पुस्तक समीक्षा: सिकाइ र सहयोग नामक पुस्तक पढेपछि

सिकाइ खबर

Byसिकाइ खबर

१४ श्रावण २०७७, बुधबार


शिक्षा क्षेत्रलाई कर्मथलो बनाएका लेखक खगराज बरालको २०७६ सालको अन्त्यमा प्रकाशित भएको सिकाइ र सहयोग नामक पुस्तक आद्योपान्त पढेँ । यस अगि लेखकको बजारमा आएको सिकाउने शैली पनि पढ्ने अवसर पाएकी थिएँ । लेखक आफै सरकारको शिक्षा प्रशासनमा लामो समयसम्म काम गर्दाको अनुभव यी दुवै पुस्तकमा पाएँ । वर्तमान समयमा पनि नेपाल सरकारको सचिव पदमा कार्यरत बरालको सिकाइ र सहयोग पुस्तक कोभिड–१९ को बन्दाबन्दीको समयमा प्रकाशित भएको हो । बन्दाबन्दीको समयमा यो पुस्तक नै पढ्ने अवसर हुँदा मलाई नवीन अनुभूति गरायो । डिमाइज आकारमा छापिएको २४१ पृष्ठ लामो पुस्तकमा विभिन्न शीर्षकहरू राखिएका पच्चीस ओटा अध्यायहरू छन् । यो पुस्तकमा समावेश भएका विषयहरू खासगरी मानिसहरूले आफ्नो जीवनको कुनै न कुनै समयमा भोगेका वा भोगिरहेका तर हेक्का नगरिएका विविध विषयहरू छन् । पुस्तकमा विषय बनाइएका जस्ता घटनाहरू मानिसहरूले भोगिरहेका नै हुन्छन् तर त्यस्ता घटनाहरू माथि किन कसरी जस्ता प्रश्नहरूमा मनन गरी गहिराइसम्म पुग्दैनन् ।

धेरै जसो मानिसहरू त्यस्ता कुराहरू भोग्छन् अनि बिर्सन्छन् । तर लेखकले आम मानिसहरूको मानसिकता भन्दा अलि अगाडि बढेर आफ्नो जीवनमा भोगिएका स—साना घटनाहरूलाई थुङ्गा बनाएर यो पुस्तकरूपी माला तयार गरेका छन् भन्ने कुरा पुस्तक पढेपछि स्पष्ट हुन्छ । पुस्तकमा समावेश भएका अधिकाशं कथाहरूको विषयवस्तु, स्थान, समय, पात्र, परिवेश र अन्य प्रसङ्गहरू सबै यथार्थ घटनामा आधारित भएको कारण लेखकले आफ्नो पेसागत कार्यको शिलशिलामा आफ्नो दैनिक सम्पर्कमा आएका व्यक्ति वा घटनाहरू र कतिपय बाल्यकालका सम्झनालाई टिपोट बनाएका छन् । सोहीकामबाट यो पुस्तकमा तयार भएको हो भन्ने कुरामा विश्वस्त हुन सकिन्छ । टि.डि. जेक्सको प्रसिद्ध भनाइ छ, ‘द वल्र्ड इज अ युनिवर्सिटी एन्ड इभ्रिवान इन इट इज अ टिचर । मेक स्योर ह्वेन यु वेक अप इन द मर्निङ, यु गो टु स्कुल’ औपचारिक वा अनौपचारिकरूपमा बालकदेखि वृद्धसम्म सबैले प्रत्येक दिन केही न केही सिकिरहेकै हुन्छन् र सिकाइरहेकै हुन्छन् । त्यसैले व्यक्ति सँधै एक दृष्टिकोणले सिकारु र अर्को दृष्टिकोणले गुरु पनि हो । यस पुस्तकमा समावेश भएका विभिन्न पाठहरू मार्फत् लेखकले व्यक्तिगतरूपमा के शिक्षा ग्रहण गरे र सो को आधारमा समाजका लागि पनि मार्गदर्शन दिएका छन् ।

