काठमाडौं । सरकारले कोभिड–१९ बारे अध्ययन–अनुसन्धान गर्न त्रिभुवन विश्वविद्यालयलाई २ करोड बजेट छुट्ट्याए पनि खर्चने अख्तियारी नआउँदा काम थाल्न ढिलाइ भएको छ । उक्त रकम पर्याप्त नरहेको पनि विश्वविद्यालयले जनाएको छ ।

भाइरसले नेपालका विभिन्न क्षेत्रमा पारेको प्रभाव अध्ययन गर्न विश्वविद्यालयले अनुसन्धान केन्द्रहरू र विभागलाई जिम्मेवारी दिएको छ। सरकारले चार अनुसन्धान केन्द्रलाई ५० लाखका दरले उपलब्ध गराएको हो। उक्त रकमको विश्वविद्यालय अनुदान आयोगबाट अख्तियारी प्राप्त भइनसकेको उपकुलपति धर्मकान्त बाँस्कोटाले बताए।

नेपाल र एसियाली अध्ययन केन्द्र (सिनास), व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकास्ट), शिक्षा विकास तथा अनुसन्धान केन्द्र (सेरिड), आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र (सेडा) र माइक्रोबायोलोजी, बायोटेक्नोलाजी, भौतिक शास्त्र विभागले अनुसन्धानको जिम्मा पाएका छन्।

‘विश्वविद्यालयका चारवटै अनुसन्धान केन्द्र निष्क्रिय भएर बसेका थिए। सरकारको थिंक ट्यांकका रूपमा काम गर्नु विश्वविद्यालयको काम हो,’ उनले भने, ‘उचित सुझाव दिएर सहयोगी बन्न अनुसन्धान थाल्ने निष्कर्षमा पुगेका हौं।’ तर, अनुसन्धानका लागि स्रोतसाधन अभाव रहेको उनले गुनासो गरे।

विश्वविद्यालयका अनुसन्धान केन्द्र सक्रिय नहुँदा कतिपय गैरसरकारी संघसंस्थाले सरकारलाई सुझाव दिने गरेका छन्। ती गैरसकारी संस्थामा विश्वविद्यालयकै प्राध्यापकलगायत जनशक्तिहरू रहेको शिक्षाकर्मीहरू बताउँछन्।

उपकुलपति बाँस्कोटाले अनुसन्धानका लागि आवश्यक बजेट खोज्न सरकार र विभिन्न निकायसँग कुराकानी भइरहेको जनाए। छुट्टाछुट्टै ५ समूहले अहिले प्रपोजलसहित पूर्वतयारीको काम गरिरहेका छन्। यीमध्ये माइक्रोबायोलोजी, बायोटेक्नोलोजी र भौतिक शास्त्र विभागले नेपालमा कोरोना भाइरसको प्रकृतिबारे अध्ययन गर्नेछन्।

‘नेपालमा फैलिएको भाइरस कस्तो प्रकृतिको हो, यसको विशेषता चीनमा देखिएको भाइरस वा अमेरिका र युरोपमा देखिएकोसँग मिल्छ कि मिल्दैंन भनेर अध्ययन गर्न निर्देशन दिइएको हो,’ बाँस्काटाले भने। यी ३ विभागले केन्द्रीय प्रयोगशालासँग मिलेर संक्रमित बिरामीको स्याब अध्ययन गर्ने उनले जानकारी दिए।

भाइरसले मुलुकको अर्थतन्त्रमा पुर्‍याउने प्रभाव अनुसन्धान गर्ने जिम्मा सेडालाई दिइएको छ। सामाजिक तथा मानवीय क्षेत्रमा पर्ने प्रभावको अनुसन्धान सिनासले गर्नेछ। त्यस्तै भावी दिनमा महामारीले पुर्‍याउने क्षति न्यूनीकरण गर्न वैज्ञानिक उपकरणको आवश्यकताबारेको अध्ययन रिकास्टले गर्नेछ। यस बेला के–कस्ता पठनपाठन विधि र पद्धति अवलम्बन गरी शैक्षिक क्यालेन्डर नियमित र व्यवस्थित गर्न सकिन्छ भन्ने अध्ययनको जिम्मा सेरिडलाई दिइएको छ।

अनलाइन शिक्षणमा कठिनाइ
शिक्षण संस्थाहरूले लकडाउनका बेला ‘अनलाइन दूरशिक्षा’मा जोड दिएका छन्। तर त्रिविले सुरु गरेको अनलाइन शिक्षणमा कठिनाइ देखिएको छ। कतिपय विभाग र क्याम्पसले यो पद्धतिबाट पठनपाठन थाले पनि विश्वविद्यालयलाई पूर्ण अनलाइनमा लैजान चूनौतीपूर्ण देखिएको उपकुलपति बाँस्कोटाले जानकारी दिए। अनलाइन प्रणालीबाट शिक्षण सम्भावनाको अध्ययन गर्न भौतिक शास्त्र विभागका प्रमुख विनिल अर्यालको संयोजकत्वमा ४ सदस्यीय समिति बनाइएको थियो। समितिले इन्टरनेट, कम्प्युटर, ल्यापटपलगायत सामग्रीको पहुँच नभएका प्राध्यापकसमेत रहेको औंल्याएको छ।

‘दूरदराजमा रहेका विद्यार्थी इन्टरनेटको पहुँचमा छैनन्। उनीहरूसँग अध्ययनका लागि कम्प्युटर, ल्याबटप, मोबाइल पनि छैन,’ अर्यालले भने, ‘सबै शिक्षकसँग पनि अनलाइन कक्षा चलाउने सीप नभएको पाइयो।’ प्रविधिमा पोख्त, मध्यम र ज्ञानसिप नै नभएका गरी विश्वविद्यालयमा तीनथरी प्राध्यापक छन्। मध्यम क्षमता भएकालाई तालिम दिन थालिएको विश्वविद्यालयले जनाएको छ। ‘लकडाउन खुलेपछिको सहज अवस्थामा पनि कतिपय विभाग र विषयको पढाइलाई अनलाइन प्रणालीमै निरन्तर गर्ने गरी काम गरिरहेका छौं,’ उपकुलपति बाँस्कोटाले भने।

सुदीप कैनीले कान्तिपुरमा खबर लेखेका छन् ।

प्रतिकृया दिनुहोस्