जापानमा हजारौँ बालबालिकाहरू विद्यालय जान मानिरहेका छैनन्। यस्तो गर्नुलाई जापानी भाषामा ‘फुटुको’ भनिन्छ। विद्यालय जान नचाहने बालबालिकाको सङ्ख्या बढ्दै जाँदा यस्तो समस्या विद्यार्थीको भन्दा पनि विद्यालय प्रणालीको प्रतिविम्ब हो कि भन्ने प्रश्न गर्न थालिएको छ। दश वर्षीय युटा इटोले गत वर्ष आफ्ना बाबुआमालाई आफ्नो समस्या बताउन वार्षिक गोल्डेन वीक होलिडे कुरिरहे र परिवारसँग बाहिर घुम्न गएका बेला आफूलाई स्कुल जान मन नलागेको कुरा बताए।

महिनौँदेखि उनी प्राथमिक विद्यालय जान मन नलागि-नलागि गएका थिए वा कहिलेकाहीँ स्कुल नगइ घर बसेका थिए। उनीमाथि दूर्व्यवहार भएको थियो र उनी साथीभाइसँग झगडा गरिरहेका थिए। अब उनका बाबुआमाका अगाडि तीनवटा बाटो थिए: उनलाई स्कुलमा रहेको परामर्श दिने ठाउँमा लगेर स्थिति सुध्रिएला भन्ने आशा राख्नु, घरमै पढाउनु या उनलाई अलि लचिलो ‘फ्री’ विद्यालयमा पठाउनु।

उनीहरूले तेश्रो विकल्प रोजे।

अहिले युटाले उनको विद्यालय जानुपर्ने दिनमा आफूलाई जे मन लाग्छ त्यही गरेर बिताउँछन् र उनी अहिले निकै खुशी छन्। युटा तीस दिन भन्दा बढी स्वास्थ्य वा शुल्क तिर्नेबारे कुनै समस्या नभइकन स्कूल नगएका विद्यार्थीलाई जनाइने फुटुको बनेका छन् अहिले। यस्तो गर्नेको सङ्ख्या जापानमा निकै छ।

यस्तो प्रवृत्तिलाई गयल हुने या स्कुलप्रति डर वा स्कुल जान नचाहने जस्ता पदावलीमा व्याख्या गरिएको छ। फुटुकोबारे दशकौँ यता धारणा परिवर्तन भइरहेको छ। सन् १९९२ सम्म स्कुल नजानुलाई टोकोक्योशी भनिन्थ्यो जुन एकप्रकारको मानसिक समस्यामा गनिन्थ्यो। तर सन् १९९७ मा त्यो शब्दाबली परिवर्तन गरेर अलि तटस्थ खालको शब्द फुटुको प्रयोग गरियो जसको अर्थ हुन्छ स्कूलमा गयल हुनु।

१७ अक्टोबरका दिन सरकारले प्राथमिक र न्यून माध्यमिक विद्यालय नआउने विद्यार्थीहरूको सङ्ख्या अहिलेसम्मकै अत्यधिक भएको घोषणा गर्‍यो। जस अनुसार सन् २०१७ मा फुटुको सङ्ख्या १,४४,०३१ थियो भने सन् २०१८ मा त्यो सङ्ख्या बढेर १,६४,५२८ पुगेको थियो।

खुला विद्यालय आन्दोलन सन् ‘८० को दशकमा सुरु भएको थियो। ती वैकल्पिक विद्यालयहरू हुन् जुन स्वतन्त्रता र वैयक्तिक सिद्धान्तमा आधारित छन्। घरमै शिक्षा लिने कार्य वा खुला विद्यालयलाई अनिवार्य शिक्षाको विकल्पका रूपमा लिने भन्ने स्वीकृत उपाय हुन् तर तिनले विद्यार्थीलाई मान्य हुने किसिमको प्रमाणपत्र भने दिँदैनन्। खुला वा वैकल्पिक विद्यालय जाने विद्यार्थीहरूको सङ्ख्या बढ्दै गएको छ।

सन् १९९२ मा त्यो सङ्ख्या ७,४२४ थियो भने सन् २०१७ मा त्यो बढेर २०,३४६ पुगेको थियो। विद्यालय बीचमै छोड्दा त्यसको दीर्घकालीन प्रभाव पर्न सक्छ र कम उमेरका यी व्यक्तिहरू समाजबाट पूर्ण रूपमा एक्लिएर बस्न खोज्ने र आफ्नो कोठामा मात्र समय विताउने बन्न सक्ने खतरा ठूलो छ। यस्तो कुरालाई जापानमा हिकिकोमोरी भनिन्छ।

