शिक्षकहरुको क्षमता परीक्षण पलपलमा भइरहेको हुन्छ

सिकाइ खबर

Byसिकाइ खबर

३ जेष्ठ २०७७, शनिबार

दिवाकर दूरदर्शी
प्रधानाध्यापक
शिवपुरी माध्यमिक विद्यालय, महाराजगञ्ज

विद्यालयको समग्र अवस्था कस्तो छ ?
समग्रमा भन्नुपर्दा विद्यालयको अवस्था राम्रो छ । यस विद्यालयको शैक्षिक पक्ष राम्रो छ । गुणस्तरीय शिक्षाका लागि हामी कटिबद्ध छौं । विद्यालयको भौतिक पक्ष सुदृढ छ ।  विद्यालयमा विज्ञान प्रयोगशाला, गणीत प्रयोगशाला, अडियो भिजुअल कक्ष, आइ.सि.टि. ल्याव, शुद्ध पिउने पानी, चमेना गृहको व्यबस्था आदि रहेको छ । विद्यालयमा तालिम प्राप्त शिक्षक शिक्षिकाहरु हुनुहुन्छ । विद्यालयको व्यबस्थापकीय पक्ष राम्रो छ । वि. व्य. स., शि. अ. संघ तथा अभिभावकहरुसँग निरन्तर भेटघाट तथा अन्तरक्रिया हुन्छ भने प्राप्त सुझाबलाई कार्यान्वयन गर्ने गर्दछौं । विद्यालयमा बालमैत्री वातावरण छ । विद्यार्थीहरुले आफ्नो इच्छा अनुसार शिक्षण सिकाइ क्रियाकलापमा भाग लिन सक्छन् । विद्यालयको आर्थिक अवस्था सन्तोषजनक रहेको छ । यस अर्थमा भन्नुपर्दा विद्यालयको समग्र अवस्था राम्रो रहेको छ ।

शैक्षिक सुधारका लागि विद्यालयमा भएका फरक अभ्यासहरु के–के छन् ?
शैक्षिक सुधारका लागि विद्यालयले विविध कार्यक्रमहरु सञ्चालन गर्ने गरेको छ । शिक्षकहरु कक्षाकोठामा जाँदा अनिवार्य योजनाबद्ध शिक्षण योजना सहित जानुपर्ने हुन्छ । शिक्षण सिकाइका क्रममा विद्यार्थीहरुलाइ परियोजना कार्यमा सहभागी गराउनु पर्नेछ । पाठ्यपुस्तकलाई मात्र आधार नमानी विभिन्न सामग्रीहरु प्रयोग गरी शिक्षण गराउनु पर्नेछ । शिक्षण सिकाइ क्रियाकलापमा सूचना प्रविधिको प्रयोग गरी मनोरञ्जनात्मक तथा खोजमुलक विधिहरु प्रयोग गरी शिक्षण सिकाइमा जोड दिइने गरिएको छ । गणित शिक्षणका क्रममा विद्यार्थीहरुलाई गणित प्रयोगशालामै लगेर अध्यापन गर्ने गरेका छौं । साना कक्षाका नानीबाबुहरुलाई खेलकुद र संगितका माध्यमबाट सिकाउने गरिएको छ । साथै विद्यार्थीहरुले वर्षभरि सिकेका सीपका आधारमा वर्षको एक पटक  “शैक्षिक प्रर्दशनी” आयोजना गरी विद्यार्थीहरुलाई प्रोत्साहित गर्ने गरेका छांै । प्रत्येक परीक्षा पश्चात् नतिजा विश्लेषण गरी सुधारका लागि कार्ययोजना निर्माण गरिन्छ । कमजोर विद्यार्थीहरुका लागि विशेष कक्षाहरु संचालन गरिन्छ । प्रयोगात्मक भएको विषयमा अनिवार्य प्रयोगात्मक अभ्यासहरु गराइन्छ । पठनपाठनका बारेमा देखिएका समस्याहरुका बारेमा विद्यार्थीहरुसँग नियमित छलफल गरिन्छ ।

