जनै पुर्णिमाको सांस्कृतिक महत्व

सिकाइ खबर

Byसिकाइ खबर

१८ श्रावण २०७७, आईतवार
शरद कुमार पौडेल

हिन्दू धर्मावलम्विहरुको लागि श्रावण शुक्ल पूर्णिमा एक महत्वपुर्ण दिन हो । यस दिनमा धेरै चाडहरु पर्दछन् र सबै चाडहरुको समष्टिगत रुप नै जनै पूर्णिमा अर्थात् रक्षा बन्धन हो । वैदिक साधनामा लागेका सबै देवता, ऋषिहरु र आफ्ना पुर्वजहरुलाईसमेत स्मरण एवम् पुजा गरि विधिपुर्वक रक्षा सुत्र (जनै) मन्त्रण गरी लगाइने हुनाले यस दिनलाई रक्षा बन्धन अर्थात् जनै पुर्णिमा भनिएको हो ।

यस दिनमा बिहान सबेरै जलाशयमा गई हेमाद्री सङ्कल्प गरिन्छ । जसमा संसारभरिका नदिनाला र दिपहरुको स्मरण हुन्छ । यसो गर्दा (आध्यात्मिक, आदिभौतिक तथा आदिदैविक जस्ता) त्रितापहरु शान्त हुने आम विश्वास रही आएको छ । यसलाई महाँसङ्कल्प पनि भनिन्छ । योगी नरहरीनाथले देवभूमी भारत एवं आध्यात्मिक नेपालनामक पुस्तकमा भारत वर्ष भरिका नदिहरुको नाम वर्णक्रमानुसार रोचक ढंगले प्रस्तुत गर्नुभएको छ ।

यस दिनमा गरिने प्रमुख धार्मिक सांस्कृतिक कृयाकलापहरुलाई मुख्य गरी ३ भागमा वर्गिकरण गर्न सकिन्छ । जस मध्य पहिलो श्रावणी स्नान, दोस्रो देव, ऋषि एवम् पितृतर्पण, तेस्रो जनै, रक्षासुत्र मन्त्रणा र रक्षा बन्धन । श्रावणी स्नानदेखि स्वपितृतर्पण सम्मका कार्यहरु नदी, खोला, तलाउ जस्ता जलासयमा सम्पन्न गरिन्छ भने देव, ऋषि एवम पितृतर्पण, श्राद्ध जस्ता कार्यहरु जनै मन्त्रण गर्ने ठाउँमा र जनै लगाउने, रक्षासुत्र बाध्ने कामसबैले आ–आफ्ना घर घरमा सम्पन्न गरिन्छ । यस दिनको अगावैश्रावण शुक्ल चर्तुदशीका दिन बैदिक मन्त्र प्राप्त गरिसकेका अर्थात् ब्रतबन्ध गरिसकेका पुरुषहरुले दाह्री कपाल काटी, स्नान गरी एकछाक खाई एक भक्त भई बस्ने र भोलिपल्ट पूर्णिमाको दिनमा आवश्यक पर्ने भस्म, सप्तमृतिका जौ, तिल, कुश, अपमार्ग दूबो आदि जोरजाम पार्ने चलन पनि छ ।

श्रावणी स्नानका प्रकारहरु
१. मृतिका स्नान
विभिन्न सात ठाँउको माटो जम्मा गरी शरीरमा लेपन गरी गरिने स्नानलाई मृतिका स्नान भनिन्छ । हात्तिका पाउको माटो, घोडाका टापको माटो, रथका पाङ्ग्राको माटो, राजद्वारको माटो, तलाउको माटो, देवलगारीको माटो (कमलकोटीको माटो), र गाईका गोठको माटो सप्त मृतिकामा पर्दछन् । एनत्व खननी… मन्त्रले माटो खनी (झिकी) सप्तमृतिका एकै ठाउँमा गरी वा पृथक पृथक ३ भाग लगाइन्छ । एक भाग घाँटीमाथि शिरसम्म, अर्कोभाग घाँटीमुनी नाभीसम्म र अन्तिम भाग नाभीमुनी लगाई स्नान गरिन्छ ।