धेरै जसो मानिसहरू त्यस्ता कुराहरू भोग्छन् अनि बिर्सन्छन् । तर लेखकले आम मानिसहरूको मानसिकता भन्दा अलि अगाडि बढेर आफ्नो जीवनमा भोगिएका स—साना घटनाहरूलाई थुङ्गा बनाएर यो पुस्तकरूपी माला तयार गरेका छन् भन्ने कुरा पुस्तक पढेपछि स्पष्ट हुन्छ ।

पुस्तकमा उल्लेख भएका विषयहरूमा बालअधिकार सम्बन्धी पहिलो पाठमा बालबालिकाले पनि आफूलाई वयस्क जस्तै स्वाभिमान र अस्तित्व भएको मानिस जस्तो व्यवहार मन पराउँछन् । विशिष्ठ पाहुनाहरूको स्वागतका लागि बालबालिकालाई घण्टौसम्म घाम/पानीमा उभ्याएर राख्ने, ताली बजाउन प्रयोग गर्ने, बालिकाहरूलाई पञ्चकन्या बनाएर भद्दा पोशाक, शृङ्गार गरिदिने र अतिथिलाई माला वा पुष्पगुच्छा आदि दिन लगाउने कुरा बालबालिकालाई प्रयोग गरिएका विषय हुन् । लेखकको बालअधिकारका लागि लेखेको शीर्षक पढेपछि मैले पनि आफ्नो छोराछोरीको बाल्यकाल सम्झिएँ । एकपटक बाबुआमा छोराछोरीसहित मेरो परिवार बसमा यात्रा गरिरहेका थियौं । बसको सहयोगीले सोधे, ‘तपार्ईंहरू कति जना ?’ मैले भनें, ‘हामी तीन जना’ । उनले प्रति प्रश्न गरे, ‘को–को ?’ छोरीले आफ्नो भाडा नतिरिएको र आफूलाई परिवारको सङ्ख्यामा पनि नगनिएकामा विद्रोह गरिन् ।

त्यस पछिका दिनहरूमा मेरी तीन वर्षकी छोरी निकै चनाखो हुने गर्थिन् । काखमा बसेको दुध पिउने सानो बच्चाका लागि बसमा भाडा तिर्न पर्दैन भन्ने कुरा छोरीलाई बुझाउन मलाई धेरै समय लाग्यो । यो शिक्षा उसले आफ्नो घरमा प्रयोग नै गरिन् । एक पटक मेरो घरमा बहालमा बस्ने जोडीको बच्चा जन्म्यो । हाम्री छोरीले भनिछन्, ‘तपाईंहरू ढुक्क हुनुहोस् यो बच्चा हाम्रो घरमा बसेको भाडा लाग्दैन किनकि यो सानो छ ।’ उसको एउटा प्रश्नको समाधान त भयो तर उसको अर्को प्रश्नको उत्तर अहिले पनि मैले दिन सकेको छैन । उसको यो प्रश्न गरेकी थिइन्, ‘यदि बच्चाहरूको भाडा लाग्दैन भने बच्चाहरू मात्र राखेर दिनभरि चलाएको स्कुल बसले भाडा लिन पाउँछ कि पाउँदैन ?’ तराईमा चलेका पर्दा प्रथा, लैङ्गिकता र व्यवहारपयोगी सीप, लैङ्गिक पक्ष र परिवेश, लैङ्गिकता र जापानी परिवेश आदि जस्ता विषयहरू समेटेर समाजमा रहेका लैङ्गिक विभेदका कुराहरूलाई लेखकले राम्रोसँग उजागर गरेका छन् । लेखक सरकारी कर्मचारी भएकाले काज भ्रमणमा जिल्लातिर जाँदा अधिकांश सरकारी कर्मचारीहरूको मनस्थिति कस्ता हुन्छन् भन्ने कुरा ‘बानी त कस्तो राम्रो’ भन्ने शीर्षकमा उल्लेख भएका छन् ।