अझ बढी चिन्ताको कुरा आफ्नै जीवन लिने विद्यार्थीको सङख्या उच्च रहेको छ। स्कूलमा आत्महत्या गर्ने तीस वर्षकै उच्च सङ्ख्या सन् २०१८ मा ३३२ पुगेको थियो। विद्यार्थीहरूको बढ्दो आत्महत्या सङख्याका कारण जापान सरकारले विद्यालयहरूका लागि विशेष सुझावहरू सहित सन् २०१६ मा नयाँ कानुन पारित गरेको थियो।

जापानमा किन यति धेरै विद्यार्थीले स्कूल जान नचाहेका होलान् ?पारिवारिक घटनाक्रमहरू, साथीहरूसँगको मामिला र दुर्व्यवहार (बुलीइङ) केही मुख्य कारणहरू रहेको शिक्षा मन्त्रालयले गरेको सर्वेक्षणले देखाएको छ। सामान्यत: स्कुल छोड्नेहरूले आफू साथीसँग या शिक्षकसँग मिल्न नसकेको बताएका थिए।

टोमो मोरिहासिलाई पनि त्यस्तै भएको थियो। १२ वर्षीय उनले भने: “म धेरै मानिससँग सहज हुनै सकिन। स्कुले जीवन कष्टपूर्ण थियो।” टोमो बाहिर हुँदा बोली नै नफुट्ने समस्याबाट पनि ग्रसित भइन्। “म मेरो घरबाहिर वा परिवार बाहिर हुँदा बोल्नै सक्दिन,” उनी भन्छिन्। र जापानी विद्यालय चलाउन लगाइएका कठोर नियमहरू पालना गर्न पनि उनलाई सकस भयो।

उनी भन्छिन्: “सुरुवालहरू रङ्गीबिरङ्गी हुन हुँदैन, कपालमा रङ्ग लगाउन पाइँदैन, कपाल बाँध्ने इलास्टिकको रङ्ग पनि निश्चित छ र तिनलाई नाडीमा बाँध्न पाइँदैन।” जापानका धेरै विद्यालयमा विद्यार्थीका बाहिरी आवरण नियन्त्रण गरिन्छ। कतिलाई आफ्नो काला कपाल रङ लगाएर खैरो बनाउन लगाइन्छ जाडो महिनामा समेत कोट या कस्सिएका सुरुवाल लगाउन मनाही गरिन्छ। कतै कतै त विद्यार्थीका भित्री कट्टुको रङबारे समेत खुलाइएको हुन्छ।

विद्यालयमा कडा नियमहरू सन् १९७० र १९८० मा हिंसा र दुर्व्यवहार रोक्न भन्दै लगाइएका थिए। सन् १९९० मा ती नियम खुकुलो बनाइए तर फेरि हालका दिनमा कडा बनाइएका छन्। यी नियमहरू “काला स्कूले नियमहरू” भनेर चिनिन्छन्।

अहिले युटा जस्तै टोमो पनि टामागावा फ्री स्कूल जान्छिन् जहाँ विद्यालयको निश्चित पोशाक तोकिएको छैन र विद्यार्थीहरू आफ्ना गतिविधि आँफै रोज्न पाउँछन् जुन विद्यालय अभिभावक र विद्यार्थीहरूबीच सहमति गरेर तय गरिएको हुन्छ।

उनीहरूलाई आफ्ना क्षमता र रुचि पछ्याउन प्रोत्साहन गरिन्छ। त्यहाँ जापानी भाषा र हिसाब सिकाउन राखिएका कम्प्युटरहरू छन्। र किताब र जापानी कमिक किताब राखिएका पुस्तकालय पनि छन्।

त्यहाँको वातावरण असाध्यै अनौपचारिक छ र त्यो एउटा ठूलो परिवार जस्तै छ। विद्यार्थीहरू एउटा साझा ठाउँमा खेल्न र कुराकानी गर्न भेट्छन्। विद्यालय प्रमुख टाकारी योशिकावा भन्छन्: “यो विद्यालयको लक्ष्य चाहिँ मानिसहरूको सामाजिक दक्षता विकास गर्नु हो।” त्यो कसरतमा वा खेल खेल्दा या पढेर गर्न सकिन्छ। महत्त्वपूर्ण कुरा चाहिँ ठूलो समूहमा हुँदा आत्तिनु हुँदैन भन्ने हो। यो स्कूल हालै ठूलो क्षेत्रफल भएको ठाउँमा सारिएको छ र करिब १० विद्यार्थी हरेक दिन यो स्कूल आउँछन्।

योशिकावाले उनको पहिलो फ्री स्कुल टोक्योमा सन् २०१०मा खोलेका थिए। “मैले विद्यार्थीहरू १५ वर्ष भन्दा माथिका होलान् भन्ने अपेक्षा गरेको थिएँ तर यहाँ आएकाहरू त सात वा आठ वर्षका छन्” उनी भन्छन्। “धेरैजसो केही नबोल्ने कोही घरबाहिरकासँग नबोल्ने थिए र उनीहरूले स्कूलमा केही नगरी बसे।” योशिकावा विद्यार्थीहरू विद्यालय जान नचाहनुको मुख्य कारक संवादको समस्या रहेको विश्वास गर्छन्।