२. गाईको गोवरले नुहाउने
गन्धद्वारा… भन्ने मन्त्रले गाईको गोवर मन्त्रमा गरेपछि ३ भाग लगाइन्छ । पहिलो भागले घाँटीमाथि शिरसम्म, अर्कोभाग घाँटीमुनी नाभीसम्म र अन्तिम भाग नाभीमुनी लेपन गरी स्नान गरिन्छ । गाईलाई लक्ष्मीको रुपमा पुजिने र यसको मलमुत्रमा स्वास्थ्यवर्धक रसायन हुने मान्यता छ ।

३. कमेरो स्नान
कमेरो एक प्रकारको सेतो माटो हो । यसलाई पनि सप्त मृतिकाझै एनत्व खननी… भन्ने मन्त्रले खनिन्छ । यसलाई पनि ३ भाग लगाई शरीरमा लेपन गरिन्छ र स्नान गरी पखालिन्छ । कमेरो चिप्लो, मसिनो र नरम हुने हुनाले शरीरमा घस्दा छालालाई नरम, मुलायम र कान्तीयुक्त बनाउँदछ भन्ने मान्यता छ ।

४. पञ्चगव्य स्नान
गाइको गोबर, मुत्र, दुध, दही, घ्यू र कुशको जलले पञ्चगव्य बनाइन्छ । यसलाई शरीरभर खन्याई स्नान गरिन्छ र पछी पखालिन्छ । यसले शरीरमा अपुग हुन गएका पोषण तत्व पुरा गराउन मद्दत गराउछ भन्ने मान्यता छ ।

५. भस्म स्नान
हवन कुण्डमा होमिएका चिज वस्तु वा समिधा बाल्दा निस्कन पुगेको मसिनो खरानीलाई भस्म भनिन्छ, यसलाई मन्त्रणा गरी शरीरमा लगाइन्छ । भस्म नाभीमुनी लगाउन हुँदैन भन्ने मान्यता छ । यसरी यसको लेपमा सावधानी रहन उपयुक्त हुन्छ ।

६. अन्तमा वरुण स्नान
वरुण स्नान भनेको शुद्ध जलको स्नान हो । नुहाउने काममा नै इखत्व देखि खम्ब्रम्ह सम्मवैदिक ऋचाहरु पाठ गरी जलप्रति, श्रद्धाभाव प्रकट गरिन्छ । यसरी सबै तत्वले स्नान गर्दा शरीरलाई आवश्यक अम्ल, लवण र क्षारहरु स्नानबाट परिपुर्ति हुन जान्छ र शरीर निरोग भई हट्टाकट्टा, मजवुद, सुन्दर, कान्तियुक्त हुन्छ भन्ने मान्यता छ । शारिरिक रुपले तन्दुरुस्त र मानसिक रुपले दृढ भएमा आइपर्ने कामहरु पुरा हुन सक्छन् भन्ने मान्यता परापूर्व कालदेखी रही आएको छ ।

समुन्द्रको प्रार्थना —स्नानकै क्रममा उभाकवी… मन्त्रले सामुहिक रुपमा सबैले समुन्द्रको प्राथना गर्ने चलन रही आएको छ । भगवत गीतामा सबै नदिनालाहरुको बेग समुन्द्रमा गएपछी शान्त हुन्छ भन्ने लेखिएको छ । यसले प्रत्येक व्यक्ति आफ्नो लक्ष्य प्रति स्थिर भई अडिक रहन प्रेरित गर्छ भन्ने आम बुझाइ रही आएको छ । यसैगरी आफ्ना मार्गदर्शक गुरुको प्रेरणाद्वारा आँफुहरु आज यहाँसम्म आईपुगेको स्मरण गरी गुरुलाई पनि सोही अवसरमा प्रार्थना गरिन्छ, अभिवादन गरिन्छ र स्नानको अन्तमा— हे तिर्थ, हे जलदेवता हजुरले प्रदान गर्नु भएको जलमा स्नान गरी आ—आफ्नो मनोरथ पुरा ग¥यौं, तपाईं वरिपरि चारैतिर रहने सबै यज्ञ, गन्धर्व, किन्नर, राक्षस, जलचर, थलचरलाई निर्विघ्न तवरबाट प्रार्थना सम्पन्न गर्न सहयोग गरेकोमा आभार ब्यक्त गर्दछु भनि कृतज्ञता प्रकट गरिन्छ । यो सहयोग समानताको रुपमा छ ।

