प्रिय विद्यार्थी…

सिकाइ खबर

Byसिकाइ खबर

१५ चैत्र २०७६, शनिबार

सुनिल थापा

प्रिय  विद्यार्थी…

प्रिय विद्यार्थी,
आफूलाई पढ।
आफ्ना मनहरुलाई पढ।
परिवार पढ।
आमाका प्रसव पीडाहरु पढ।
तिमीलाई हुर्काउन,
आमाले भोकभोकै काम गर्नुपरेका वेदनाहरु पढ।
तिमीलाई न्यानो बनाउन, आफू कठाङ्ग्रीएका कथाहरु पढ।
बाबाले अर्काको देशमा बगाएका पसिनाहरू पढ।
साहूको ऋण तिर्न नसकेका वेदनाहरु पढ।
परिवारको सहयोग पढ।
त्यति मात्र होइन, पारिवारिक वेदना पढ।
पारिवारिक तहसनहसले ल्याएका पीडाहरु पढ।
प्रिय विद्यार्थी,
नेपाली पढ।
त्यो भन्दा बढी, नेपाली  भाषालाई माया गर।
अंग्रेजी पढ।
ज्ञानको दायरा विश्वव्यापी बनाऊ।
गणित पढ।
त्यो भन्दा बढी, व्यवहारिक गणितीय सीपहरु सिक।
विज्ञान पढ।
त्यो भन्दा बढी, वैज्ञानिक आचरणको विकास गर।
विज्ञानको गतिशीलतालाई बुझ।
सामाजिक पढ।
त्यो भन्दा बढी सामाजिक बन।
स्वास्थ्य, जनसंख्या पढ।
त्योभन्दा बढी स्वस्थ रहने तौरतरिका सिक।
सानो परिवार, सुखी परिवारको मार्गमा अघि बढ।
प्रिय विद्यार्थी,
अर्थशास्त्र पढ।
त्यो भन्दा बढी अर्थको सदुपयोग र महत्व बुझ।
व्यवस्थापन पढ।
त्यो भन्दा बढी कुशल व्यवस्थापकको मार्गमा अघि बढ ।
कानून पढ।
त्यो भन्दा बढी असल न्याय सम्पादनको मार्गमा अघि बढ।
नैतिक पढ।
त्यो भन्दा बढी नैतिकवान बन।
पेशा,व्यवसाय पढ।
त्यो भन्दा बढी पेशालाई माया गर।
कम्प्युटर पढ।
त्यो भन्दा बढी यसको सदुपयोग गर्न सिक।
इन्जिनियरिङ्ग पढ ।
त्यो भन्दा बढी दक्ष इन्जिनियर बन।
कृषि पढ।
त्यो भन्दा बढी देश समुन्नत बनाउने मार्ग अवलम्वन गर।
डाक्टर पढ।
त्यो भन्दा बढी असल डाक्टर बन।
वातावरण पढ।
त्यो भन्दा बढी यसको संरक्षण र सदुपयोग गर्न सिक।
अक्षरहरु पढ।
त्यो भन्दा बढी, अक्षरमा जिन्दगीका रङहरु खोज।
प्रिय विद्यार्थी,
समाज पढ।
सभ्य समाजका कथाहरु पढ।
त्यति मात्र होइन, बोक्सीको आरोपमा
पीडित नारीका वेदनाहरु पढ।
दीन दुखीका कथाहरु पढ।
छुवाछुतका कथाहरु पढ।
संस्कृति पढ।
संस्कार पढ।
धर्म पढ।
त्यति मात्र होइन, हत्या हिंसाका कथाहरु पढ।
भ्रष्टाचार,बलात्कारका कथाहरु पढ।
त्यो भन्दा बढी, बलात्कृत भई
न्याय नपाएका कथाहरु पढ।
प्रिय विद्यार्थी,
आफ्नो राष्ट्र राष्ट्रियता पढ।
त्यो भन्दा बढी आफू नेपाली भएकोमा गर्व गर।
देशको सीमा मिचिएका कथाहरु पढ।
प्राकृतिक श्रोत माथिको हस्तक्षेप पढ।
त्यति मात्र होइन, नेपाल-अङ्ग्रेज युद्धमा होमिएका
त्रिहत्तर वर्षे वृद्ध भक्ति थापाका कथाहरु पढ।
नेपाली वीर विरंगनाका गाथाहरु पढ।
गौतम बुद्धका कथाहरु पढ।
राणाशासन ढाल्न मात्र होइन,
नेपालमा गणतन्त्र ल्याउन,
आफ्नो ज्यानको आहूती दिएका वीर सहिदका सपनाहरु पढ।
अनि,
के साच्चै सहिद घाइते योद्धाका सपनाहरु पुरा हुने छन् त ?
एकछिन गम्भीर भएर सोच।
प्रिय विद्यार्थी,
वेटरको काम गरेका लियोनेल मेसीका कथाहरु पढ।
खलासीको काम गर्ने रजनीकान्त सुपरस्टार बनेका कथाहरु पढ।
साग बेच्दै हिड्ने थोमस एडिसन वैज्ञानिक बनेका कथाहरु पढ।
भिख माग्दै हिड्ने चार्ली च्याप्लिनका कथाहरु पढ।
चिया बेच्ने मोदी भारतका प्रधानमन्त्री बनेका कथाहरु पढ।
दुईसय रुपिया बोकी हिडेका पुस्कर शाह विश्व घुमेका कथाहरु पढ।
लम्बु भनी होच्याइएका अमिताभ वच्चन,
महानायक बनेका कथाहरु पढ।
थर्ड डिभिजनमा पास महात्मा गान्धी विश्व नेता बनेका कथाहरु पढ।
हल्लिदै हिड्ने हिटलर जर्मनीका शासक बनेका कथाहरु पढ।
घरेलु कामदार म्याक्सिम गोर्की महान लेखक बनेका कथाहरु पढ ।
मन्दवुद्धिको भनिएका आइन्स्टाइन,
संसारकै जिनियस वैज्ञानिक बनेका कथाहरु पढ।
सयौ असफलता अनि सयौ हण्डर खाएका,
गरीव अब्राहम लिंकन अमेरिकाका रास्ट्रपति बनेका कथाहरु पढ।
खुट्टाले लेखेरै मदन पुरस्कार जितेकी झमक घिमिरेका कथाहरु पढ।
प्रिय विद्यार्थी,
सफलता असफलता सबैका  कथाहरु पढ।
अन्याय अत्याचारका कथाहरु पढ।
विकृति विसंगतिका कथाहरु पढ ।
संघर्ष बलिदानीका कथाहरु पढ।
समृद्ध नेपालका कथाहरु पढ।
सबै पढ।
तर,
सबैभन्दा बढी आफूलाई पढ।
आफ्ना मनहरुलाई पढ।
परिश्रम गर्न  कहिल्यै नछाड । अनि,
सत्यको मार्गमा निरन्तर अगाडी बढ।
(थापा ज्ञानोदय नमुना माध्यमिक विद्यालय गुल्मीका माध्यमिक तह विज्ञान विषयका स्थायी शिक्षक हुन्।)
प्रतिकृया दिनुहोस्