उनको आफ्नै विद्यालय शिक्षाको यात्रा अरुको भन्दा फरक छ। उनले आफ्नो जागिर ४० को हाराहारीमा छोडे र किनभने उनलाई जागिरमा माथि चढ्न कुनै रुचि थिएन। उनका बाबु डाक्टर थिए र छोरा जस्तै बाबु पनि उनको समुदायलाई सेवा गर्न चाहन्थे त्यसैले उनी समाजसेवी र कैयौँका धर्मबाबु बने।

त्यो अनुभवले बच्चाहरूले भोग्ने समस्याप्रति उनका आँखा खोलिदिए। गरिब परिवारका वा घरेलु हिंसा भोगेका कैयौँ विद्यार्थीको व्यवहार पनि समस्याग्रस्त बन्न सक्छ। नागोया विश्वविद्यालयका प्राध्यापक र्‍यो उचिडा भन्छन्: ठूलो कक्षाको आकार पनि विद्यार्थीहरूले भोग्ने गरेको चुनौतीको एक अंश हो।
“चालीस जना जतिको कक्षाकोठामा एक वर्ष सँगै बिताउनुपर्दा धेरै कुरा हुन सक्छ,” उनी भन्छन्।

प्राध्यापक उचिडा भन्छन्:- “जापानमा सघन जनसङ्ख्या भएका कारण एक अर्कासँग मित्रता गास्नु बाँच्नका लागि आवश्यक एउटा तत्व हो। यदि तपाईँ अरूहरूसँग मिल्नुहुन्न भने तपाईँ बाँच्न सक्नुहुन्न।”

स्कुलमा मात्र होइन सार्वजनिक यातायातदेखि अरू सार्वजनिक क्षेत्रमा पनि त्यस्तै हुनसक्छ। यही कुरा कैयौँ विद्यार्थीका लागि समस्या बनिदिन्छ। भिडभाडयुक्त कक्षाकोठामा सानो ठाउँमा धेरैजनासँग मिलेर काम गर्नमा तिनीहरू सहज महसुस गर्दैनन्। प्राध्यापक उचिडा भन्छन्, “यस्तो अवस्थामा असजिलो महसुस गर्नु सामान्य हो।”

जापानमा विद्यार्थीहरू एउटै कक्षा कोठामा वर्षौँ वर्षसम्म बस्छन् र यदि समस्या भयो भने त्यही स्थितिमा स्कुल जानु असाध्यै कठिन बन्न पुग्छ। “त्यस्तो अवस्था सोच्दा फ्री स्कुलले पुर्‍याइरहेको सहयोग धेरै अर्थपूर्ण छ,” प्राध्यापक उचिडा भन्छन्। “फ्री स्कुलमा उनीहरूले समूहबारे खासै चिन्ता गर्नुपर्दैन । त्यहाँ हरेक विद्यार्थीको विचारलाई महत्त्व दिने गरिन्छ।”

फ्री स्कुलहरूले विकल्प उपलब्ध गराइदिएको भएपनि शिक्षा प्रणालीमा रहेको समस्या एक महत्त्वपूर्ण मुद्दा हो। प्राध्यापक उचिडा विद्यार्थीको विविधता विकास नगर्नु उनीहरूको मानव अधिकारको उल्लङ्घन हो भन्छन् र धेरै त्यसमा सहमत देखिन्छन्। काला स्कुले कानुनको आलोचना र जापानको विद्यालयको वातावरणबारे जापानभर कुरा उठेको छ। टोक्यो शिम्बन अखबारले त्यसलाई विद्यार्थी विविधताप्रति अवरोध र मानव अधिकार हनन भनेको छ।

अगष्ट महिनामा एउटा अभियान समूह ब्ल्याक कोसोकु ओ नाकुसो प्रोजेक्ट अर्थात काला स्कुले कानुनबाट मुक्ति पाउँ भनेर ६० हजार मानिसले हस्ताक्षर गरेको एउटा विज्ञप्ति शिक्षा मन्त्रालयलाई बुझाइएको छ। र स्कूलमा रहेका अनावश्यक कानुनको अनुसन्धान गर्न माग गरिएको छ।

प्राध्यापक उचिडा भन्छन्: “शिक्षा मन्त्रालयले बिद्यार्थी गयल हुनु यदाकदा हुने गरेको नभएर प्रवृत्तिको रूपमा देखा परेको स्वीकार गर्न थालेको जस्तो देखिन्छ।” फुटुको बच्चाहरू समस्या होइनन् कि त्यस्ता बच्चालाई स्वागत गर्ने वातावरण दिन असफल भएको शिक्षा प्रणालीप्रतिको प्रतिक्रियाका रूपमा यसलाई हेर्न सकिने उनले बताए।

प्रतिकृया दिनुहोस्