स्नान कार्य सम्पन्न भएपछितर्पण कार्य शुरु हुन्छ । यसरी गरिने तर्पण ६ प्रकारका हुन्छन ।
१.देव तर्पण— ब्रह्मादी गरिएका देवतालाई तर्पण दिनु पर्दछ । तर्पण गर्दा जलाशयबाट गाईको शिङ जति उचाईबाट तर्पण गर्नु पर्दछ ।
२. ऋषी तर्पण— मरिचीलगायतका ऋषिहरुलाई एक एक अञ्जली जलले तर्पण गर्नु पर्दछ । तर्पण गर्दा सकभर मन्त्रद्रष्टा सबै ऋषिहरुलाई स्मरण गर्ने चलन छ । यस्ता ऋषि महर्षिहरुको नामावली योगी नरहरीनाथको प्रथम पुष्पाञ्जली नामक पुस्तकमा समेटीएको छ । यसरी ऋषि महर्षिहरुको स्मरण हुँदा हाम्रा कतिपय गाउँठाउँका नाम यिनै ऋषिहरुको नामबाट रहन गएको संकेत पाउँछौं । त्यसैले हाम्रो इतिहास खोज गर्न वा जान्न पनि मद्दत पुर्याउँछ ।
३.मनुष्य तर्पण— सनकारी मनुष्यलाई स्मरण गर्दै दुई–दुई अञ्जलीका दरले तर्पण गर्नु पर्दछ । यिनलाई दिव्य मनुष्य पनि भनिन्छ ।
४.पृति तर्पण—काव्यवादनल आदि गरिएका पृतिहरुलाई ३–३ अञ्जलीका दरले तर्पण दिनु पर्दछ । यिनीहरु दिव्यपृति हुन् ।
५.यम तर्पण— यमराज आदिलाई ३–३ अञ्जली तर्पण गर्नु पर्दछ ।
६.स्वपृति तर्पण— आफ्ना पृतिहरुलाई तर्पण गर्नु पर्दछ ।

उल्लेखित तर्पण कार्यहरु मध्य पहिलो,दोस्रो र तेस्रो सबैले गर्नु मिल्ने हुन्छ भने अन्यलाई मातापिता भएकाले नगर्ने प्रचलन छ । तर्पण कार्यहरु सम्पन्न भएपछि मार्जन कार्य गर्नु पर्दछ । ३ टुक्रा कुश, अपमार्ग(दतिवन) र दुबो गरी ३ वटै वस्तुको एउटा मुठो बनाइन्छ । आपो हिष्ठे………मन्त्रले मार्जन गर्ने चलन छ।

यज्ञोपवित(जनै), रक्षाशुत्र मन्त्रणा र रक्षाबन्धन
स्नान गरेको जलाशय वा नदि किनारमा जनै मन्त्रणा गर्ने पुरानो चलन हो । नजिकै शिव मन्दिर भएमा त्यहिनै जनै मन्त्रण गर्ने काम हुन्छ । त्यो पनि भएन भने घरमै दियो, कलश, गणेश र शिवजी स्थापना गरी जलाधारा चलाई जनै मन्त्रणा गरिन्छ । जनै र रक्षाबन्धनमा पर्ने गरी जलधारा चलाइएको हुन्छ । प्रतिजोर जनैका लागि १०८ पटक गायत्री मन्त्र जप गर्ने चलन पनि पाइन्छ । यहाँ अरुन्धतिसहित सप्तऋषिहरुको पुजन, ऋषि श्राद्ध तथा जनैमा पर्ने गरी तर्पण गर्ने काम गरिन्छ । जनैका प्रत्येक डोरा (तन्तु) हरुको पुजा गरिन्छ । यसलाई तन्तु पुजा भनिन्छ । जनैका साथै रक्षासुत्रको पुजन पनि गरिन्छ ।