सिकाइस्तरको अवस्था के छ ?
सिकाइको स्तर नाप्ने माध्यम नै परीक्षाको नतिजालाई लिइएको वर्तमान अवस्थामा हाम्रो अवस्थापनि  सन्तोषजनक  रहेको छ । परीक्षाको नतिजालाई मात्र नहेरी विद्यार्थीहरुमा  आएका व्यवहारिक परिवर्तन उनीहरुले समाजमा दिन सक्ने योगदानको  आधारमा भन्ने हो भने यस विद्यालयबाट उत्पादन भएका विद्यार्थीहरुको अवस्था राम्रो पाएका छँौ । यसको प्रमाणको रुपमा यस विद्यालयबाट उत्तीर्ण गरेका विद्यार्थीहरु आ–आफ्नो ठाउँमा छुट्टै पहिचान बनाएर कार्य गरिरहेको पाउँदा हामीलाई ज्यादै खुशी बनाउँछ । २०७६ सालमा काठमाडौं महा नगरपालिकाले महानगर भित्रको शिक्षण सिकाइका साथै उत्कृष्ट व्यवस्थापन भएबापत शिक्षा दिवसको उपलक्षमा पुरस्कृत गरेकोे कुरा जानाकारी गराउन चाहन्छु ।

सामुदायिक विद्यालयको अवस्था देशभर खस्किदै गइरहेको भनिन्छ । यसको कारण के हो जस्तो लाग्छ ?
सामुदायिक विद्यालयको अवस्था खस्काउने कार्यमा एउटा पक्ष मात्र नभै नीति निर्माण गर्ने, त्यसको कार्यन्वयन गर्ने, अनुगमन गर्ने, विद्यालयसँग प्रत्यक्ष वा अप्रत्यक्ष संलग्न सबै पक्ष जिम्मेवार छन् । सामुदायिक विद्यालयको अवस्था नाजुक छ भनेर अहोरात्र भनिरहँदा सामुदायिक विद्यालय उठ्नै नसक्ने अवस्थामा पुगेको छ । राम्रो अभ्यास गर्ने सामुदायिक विद्यालयको बारेमा एदाकदा मात्र चर्चा गरिन्छ । सामुदायिक विद्यालयले के कस्ता समस्याहरु भोगेका छन् त्यस्को चर्चा कमै गरिन्छ ।  सामुदायिक विद्यालयमा यहाँ यहाँ  कमिकमजोरी छ र त्यो कमि कमजोरीलाई यसरी सुधार्नु पर्छ भनेर कमै व्यक्तिहरुले सुझाव दिने गर्छन् । सामुदायिक विद्यालयमा शिक्षण गर्ने शिक्षकहरुको मानमर्दन गरिन्छ ।

शिक्षकको यहाँ यस्तो कमजोरी छ त्यसलाई यसरी सुर्धानु पर्छ भनेर कमै व्यक्तिहरुले भन्ने गरेका छन् । यसको अर्थ शिक्षकको कुनै कमजोरी छैन भन्न खोजेको चाहिँ हैन ।  विद्यालय सञ्चालनको क्रममा प्रधानाध्यापकलाई के कस्ता अप्ठ्याराहरु परेका छन त्यसलाई कसरी समाधान गर्नुपर्छ भन्ने कुरामा कमै ध्यान जाने गरेको छ । सामुदायिक विद्यालयमा कस्ता विद्यार्थीहरु अध्ययन गर्न आउँछन् र तिनीहरुको सामाजिक अवस्था कस्तो छ भन्ने कुरालाई ध्यान दिइने गरिएको छैन । खाली हामी निजी विद्यालयका नतिजासँग मात्र सामुदायिक विद्यालयको नतिजा तुलना गरेर सामुदायिक विद्यालयको स्तर खस्केको भनेर हाम्रो मानसिकता बनाइरहेका छाँै । तर उत्पादित विद्यार्थीहरुले देशको प्रशासनिक, राजनैतिक, आर्थिक, औद्योगिक, व्यापारिक, शैक्षिक, व्यवहारिक एवम् समग्र सामाजिक जीवनस्तर निर्धारणमा कस्तो भूमिका खेलिरहेका छन् भनेर यदि हामीले लेखाजोखा गर्ने हो भने सामुदायिक विद्यालयहरुबाट उत्पादित विद्यार्थीहरुको भूमिका निजी विद्यालबाट उत्पादित विद्यार्थीहरुको भन्दा निकै अब्बल रहेको देखिन्छ । हामी सबैले आ–आफ्नो क्षेत्रबाट इमान्दारिकताका साथ आफ्नो जिम्मेवारी निभायौैँ भने सामुदायिक विद्यालयको स्तर उकास्न सकिन्छ ।

