देखिने हो । पहिलोसँग शक्तिको उन्माद र दोस्रोसँग विज्ञताको दम्भ देखियो भने सुशासन देखिदैन । दक्षिण अफ्रिकी नेता नेल्सन मण्डेलाले संकटको बेला अग्रपङ्तिमा उभिएर जनतालाई मार्गदर्शन गर्नसक्नेक्षमतावान् व्यक्ति नै नेता हो भनेका थिए। यो गुण हाम्रा अधिकांश नेतामा देखिदैन , न त दम्भविनाका कर्मचारी नै देखिन्छन् । यसैकारण यी दुुई शक्तिबीच बेला बेला मनमटुाव, वैमनष्य र टकराव उत्पन्न भैरहन्छ ।

उदाहरणीय पक्ष
मरिचमानसिंहजस्तो पुरानो राजावादी नेता जन्माएर पनि सल्यानले भौतिक वकास त्यति गर्न सकेको थिएन । म त्यहाँ २०५३ र २०६७सालमा दुइपटक शिक्षा कार्यालयमा बसें । पहिलोपटक अफिसरका रुपमा र अर्कोपटक जिल्ला शिक्षा अधिकारीका रुपमा । पहिलोपटक बस्दा नेपाल बैंक लिमिटेड बसेको घर मरिचमानको हो भन्थे । म दोहोर्याएर उनको घर हेरेको छु । पुर्व प्रधानमन्त्री, राष्ट्रिय पञ्चायतका अध्यक्षको घर कस्तो होला ? निकै कौतुहलता थियो । सामान्य लाग्यो । उनको त्यो बेला एउटा दल थियो । दलका कार्यकर्ताहरु २,४ जना उनका जिल्लामा पनि हुने नै भए/ थिए जिल्लामा । तर अहँ, कहिल्यै कसैले कुनै पनि कुरामा दबाब दिएको थाहा भएन ।

दोस्रोपटक म जिल्ला शिक्षा अधिकारीको हैसियतमा थिएँ । मरिचमान त दिवंगत भैसकेका थिए । तर माओवादीलगायत् अन्य दलहरु सशक्त थिए । तर त्यहाँको एउटा संस्कार कर्मचारी र राजनीति मिलेर जानुपर्छ भन्ने थियो । पुर्व शिक्षा राज्यमन्त्री राजेन्द्रशहादुुर शाहदेखि माआवादी नेता टेकबहादुर थापा(संविधानसभा सदस्य) समेत नयाँ कार्यालय प्रमुखलाई उसकै कार्यकक्षमा गएर बधाइ दिन्थे । सफल कार्यकालको शुुभकामना दिन्थे । आज पनि कतिपय जिल्लामा कार्यालय प्रमुख जाँदा नेताहरुसँग आफैले समय मागेर फोनमा म आएँ हजुर भनेर जानकारी गराएपछि निजको घरमा गएर स्वस्ती गर्नुपर्ने चलन छ । भेटन आएन भने उनीहरुले इबी साँध्ने गर्छन् । मनाङमा त मिथेवाका अगाडि उसलाई नसोधि घोडामा चढेर जान समेत पाइदैन्थ्यो । तर सल्यान यस मामिलामा अपवाद नै थियो । प्रकाश ज्वालाजस्ता तत्कालिन एमालेका केन्द्रीय नेताहरुसमेत कार्यालय प्रमुखको सम्मान गर्थे । यसको ठीक उल्टो थियो रौतहट । त्यहाँ शिक्षा अधिकारी भएर गएपछि मलाई मन्त्रालयका उच्च पदस्थ कर्मचारीहरुले फलाना,फलाना नेतालाई भेटनुु, म आएँ है हजुर भन्नु , नत्र पछि अप्ठारो पार्छन् भनेर सिकाउँथे ।

स्वाभिमानको उदाहरण
सल्यानमा राहत कोटा वितरण गर्नुपर्ने अवस्था आयो । त्यो बेला निर्वाचित निकाय थिएन । यसैकारण स्थानीय राजनीतिक संयन्त्रमा विषय लगेर टुुङ्ग्याउँने परम्परित चलन सल्यानमा मात्र नभएर अन्यत्र पनि थियो । जिल्ला शिक्षा अधिकारीको कार्यकक्षमा पहिलोपटक सर्वदलीय बैठक आयोजित थियो । सबै दलबाट सहभागी आए । एउटा दलबाट आइपुुगेनन् । एकजना नेताले व्यग्य गर्दै भने‘ सर यो भन्दा पहिला पहिला त जिशिअ सापले ल भैगो, त्यो पार्टी नआएपनि बैठक गरौं । सबैपार्टीबाट तपाईंहरु आइहाल्नुभयो । त्यो पार्टीको प्रतिनिधित्व मै गर्दिउँला भन्नुहुन्थ्यो’ भने । मैले पनि ‘हुन्थ्यो तर मेरो विचारको प्रतिनिधित्व यहाँ भैसकेजस्तो छ’ भनिदिन्थे । बैठकमा हाँसोको फोहरा छुट्थ्यो । पुरा कर्मचारी मैत्री नेता, नेतामैत्री कर्मचारी । मेरो अनुुभवमा अनुपम थियो सल्यान । कसैसँग कोही डराउनुनपर्ने ।