खानपान र हाम्रो चलन शीर्षकले विगतमा ब्राह्मण परिवार भित्रका चुलो चौकाका नियमहरूको विषयमा उल्लेख गरेको छ । ती नियमहरू अहिलको कोरोना महामारीको अवस्थामा कति सान्दर्भिक रहेछन् भन्ने पनि बुझ्न सकिन्छ । निम्ता र चार प्रकारका निम्तालु शीर्षकको पाठ निकै जीवनोपयोगी छ । खुवाएर पनि जस नदिने निम्तालु र आडम्बरका लागि भएपनि हैसियत र आवश्यकताभन्दा अधिक पाहुनाहरूलाई निम्ता गर्ने र गरी पुर्याउन नसक्ने विषय हाम्रो समाजका लागि ब्यङ्ग्य र शिक्षा दुवै हो । पुर्खाको विश्वासमा सहोदर दाजुभाइ वा खासगरी पुरुषहरू एउटै साधनमा यात्रा नगर्ने हाम्रो परम्परागत चलन छ । खासमा यो विश्वास एकातिर अन्धविश्वास जस्तो लाग्ला तर हाम्रो जस्तो देशमा जहाँ स्तरीय सडक छैनन्, वर्षै पुराना गाडीहरू बिना मर्मत चल्ने गर्दछन् । बसहरू रात्री बसको रूपमा चल्छन्, ४/५ वर्षपछि पुराना भएका बसहरू दिउँसोमा चल्ने बस बनाइन्छ । त्यही बस कवाडी भएपछि कच्ची बाटोतिर चल्ने लोकल बनाइन्छ जहाँ सिट बीस भए भिड सौ तकको भने जस्तो हुन्छ । अनि यस्तो अवस्थामा दुर्घटना हुने जोखिम बढ्नु स्वभाविकै हो । कम्तीमा घरमा किरिया गर्ने मान्छे बाच्नु पर्दछ र वंशबीजनै नासिने गर्नुहुन्न भन्ने भित्री मनसाय एउटै बसमा यात्रा नगर्नु हो । यो त नेपालको सडक माथिको व्यङ्ग्य र अहिलेको लागि हाम्रो आवश्यकता पनि हो ।

नाता सम्बोधन भन्ने शीषकले अप्रत्यक्षरूपमा नेपाली समाजमाथि युरोप केन्द्रित आधुनिकताको प्रभाव जस्तो निकै गहन विषयलाई उठान गरेको छ । ‘हामी (नेपाली) कहिल्यै उपनिवेश भएनौं’ भन्ने वाक्य पटक–पटक दोहोर्याएर तेहेर्याएर भनिदै र सुनिदै आएको हो । भन्नेहरूले ख्याल गरेका हुँदैनन्/छैनन् कि युरोप केन्द्रित आधुनिकताले अहिले आएर हामीलाई पूर्णतः उपनिवेश बनाइसकेको छ । हामीलाई अङ्ग्रेजी बोल्ने मान्छे जान्ने सुन्ने र ठूलो लाग्ने गरेको छ । यो रोगको उपचार गर्न निजी विद्यालय खुलेका छन् । बाबुआमाले ममी ड्याडी भनाउन आफ्नो कमाईका ठूलो प्रतिशत खर्च गरेर छोराछोरी निजी विद्यालयमा अङ्ग्रेजी सिक्न पठाए । त्यसैले निजी विद्यालयले नेपाली बोल्नेलाई लौरो लगाएर अङ्ग्रेजी बोल्न लगायो ।

पुस्तकले पूर्वीय दर्शनमा संस्कृत भाषाको प्रयोग र महत्वको बारेमा कोट्याउने प्रयास गरेको छ । हाम्रो संस्कार, परम्परा धार्मिक ग्रन्थ र नेपाली लगायत धेरै भाषाको जननी भाषा संस्कृत हो । जब यो मर्छ हाम्रो संस्कृति मर्छ । आधुनिकताले हाम्रो भाषामा, संस्कृति, पहिरन, खानपान, बोलचाल आदि धेरै विषयमा अतिक्रमण गरेको छ । टाई सुट लगाउनेहरूले टोपी लगाउनेहरू, दौरा सुरुवाल लगाउनेहरूलाई पाखे देख्छन् । यो आधुनिकताले समाजमा पारेको प्रभाव हो ।