अभिभावकहरुले त अझैपनि सामुदायिक विद्यालयलाई पत्याएको देखिदैन नि ?
अभिभावकले सामुदायिक विद्यालयलाई पत्याउनुभएकै छैन भन्ने कुरामा त्यति सत्यता छैन । अहिले पनि बहुसंख्यक विद्यार्थीहरु सामुदायिक विद्यालयमा नै अध्ययन गरिरहेका छन् । एउटा कुरा चाहिँ के हो भने समाजमा रहेका एक खालका अभिभावकहरु छन् जसले सामाजिक प्रतिष्ठाका लागि पनि सामुदायिक विद्यालयमा आफ्ना विद्यार्थीहरु पठाउदैनन् । त्यसैलाई आधार मानेर अभिभावकहरुले सामुदायिक विद्यालयलाई पत्याएनन् भनेर आफ्नो धारणा बनाउँदा  अन्याय हुन्छ कि ? अहिले पनि नेपालमा कयौं सामुदायिक विद्यालयहरु छन्, त्यहाँ अभिभावकहरु आफ्ना बालबालिकालाई पढाउनका  लागि प्रतिस्पर्धा गरेको पाइन्छ । हामीले एउटा गलत धारणा बनाएका छौं । अङ्गे्रेजीमा पढ्यो भने गुणस्तर र नेपालीमा पढ्यो भने गुणस्तरहीन भन्ने अनि सामुदायिक विद्यालयमा नेपालीमा मात्र पढाइन्छ भन्ने यस्ता थुप्रै कारणहरु छन् जसले सामुदायिक विद्यालयलाई अभिभावकबाट टाढै राख्न सहयोग गरेको छ ।

अहिले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको क्षमतामा बारम्बार प्रश्न उठ्ने गर्छ ।  सुधारका लागि के गर्नुपर्ला ?
सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुको क्षमतामा बारम्बार प्रश्न उठ्ने गरेको छ भन्ने कुरामा केहि सत्यता छ । तर, क्षमताको कुरा भन्दा शिक्षकहरुको जिम्मेवारी र कर्तव्यपालनामा प्रश्न उठ्ने गरेका हुन् । क्षमताको हिसाबले हेर्ने हो भने सामुदायिक विद्यालयमा जति क्षमतावान शिक्षक अन्यत्र पाउन सकिन्न । शिक्षक सेवा आयोगबाट परीक्षा लिएर प्रतिस्पर्धी शिक्षकहरु शिक्षण पेसामा आएका छन् । एउटा कुरा चाहिँ के सत्यता हो भने केहि क्षमतावान शिक्षकहरुले पनि आफ्नो क्षमता कक्षाकोठामा देखाइराखेका छैनन् ।  यो अहिलेको प्रमुख समस्या हो । त्यसको समाधानको लागि विद्यालय प्रशासनले सहयोग गर्ने, शिक्षकको क्षमता के कारणले गर्दा कक्षाकोठामा प्रस्तुत गर्न सकिएको छैन् त्यसको अनुगमन गर्ने, शिक्षकको मनोबल उच्च बनाउनको लागि प्र.अले विभिन्न उपायहरु अवलम्बन गर्ने, आवश्यक पुनर्ताजगी तालिमको व्यवस्था गर्ने, सामूहिक भावनाको विकास गर्ने साथै आफ्नो जिम्मेवारी बोध गराउन सके शिक्षकको क्षमतामा उठ्ने प्रश्नहरु स्वतः कम हुँदै जान्छन् ।

