एउटा शिक्षककको कविता : म पर्खिरहनेछु !

सिकाइ खबर

Byसिकाइ खबर

२० बैशाख २०७७, शनिबार

 

म पर्खिरहनेछु !

मलाई थाहा छ
मेरो सपनासँगै जोडिएको थियो आमा बुवाको सपना !
त्यति मात्रै हैन,
यसै साथ जोडिएका थिए उनीहरूका
कथा र ब्यथा पनि !

छोरोलाई डाक्टर बनाउने उर्जा
उनीहरुले गर्ने परिश्रम अनि पसिना
घर बारी बन्दकी राखेर लिएको कर्जा !
यही सपनामा अडिएको थियो
मेरो अनि उनीहरुको भविष्य !
यही सपना बिपनामा परिणत गर्न
पढे दिन रात नभनी
भन्थे साथीहरू –
‘डाक्टर बनेपछि के गर्छस ?’
जवाफ जे दिए पनि

मन मनै सोच्थे–
‘आमाको मुहारमा खुशी ल्याउछु !’
बर्षौ देखि नफेरेको आमाको फरिया फेरिदिन्छु !
बालकजस्तै आमाको काखमा टाउको राखी
भन्न चाहन्छु– आमा ! तिम्रो छोरो डाक्टर बन्यो
‘अब तिमी बिरामी हुदा पैसा छैन भनी पीडामा बाच्नुपर्दैन !’
यस्तै सोच्थे– बाको भारी बोक्दा फाटेको टोपी फेर्छु !
बा ले अझ लामो पाइला फाल्ने छन्
उनको अनि मेरो
अर्थात् हाम्रो सपना पूरा हुँदैछ भनी ।
त्यो शीरको टोपी मिलाएर अझ उचो बनाइ लगाउनेछन्
छाती चौडा पारी चौतारोमा जम्मा भएकाहरूलाई भन्नेछन् ‘मेरो छोरो डाक्टर बन्यो भनेर !’

फेसबुकमा ‘ट्राभलिङ टु नेपाल’ सहितको
स्टाटस देखेका साथीहरू पर्खिरहेका होलान्
कतिपयले त म्यासेन्जर अनि इमोमा पनि खुसी बाडे
कतिपयले भिडियो कलमा बधाई दिए ।

भन्दै थिए हामीलाई ‘पार्टी’ चाहिन्छ भनेर !
कहिले आउँछ भनी पर्खिरहेका होलान् !
मेरो मन पनि फुरुङ थियो
उनीहरूलाई भेट्न पाउछु भनेर !
अब त नेपाल आइ पुगियो भनेर झ्यालबाट नियाले
खै किन हो मेरा नजरले काठमाडौले हात हल्लाउँदै
बोलाएको जस्तो देख्यो
आमाले आफ्नो बच्चा बोलाएजस्तै गरि !
अरु बेला भन्दा भिन्दै देखेँ

किन–किन आफ्नै जस्तो लाग्यो
माली गाईलाई आफ्नै बाच्छी जस्तो !
बा आमाले पर्खीरहेका होलान्
भन्दै खुसी सञ्चार भयो शरीरमा
जब प्लेन ल्याण्ड गर्दै थियो
………………….

जल्यो शरीर
जल्यो डाक्टरी सर्टिफिकेट
जल्यो सपना !
अन्तिम श्वास फेर्दा पनि सम्झिए–
बाआमा,
साथीहरू
अनि
त्यही सपना !

आमा म भेट्न आउदै थिए तिमीलाई
बाबा तिम्रो सपना तिम्रो नजिक आउदै थियो
तर सकिन
आमा तिमीले दिनहु पुज्ने
त्यही ईश्वरले मलाई प्यारो बनायो !
म भेट्न आउदैथिएँ
तपाईहरु पर्खिरहनुभएको थियो ।
अब म पर्खीरहेकोछु,
र पर्खिरहनेछु
तपाईहरु भेट्न आउनुहोला !

आमा !
यहाँ त त्यो ईश्वरले भेट्न रोक्न सक्दैन होलानी ?

(यु एस बङ्गला बिमान दुर्घटना ज्यान गुमाउनेहरु प्रति समर्पित)

एमसी गौमुखी मावि, ठुलाबेसी प्युठानमा अध्यापनरत छन् ।

प्रतिकृया दिनुहोस्