अनि बालाई ड्याडी आमालाई ममी नभनेर के भनुन् त बच्चाहरूले ? हामीले त्यही सिकायौं त बच्चाहरूले के सिकुन् ? अङ्ग्रेज जस्तै देखिन खोज्नु हाम्रो शिक्षा पद्धति नै गलत बाटोमा छ भन्ने एउटा उदाहरण हो । बाबालाई ड्याड र आमालाई ममी भन्ने कुरा पनि युरोप केन्द्रित मानसिकता हो । टाई सुट, कुर्ता सुरुवाल नेपाली पहिरन होइनन्, कुर्चीमा बसेर टेबलमा थाल राखीचम्चाले खाना खाने चलन हाम्रो होइन, जन्म दिनमा केक काटेर बत्ती निभाउने चलन हाम्रो होइन, हात मिलाउने चलन हाम्रो होइन । हाम्रो चलन के हो भन्ने कुरा हाम्रो खानपान र सामाजिक व्यवहारमा भन्ने शीर्षकमा उल्लेख छ । पुस्तकले पूर्वीय दर्शनमा संस्कृत भाषाको प्रयोग र महत्वको बारेमा कोट्याउने प्रयास गरेको छ । हाम्रो संस्कार, परम्परा धार्मिक ग्रन्थ र नेपाली लगायत धेरै भाषाको जननी भाषा संस्कृत हो । जब यो मर्छ हाम्रो संस्कृति मर्छ । आधुनिकताले हाम्रो भाषामा, संस्कृति, पहिरन, खानपान, बोलचाल आदि धेरै विषयमा अतिक्रमण गरेको छ । टाई सुट लगाउनेहरूले टोपी लगाउनेहरू, दौरा सुरुवाल लगाउनेहरूलाई पाखे देख्छन् । यो आधुनिकताले समाजमा पारेको प्रभाव हो ।

यात्रा गर्दा चाहिने न्युनतम आवश्यकताका सामानहरू आफै बोकेर हिड्ने, पोशाक मिलाएर लगाउने, सात्विक भोजन गर्ने लेखकका व्यक्तिगत बानी हुन् । डबल बबल गम, नौली हजुरआमाको सम्झना, लाहुरेका चिठी पत्रहरू वाचन गरिदिने र लेखिदिने, लेखकका बाल्यकालका स्मरण हुन् । किफायत गर्ने तरिका, क्षतिपूर्तिदावीमा तानसेनको संस्कारित घटना, आनुवंशिकताको प्रयोग, साङ्केतिक भाषाको मर्म, आचरण र व्यवहार जस्ता विविध विषय लेखकले गरेका अनुभव हुन् । दारी पालेर वयस्क अनुभवी देखिन परेको, केटो सर, केटौले हाकिम लेखकले कलिलै उमेरमा उच्च तहको अधिकार प्राप्त गरेको द्योतक हो ।

अन्त्यमा, पुस्तक पढ्दै जाँदा पाठक आफै पुस्तकभित्र हराउँछ र आफ्नै भोगाईको स्मरण गरिदै ओहो यस्तो त मलाई पनि भएको थियो भन्ने सम्झना हुने र मनमनै आफ्नै घटनाहरू सम्झेर हाँसो लागेर आउने अवस्थामा पुग्छ । छोटा छोटा विषयहरूमा लेखिएको कारण यो पुस्तक समातेपछि छिचोलेरै छोड्न मन लाग्ने अवस्थामा पुँर्याउछ भन्ने मैले अनुभव गरेको छु । समग्रमा यस पुस्तकले नेपालीहरू चलन, मानसिकता, आर्थिक अवस्था, परम्परा आदिको बारेमा प्रतिबिम्बित गरेको छ । सिकाइ र सहयोगनामक पुस्तकमा लेखक आफ्नो विषयवस्तुलाई अत्यन्त रोचकतापूर्वक सरल भाषामा प्रस्तुत गरेका छन् । यो पुस्तक सबै उमेर समूहका पाठकका लागि पठनीय छ र हरेक व्यक्तिका लागि सङ्ग्रहनीय छ ।

लेखक त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा बौद्ध अध्ययन केन्द्रीय विभागमा प्राध्यापनरत हुनुहुन्छ ।

प्रतिकृया दिनुहोस्