शिक्षकहरुको बेला बेलामा क्षमता परिक्षण हुनुपर्ला कि नपर्ला ?
शिक्षकहरुको क्षमता परीक्षण पलपलमा भइरहेको हुन्छ । शिक्षकको आफ्नो सेवा अवधिमा हजारौं विद्यार्थीहरुले क्षमताको परीक्षण गरिरहेका हुन्छन् । यति मात्र होकि त्यो परीक्षामा आफू सफल हुने होकि होइन । त्यो कुरा आफूमा भर पर्दछ । शिक्षकले आफ्नो क्षमता परीक्षणमा सफल हुनका लागि आफूलाई समय सापेक्ष सुधार गर्दै लैजानु पर्ने हुन्छ र विषय वस्तुमा पनि अपडेट भइरहनु पर्दछ । तथापि शिक्षकहरुलाई जिम्मेवार बनाउनको लागि १०/१५ वर्षको बीचमा क्षमता परीक्षण गर्दा राम्रो हुनेछ । तर, क्षमता परीक्षणमा विषय वस्तुलाई मात्र नहेरी शिक्षकका सकारात्मक सोच, समूहमा कामगर्ने क्षमता, शिक्षण विधि, पेशागत दक्षता, सामाजिक सम्बन्ध, नेतृत्व विकास जस्ता विषय वस्तु समेटेर परीक्षण गर्दा राम्रो होला जस्तो लाग्दछ ।

सरकारले दिने शिक्षक तालिम, पाठ्यक्रम, परीक्षा प्रणाली, मूल्याङ्कनबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
सरकारले त्यत्रो लगानी गरेर सञ्चालन गरेको तालिम, पाठ्यक्रम, परीक्षा प्रणाली मूल्याङ्कनबाट सन्तुष्ट त हुनै पर्दछ तर पनि सुधार गर्नुपर्ने पक्षहरु धेरै छन् । शिक्षक तालिमका लागि नीति नियम बनाउँदा जुन उद्देश्य राखेर बनाइन्छ कार्यान्वयन तहमा पुग्दा उद्देश्य सोचे जति पूरा भएको पाइन्न । यस्तो हुनुमा कार्यान्वयन पक्ष फितलो होकि जस्तो लाग्छ । शिक्षकले पनि तालिममा सिकेका सीपहरु कक्षा कोठामा बढी भन्दा बढी प्रयोग गर्नुपर्दछ । पाठ्यक्रम वैज्ञानिक र समयानुकुल परिमार्जित हुनु आवश्यक हुन्छ । परीक्षा प्रणालीमा पनि सुधार आवश्यक छ । मूल्याङ्कनका पक्षहरु ज्यादै कमजोर छन् । चाहे केन्द्रबाट होस्, प्रदेशबाट होस् या स्थानीय तहबाट होस् सबैले आ–आफ्नो ठाउँबाट मूल्याङ्कन गरी राम्रोलाई हौसला र अवसरका साथै कमजोरलाई सुधारका लागि उत्प्रेरणा र सुझाव दिनुपर्ने देखिन्छ ।