गोवर, दुबो, सस्र्यू, सुपारी, जौ, तिल रक्षासुत्रमा राखिन्छ । रक्षोहणं… तथा पुर्वेरक्षतु जस्ता मन्त्रले रक्षासुत्र मन्त्रने काम हुन्छ । व्यवहारिक रुपमा रक्षासुत्र पनि जनैका साथसाथै जलधारी चल्ने ताउलामा राखिएको हुन्छ । यसरी रक्षाबन्धन यज्ञो पवित मन्त्रने क्रममा धुप, दिप, नैवेद्य, आरती, पुष्पाञ्जली, पुर्णपात्रो र दक्षिणा समेतका कार्यहरु सम्पन्न गर्नु पर्दछ । यसरी पुजन गरिएका जनै वर्ष भरीमा आउने देवी देवताका पुजा, अर्चना लगायत विभिन्न कार्यहरुमा प्रयोग गरिन्छ । यस्ता कार्यमा प्रयोग हुने माटो सफा शुद्ध हुनु पर्दछ, फोहोर हुनु हुँदैन । त्यस्तै निरोगी गाईको सफा र शुद्ध ठाउँको गोवर गहूँत प्रयोग गर्नु पर्दछ । यी विधिहरु उमेर अवस्था, स्वास्थ्य र समयले साथ दिएमा पुरा हुने हुनाले आफ्नो परिस्थितिलाई समेत राम्ररी ख्याल विचार पु¥याउनु पर्दछ ।माथी उल्लेखित प्रकृया पुरा गरिसकेपछि ब्राम्हण, भाञ्जा र ज्वाइहरुबाट नयाँ जनै लगाउने चलन छ ।

जनै निर्माण विधि
जनै निर्माण गर्ने क्रममा पहिला जनै संगाल्ने काम हुन्छ । विभिन्न ३ विन्दुमा २७ फन्का लगाइन्छ । २ र ७ को जोड ९ हुन्छ । यसरी ३ सराको एउटा डोरी हुन्छ त्यसलाई पुनः ३ तेउरा (सरा) गराइन्छ । यसै ३ सराको एउटा डोरी तयार हुन्छ । जनै बाध्ने क्रममा यही डोरीको ३ सरा गराइन्छ । यी ३ सरामा २७ स—साना डोरीको एकमुठ्ठ हो । यहाँ पनि २ र ७ को जोड ९ नै हुन्छ । यसरी सुरुको ३ तेउरेको ३ र ३ सराको ३ गरी ३×३×३ गरी २७ हुन्छ । यसको जोड २ं७ गरी ९ नै भयो । यसरी आधिजोर जनै तयार हुन्छ । अर्को आधिजोर जोड गर्दा २७+२७ =५४ सरा हुन पुग्छ । ५+४=९ नै हुन्छ । ९ पुर्ण अङ्क हो । जनैले यसका धारण कर्तालाई पूर्णता तर्फ लैजान प्रेरित गर्दछ । यहाँ तर्पण गरिएका देव, पिल ऋषिहरु तथा गन्धी पुजनका देवताले पनि पुर्णतातर्फ उन्मुख हुन प्रेरणा प्रदान गर्दछन् भन्ने विश्वास रही आएको छ ।

अन्त्यमा, यस प्रकृतिका सास्कृतिक लेखले हाम्रो धर्म सस्कृतिको बारेमा पछिल्लो पुस्तालाई सुसुचित गराइ यसको संरक्षणमा योगदानमा पुर्याउछ भन्ने विश्वासका साथ यो आलेख तयार गरिएको छ । यहाँहरुको प्रतिकृया एवम सुझाबहरुको अपेक्षा गर्दछु ।

-झारखोला, स्याङ्जा ।

प्रतिकृया दिनुहोस्