झोलामा किताब, मनमा डर

सिकाइ खबर

Byसिकाइ खबर

८ आश्विन २०७७, बिहीबार

अर्घाखाँची  । पाणिनि गाउँपालिका–४ पटैटीकी १२ कक्षामा अध्ययनरत लक्ष्मी घिमिरेले ६ महिनापछि स्कुल टेकिन् । स्कुल पुग्दा गेटबाट भित्र छिर्न नपाउँदै प्रधानाध्यापक टोमलाल घिमिरेले साबुनपानीले हात धुन लगाए । मास्क लगाएर सामाजिक दूरी कायम गरी बेन्चमा बस्न दिइयो ।

पटैटीको देउराली माविमा आइतबारबाट पढाइ सुरु भए पनि ४० प्रतिशत मात्रै विद्यार्थी उपस्थित छन् । ‘कोरोना संक्रमित भइन्छ कि भनेर कक्षाकोठामा ढुक्कले पढ्न पाइएको छैन,’ लक्ष्मीले भनिन्, ‘एउटा बेन्चमा दुई जना मात्रै बस्छौं ।’ पढाइको चिन्ता र रोगको डर मनमा रहेको उनले बताइन् । ‘प्रधानाध्यापकसहितका शिक्षकले गेटमै बसेर टाढै रहेर हिँडडुल गर्न र बेन्चमा बस्न आग्रह गर्दा मन झनै त्रसित हुन्छ,’ उनले भनिन् ।

शिक्षक युवराज पाण्डेले कक्षा १ देखि ६ सम्मका लागि बिहान ९ देखि १२ बजेसम्म र कक्षा ७ देखि १२ कक्षासम्मकालाई दिउँसो १ देखि ५ बजेसम्म पढाइ सञ्चालन गरिएको बताए । ‘विद्यार्थीलाई प्रार्थनामै स्वास्थ्य प्रोटोकल पालना गर्नेबारे नियम बताएर मात्रै कक्षाकोठाभित्र पसाल्छौं, शिक्षकले पनि नियममै बसेर पढाउँछौं,’ उनले भने । विद्यार्थीलाई पढाउन र सबैको स्वास्थ्यको पनि ख्याल गर्नुपरेको उनले बताए । एउटा कक्षामा २४ जना मात्रै विद्यार्थी पढाइन्छ

‘पहिला ढुक्कले पूरै ध्यान पढाइतिर मोडिन्थ्यो, अहिले आधा ध्यान कोरोनातिर छ,’ कक्षा १२ पढ्ने रिमा विकले भनिन्, ‘पढाइको चिन्ता र रोगको डर छ । ६ महिना पढ्न पाइएन ।’ बिहान स्कुलभित्र छिर्दा र बाहिरिँदा साबुनपानीले हात धुनुपर्ने उनले बताइन् । डरत्रासका बीचमा पढ्नुपरेको उनले बताइन् । मालारानी गाउँपालिका–५ स्थित ज्ञानदीप प्रावि शिक्षक भगवती भुसालले पानी नपर्दाको दिन खुला चौरमा विद्यार्थीलाई टाढाटाढा बसालेर पढाउँछिन् । साना बालबालिकालाई अलि सतर्क बनाएरै पढाउनुपर्ने उनले बताइन् । ‘कोरोनाको डर भए पनि जोगिएरै पढाएका छौं,’ उनले भनिन् । पढाउनुअघि र घर जानुअघि विद्यार्थीलाई कोरोनाका बारे उनले शिक्षा दिन्छिन् । तल्लो कक्षाका विद्यार्थीलाई अनलाइन कक्षा सम्भव नभएकाले असारदेखि टोल–टोलमा पुगेर चौर र बारीमा विद्यार्थीलाई टाढै राखेर कखरा सिकाइएको उनले बताइन् ।

बाँगी आरुखोरका शान्ति माविका प्रधानाध्यापक मानबहादुर पाण्डेले असारदेखि नै अनलाइन कक्षा सञ्चालन गरिएको र असोज १ गतेबाट केही विद्यार्थीलाई स्कुलमा बोलाएर र केहीलाई टोलमै पुगेर पढाएको उनले बताए । ‘अहिले नै सबै विद्यार्थीलाई स्कुलमा बोलाएर पढाउन सम्भव छैन, थोरै संख्यामा स्वास्थ्य नियम पालना गरेर जसलाई जहाँ पायक पर्छ, त्यहीँ पुगेर पढाएका छौं,’ उनले भने ।

छोरीको पढाइप्रति हंसपुरका युवराज जीसी चिन्तित छन् । कक्षा ९ मा पढ्ने छोरीलाई स्कुलसम्म पुर्‍याएर घर फर्कन्छन् र पढाइ सकिएपछि लिन पुग्छन् । ‘कतै थाहा नपाई छोरीलाई कोरोना सर्छ कि भनेर छाड्न र लिन जान्छु,’ उनले भने, ‘झोलामा किताब कापीसँगै सेनिटाइजर र साबुनपानी राखिदिन्छु । स्कुल जाँदा र फर्कंदा साबुनपानीले मिचिमिची हात धुन र सेनिटाइजर लगाउन भन्छु ।’ कक्षामा शिक्षकले पढाएपछि घरमा होमवर्क गर्न र थप पढाउन उनले छोरीलाई सघाउँछन् ।

वीरेन्द्र केसीले कान्तिपुरमा खबर लेखेका छन् ।

प्रतिकृया दिनुहोस्