एजेन्सी । भारतको पूर्वोत्तर राज्य आसाममा सञ्चालित अक्षर फोरम विद्यालयले विद्यार्थीहरूबाट पृथक शैलीमा मासिक शुल्क उठाउँदै आएको छ । विद्यार्थीले मासिक शुल्कको सट्टा घरमा हुने प्लास्टिजन्य फोहर विद्यालयमा लग्नुपर्ने हुन्छ । मासिक शुल्कका लागि विद्यार्थीहरूले प्रत्येक हप्ता कम्तीमा २५ ओटा प्लास्टिक विद्यालय लग्नुपर्ने हुन्छ ।

सन् २०१६ मा परमिता शर्मा र माझिन मुख्तरले यो स्वूmलको स्थापना गरेका हुन् । अक्षर फोरम अल्पसंख्यक विद्यार्थीहरूका लागि सञ्चालनमा ल्याइएको स्कूलल हो । यो स्कूलले विद्यार्थीलाई एक जिम्मेवार नागरिक बनाउने लक्ष्य लिएको छ । सन् २०१८ देखि विद्यालयले यो नयाँ योजना शुरु गरेको हो । स्थानीय बासिन्दाले प्लास्टिक जलाउने गरेको थाहा पाएपछि यो योजना शुरु गरिएको विद्यालयले जनाएको छ ।

‘हामीले तत्कालीन समस्या समाधानका लागि विद्यार्थीबाट प्लास्टिक जम्मा गर्ने निर्णय ग¥यौँ । जाडो महिनामा प्रत्येक दिन प्लास्टिक बाल्ने कुरा विद्यार्थीबाट सुनेका थियौँ । न्यानो बनाउन विद्यार्थीहरूले त्यो आगो ताप्थे । त्यसैले हामीले यसलाई अनिवार्य बनायौँ ।’ अक्षर फोरम विद्यालयकी सहसंस्थापक परमिता शर्माले भनिन् ।

भिन्नै शैक्षिक मोडलका साथ पृथक टिकाउ विद्यालय बनाउने अभियानमा जुटेको अक्षर फोरमले त्यस्ता सरकारी विद्यालयहरू बनाइदिएको छ जुन पर्यावरण अनुकूल छन्, कम लागतका छन् र बालमैत्री छन् ।

बाँसले बारेर बनाइएको विद्यालय भवनमा सौर्य ऊर्जा जडान गरिएको छ । विद्यार्थीहरू प्रोजेक्टर र ल्यापटपको मद्दतबाट सिक्ने गर्छन् ।  विद्यार्थीहरूले घरबाट ल्याएका प्लास्टिकका प्याकेटहरूलाई प्लास्टिकको बोटलमा कोचेर ‘इकोब्रिक’(इँटा) बनाउने गरेका छन् । त्यो प्लास्टिकको इँटाले विद्यालयमा विभिन्न संरचना निर्माण गरिने गरिएको छ । ‘हामीले यी संरचना इकोब्रिकको प्रयोग गरेर बनाएका हौँ ।’ एकजना विद्यार्थीले भने । विद्यालयले विद्यार्थीलाई नियमित रूपमा वृक्षारोपणमा समेत सहभागी गराउँदै आएको छ ।

विद्यार्थीहरूले घरमा एकपटक मात्रै प्रयोग हुने प्लास्टिकहरू थैलीमा झुण्डाएर विद्यालय पुग्ने गर्छन् । एकातिर घरको पनि सरसफाइ, अर्कोतिर मासिक शुल्क पनि हुने भएपछि विद्यार्थी र अभिभावक दङ्ग छन् ।

‘विद्यार्थीहरू पनि अझ सचेत भएका छन् । किनकि उनीहरूलाई थाहा छ प्लास्टिक स्वास्थ्यका लागि हानिकारक छ र यसलाई जलाउनु हुँदैन । उनीहरू अभिभावकसँग यसको दुष्प्रभावबारे कुरा गरिरहेका छन् र कुरा बुझ्दैछन् ।’ शर्मा भन्छिन् ।

पहिले अधिकांश विपन्न बालबालिकाले आयआर्जनका लागि पढाइ छाडेका थिए । तर, यो विद्यालयले उनीहरूलाई अध्ययन गर्दा गर्दै कमाइ हुने उपाय निकाल्यो । ठूला कक्षाका विद्यार्थीलाई तल्लो कक्षामा पढाउन लगाएर प्रतिघण्टाका दरले पैसा समेत दिन थाल्यो ।

‘सीपमूलक पाठ्यक्रमले विद्यार्थीलाई अन्य काममा पनि कुशल बनाउँछ । उनीहरू पर्याप्त सीप सिकेर आत्मनिर्भर बन्न सकून् भन्ने हाम्रो अपेक्षा हो । हामी यस्तो नमूना बनाउन खोजिरहेका छौँ, जहाँ विद्यालयबाट रोजगारीमा जान सकियोस् ।’ शर्माले स्पष्ट पारिन् ।

२० विद्यार्थीबाट शुरु भएको यो विद्यालयमा हाल बाँसको छाप्रोमा सयभन्दा बढी विद्यार्थीहरू पढ्दै सीप सिक्दै आयआर्जन पनि गरिरहेका छन् । त्यसैले विद्यालयको संस्थापक यी जोडी यो नमूना भारतभर फैलियोस् भन्ने चाहन्छन् ।

पर्यावरणसम्बन्धी जनचेतना बढाउने उक्त अभियान अक्षर फोरमले गरेका थुप्रै त्यस्ता कार्यमध्ये एक हो । विद्यार्थीहरूले औपचारिक ज्ञानसहित सीपमूलक शिक्षा पनि प्राप्त गरून् भन्ने उद्देश्यका साथ उक्त विद्यालय सञ्चालन गरिएको छ ।

पमोहाको गाउँमा धेरै परिवारहरूले आफ्ना छोराछोरीलाई स्कूलको सट्टा ढुङ्गाको काम गर्न पठाउँथे । ताकि उनीहरूले केही रूपैयाँ कमाउन सवूmन् । न्यून आयस्रोत भएका मानिसहरूको धेरै बसोबास रहेको यो गाँउमा मानिसले विद्यालय शुल्कका सट्टामा काम नलाग्ने प्लास्टिक दिए पुग्ने भएपछि सयौँको संख्यामा विद्यार्थीहरू स्कूल भर्ना भएका छन् । अक्षरले अहिले त्यहाँको बालबालिकाको जीवनशैलीमा समेत परिवर्तन ल्याएको छ ।

अक्षर फोरमका उपाध्यक्ष प्रियङग्सु बोर्थठाकुरका अनुसार अक्षर फोरमको रिसाइक्लिङ कार्यक्रम अन्तर्गत यस्तो उपाय विद्यार्थीहरूमा लागु गरिएको बताउँछन् । ६ महिना अघिदेखि विद्यालयले काम नलाग्ने प्लास्टिकहरूको सङ्कलन कार्यक्रम शुरु गरेपछि यसको चर्चा चुलिएको छ ।

प्रतिकृया दिनुहोस्