काठमाडौँ । सरकारले देशभरका सामुदायिक विद्यालय र क्याम्पसमा उच्च गतिको इन्टरनेट सुविधा पुर्याउने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विद्यालय र क्याम्पसहरुमा उच्चगतिको इनटरनेटको पहुँच विस्तार र सूचना प्रविधि प्रयोगशाला स्थापना गर्ने बताइन् ।

अनलाइन शिक्षाको विस्तारको लागि सरकारले शिक्षण संस्थालाई प्रविधिमैत्री बनाउँदै विद्युतीय शिक्षण सामग्री उत्पादन गर्ने भएको छ ।

विद्यालय तहमा विज्ञान शिक्षणलाई प्रभावकारी र रुचीकर बनाउन बैज्ञानिक शिक्षण विधिलाई जोड दिने सरकारको योजना रहेको छ । साथै, विज्ञान अध्ययन केन्द्रहरुको स्थापना गरिने जनाइएको छ ।

प्राविधिक जनशक्तिको अभाव हटाउन प्राविधिक शिक्षाको विस्तार गरिने राष्ट्रपति भण्डारीले बताइन् । ६०७ स्थानीय तहमा प्राविधिक तथा व्यवसायिक शिक्षाको पहुँच विस्तार गर्न सरकार सफल भएकोसमेत उनले बताइन् ।

आगामी तीनवर्षमा सबै सामुदायिक विदालय तथा प्राविधिक शिक्षालयहरुलाई पूर्वाधार सम्पन्न शिक्षण संस्थाकोरुपमा विकास गर्ने सरकारको कार्यक्रम रहेको छ ।

विद्यालय तहको पाठ्यक्रममा नेपालको गौरव, संस्कृति, सभ्यता र मूल्यमान्यता राष्ट्रिय एकताको सम्बद्र्धन एवं नागरिक कर्तव्यबोधका विषयहरु समेत समावेश गर्ने सरकारको कार्यक्रम रहेको भण्डारीले बताइन् ।

पाँच वर्ष मुनिका बालबालिकाहरुको सर्वागीण विकासका लागि स्थानीय तहमा प्रारम्भिक बालविकास कार्यक्रम सञ्चालन गर्ने सरकारको कार्यक्रम देखिन्छ ।

गत वर्षहरुमा जस्तै यो वर्षपनि विद्यार्थी भर्ना कार्यक्रमलाई निरन्तरता दिइएको छ । विगत दुई वर्षमा विद्यालय बाहिर रहेका २ लाख ७० हजार बालबालिकालाई विद्यालय भर्ना गर्न सरकार सफल रहेको उल्लेख गर्दै विद्यार्थी भर्ना अभियानलाई निरन्तरता दिँदै सबै नागरिकलाई कम्तीमा माध्यमिक तहमा पुरा गर्ने वातावरण बनाउने नीति लिइएको हो ।

गतवर्षदेखि सुरु गरिएको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई थप प्रभावकारी बनाउने नीति कार्यक्रममा उल्लेख छ । विद्यालयको नक्सांकन गरी विद्यार्थी संख्याको आधारमा समायोजन गरिने कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

विश्वविद्यालयहरुको अध्ययन अध्यापनलाई अनुसन्धानमा आधारित बनाउने सरकारको कार्यक्रम रहेको छ ।

राष्ट्रपति भण्डारीले विश्वविद्यालयको संरचनागत अन्य आवश्यक सुधार गरी शैक्षिक गुणस्तर वृद्धि गर्ने सरकारको कार्यक्रम रहेको बताइन् ।

विश्वविद्यालयका पाठ्यक्रमलाई समयसापेक्ष बनाइने साथै, त्रिभुवन विश्वविद्यालय अन्तर्गतका अनुसन्धान केन्द्रहरुलाई सुदृढ गरी विशिष्टिकृत अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने सरकारको नीति तथा कार्यक्रम रहेको राष्ट्रपति भण्डारीले बताइन् ।

यस्तै, विज्ञान प्रविधि सम्बन्धी उच्च शिक्षालाई अनुसन्धानमुखी बनाइने जनाइएको छ । अनुसन्धानको गुणस्तर सुनिश्चित गर्ने सयन्त्र बनाइनेसमेत सरकारले जनाएको छ ।

मदनभण्डारी प्रद्यौगिक विश्वविद्यालय र योगमाया आयुर्वेद विश्वविद्यालय स्थापना र सञ्चालनका लागि आवश्यक तयारी पुरा गरिने छ ।
‘चिनांै आफ्ना माटो बनाउ आफ्नै देश’ अभियान सञ्चालन गरी स्नातकोत्तर युवाहरुलाई विकास निर्माण तथा शैक्षिक विकास सम्बन्धी कार्यक्रममा मुलुकभर परिचालन गरिनेछ ।

राष्ट्रिय आवश्यकता र अन्तर्राष्ट्रिय अवसरका आधारमा जनशक्ति प्रक्षेपण गरी विषय क्षेत्रगत जनशक्ति उत्पादन गर्ने सरकारको योजना रहेको छ । राष्ट्रिय योग्यता प्रारुपको ढाँचा कार्यान्वयनमा ल्याइने जनाइएको छ ।

विकास निर्माण र सामाजिक सेवाका क्षेत्रमा विशेषज्ञ जनशक्तिको अभाव रहेको छ । आवश्यक जनशक्ति विकासको लागि कृषि तथा वन, पर्यावरण, विज्ञान तथा प्रविधि, चिकित्सा, आयुर्वेद, पर्यटन, इञ्जिनियरिङ, आर्टिफिसियल इन्टीलिजेन्स, सुरुङ प्रविधि, रक इञ्जिनियरिङ, खनिज, अन्वेक्षण, जलविद्युत, नवीकरणीय उर्जालगायतका विशिष्ट विधामा उच्च शिक्षा उपलब्ध गराउने व्यवस्था मिलाइने सरकारको नीति रहेको छ ।

स्वदेशमै विज्ञान र प्रविधिको क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको अध्ययन, अध्यापन र अनुसन्धान गर्न सक्ने विश्वविद्यालयको रुपमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना र सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माणका कार्यहरु तिब्ररुपमा अघि बढाइने सरकारको कार्यक्रम रहेको छ ।

प्रतिकृया दिनुहोस्