बैठकमा चिया आयो । कार्यालय सहयोगी दिनेश भाइले ढोकाबाट पसेर चियाको किस्ती सरासर मेरो टेबुलमा ल्याउन खोजे । अर्का एकजना नेता, पार्टी प्रतिनिधिले दिनेशलाइ भने,‘ ए भाइ तिमी ढोकाबाट पस्दासाथ हामी यतिका मान्छे यता छौं देखेनौ ? तर चिया सरासर पहिला हाकिमको टेबुलमा लान्छौं । यो मिलेन । पहिला नजिकमा जो छ, त्यसैबाट बाँडदै बाँडदै जानु । हामी सब तिम्रा हाकिमका पाहुुँना नै हौ । पहिला हाकिमलाई दिनैपर्छ भन्ने छैन’ । दिनेशले अलि शर्माएझैं गरेर मलाई हेरे । मैले‘ एकदम ठिक हो भाइ अबदेखि त्यसै गर्नु’ भनें । त्यो दिनदेखि हामीले चियामात्र होइन खाजा पनि नजिककोबाट बाँडदै जाने अभ्यास चलायौ ।

सल्यानमा त्यो बेला माओवादी, एमाले, संयुक्त, जनमोर्चालगायतका कम्युनिष्ट निकट पार्टी पनि धेरै नै थिए । मलाई खुल्दुली लाग्यो । यसरी सबैलाई समान ठान्ने कुनचाहिं कम्युनिष्ट पार्टीका प्रतिनिधि होलान् ? एकछिन पछि परिचय हुँदा थाहा भयो, उनी त पुर्व जिविस सभापतिसमेत भैसकेका, नेका सल्यानका पार्टी अध्यक्ष धु्रव पुरी रहेछन् । समानता कम्युनिष्टको मात्रै नारा रहेनछ । कांग्रेसभित्र पनि त्यस्ता पात्र रहेछन् मैले थाहा पाँए । पुरै देव गुरुङकै शैली उनमा पाएँ ।

देव गुरुङ यसकारण कि, म २०६६ सालमा मनाङ्मा जिल्ला शिक्षा अधिकारी थिएँ । उनी स्थानीय विकास मन्त्री । म काठमाडौं जाँदा पहिलोपटक मन्त्री क्वाटर देखेकै उनैको निवास थियो । एक दिन साँझको खाना खायौं उनकै निवासमा । सामान्य चामल, कर्कलाको तिहुन, दाल हाम्रो खाना थियो । मैलेभन्दा उनले छिटो खाना सके । खाएको भाँडो उठाए, बेशीनमा लगेर आफैले सफा गरे, अर्थात् माझे । सरल, त्यागी र निष्ठावान् कम्युनिष्ट नेताको पर्याय रहेछन् देव गुरुङ मैले पहिलोपटक अनुुभूति गरें । मन्त्रीले भाँडा माझेभन्दा अरुले त के स्वयम् उनकै दल माओवादीले पनि आजकल पत्याउन मान्दैनन् । तर अचम्मको व्यवहार थियो उनीसँग । कहिल्यै गृह जिल्लाको शिक्षा अधिकारीलाई यो काम गर भनेर प्रेसर दिएनन् । नगरेकोमा किन भएन यो काम भनेर प्रश्न गरेनन् ।‘ नियम अनुसार गर्नुहोला ’उनले मलाई यत्ति मात्र भन्थे ।

आज न नेतामा सादगीपना छ न कर्मचारीमा आदर भाव । भैसीदेखि जोगी डराइ र जोगीदेखि भैंसी डराइको अवस्था छ । एकअर्काबीच सहयोग र समन्वय छँदैछैन भने हुन्छ । सूचना, सल्लाह, जानकारी र संस्थागत सम्झनाको स्रोत कर्मचारी तन्त्र भएपनि अन्ततः तिनीहरुको कार्य सम्पादनका आधार र कार्यक्षेत्र भने राजनीतिले निर्धारण गर्ने चिज हो । यसर्थ कर्मचारीले राज्यका तर्फबाट नागरिक सेवा वितरण, व्यवस्थापन गर्न र राजनीतिले सर्वसाधारणको भावना, मुखरित गर्न चुक्न हुँदैन । कर्मचारी वर्ग पनि काम नगर्ने, गरेजस्तो देखाउने, सुविधामा रमाउने तथा नियम, कानुन देखाएर कामलाई परिणाममाभन्दा प्रक्रियामा लगेर जाम गरिदिनेजस्ता आरोपबाट मुक्त हुन जरुरी छ ।

कर्मचारीसँग नेतालाई विगतमा फुटपाथमा हिडेको वर्ग, हामी पढेर लोकसेवामा दरो खारिएर आएको वर्गसँग तुलना नै हुन सक्दैन भन्ने दम्भ छ । नेतालाई विगतमा खाइपल्केको वर्ग, अटेरी जमात,भन्ने पुर्वाग्रह छ । मेरै पालामा ठिक पार्नुपर्छ भन्ने सोच देखिन्छ । यसैकारण यी दुुईवर्गबीच कतै मन भाँचिएको छ, कतै तन नै भाँचिएर छरपष्ट देखिएको छ । यो अवस्थामा सुधार नआएसम्म जनताका दैनानुदिनका समस्या भने उस्तै रहनेछन् ।

प्रतिकृया दिनुहोस्