एउटा विद्यालय राम्रो बनाउनका लागि एकजना प्रअको कस्तो भूमिका रहन्छ ?
एउटा विद्यालय सफल बनाउनका लागि प्र.अ.को भूमिका प्रमुख हुन्छ । विद्यालयका योजना नीति नियम तर्जुमाका साथै तमाम गतिविधिहरुमा प्र.अ.को नै नेतृत्वदायी भूमिका रहने भएकाले नेतृत्व सफल भएमा संस्था सफल हुन्छ । विद्यालयको योजना निर्माणमा सबैलाई सहभागी गराएर निर्माण गरेमा कार्यान्वयन सफल हुन्छ । शिक्षक कर्मचारीहरुको मनोबल उच्च बनाउने कार्यमा प्र.अ.को महत्वपूर्ण भूमिका रहन्छ । विद्यालयमा प्राप्त स्रोत र साधनहरुको उचित प्रयोग गर्ने कार्यमा प्र.अ.को ठूलो हात रहन्छ । विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, अभिभावक, शिक्षक कर्मचारी र विद्यार्थीहरु बीचको समन्वय र सुमधुर सम्बन्धको लागि प्र.अ.को प्रमुख भूमिका हुन्छ । विद्यालयमा सञ्चालन गरिएका कार्यक्रमहरु के कति मात्रामा सफल भए र के कति मात्रामा सफल हुन सकेनन् त्यसको मूल्याङ्कन गरी आगामि दिनका लागि कार्ययोजनाहरु निर्माण गरी कार्यान्वयन गर्नमा पनि प्र.अ.को त्यतिकै महत्वपूर्ण भूमिका हुन्छ । त्यस्तै विभिन्न संघ संस्थाहरुसँग सम्बन्ध स्थापना गरी विद्यालयको लागि सहयोग आदानप्रदान गर्नमा पनि प्र.अ.ले नै प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । तथापि प्रधानाध्यापक एक्लैले मात्र विद्यालय बनाउन सकिन्न ।

यो विद्यालयमा नै विद्यार्थीहरु किन पढाउने ?
यो शिवपुरी माध्यमिक विद्यालय काठमाडौंको मुटुमा रहेको एउटा चीर परिचित सामुदायिक विद्यालय हो । यसका शैक्षिक पक्ष, भौतिक पक्ष, व्यवस्थापकीय पक्ष, बातावरणिय पक्ष र आर्थिक पक्ष सबै कुराले राम्रो भएकाले यस विद्यालयमा अध्ययन गर्नका लागि विद्यार्थीहरुलाई अनुरोध गर्दछौं । पाठ्यपुस्तकको ज्ञानमा मात्र सीमित नरही विभिन्न सन्दर्भ सामग्रीहरुको प्रयोगका साथसाथै शिक्षण सिकाई प्रक्रियामा श्रव्यदृष्य र सूचना प्रविधिको समेत अधिकतम प्रयोग गरी पठन–पाठन गर्नुका साथै खेलकुद तथा विविध अतिरिक्त क्रियाकलापहरुमा समेत विद्यार्थीहरुको सहभागितालाई उत्तिकै महत्वका साथ स्थान दिइने गरेकोले यो विद्यालय विद्यार्थीहरुको चौतर्फी विकासको लागि एउटा उपयुक्त गन्तव्य रहेको कुरामा अभिभावकहरुलाई विश्वास दिलाउन चाहान्छौंं ।

तपाईं यस विद्यालयमा कहिले प्र.अ. बन्नुभयो ? तपाईं प्र.अ. बनेपछि के–के सुधार गर्नुभयो ?
म यस विद्यालयको प्र.अ. पदमा २०६८ सालमा नियुक्त भएको थिएँ भने त्यस भन्दा पहिले यसै विद्यालयमा सहायक प्रधानाध्यापकको रुपमा कार्यरत थिएँ । सहायक प्र.अ. हुँदा पनि प्र.अ.सँग सहकार्य गर्दै आएको हुनाले प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्दा त्यति नौलो अनुभव मैले गरिन । यो विद्यालय राम्रो बनाउनका लागि पूर्व प्र.अ.हरुको पनि महत्वपूर्ण भूमिका थियो र उहाँहरुले मलाई एउटा सुदृढ विद्यालयको जिम्मेवारी सुम्पिनु भएकाले उहाँहरुप्रति आभार व्यक्त गर्न चहान्छु । म यो विद्यालयको प्र.अ. पदको जिम्मेवारीमा आइसकेपछि विद्यालयका ६ वटा पक्षहरुलाई सूचकको रुपमा लिएर कार्ययोजना निर्माण गरियो । ती ६ वटा पक्षहरु निम्नानुसार रहेका छन् । विद्यालयको शैक्षिक पक्ष, व्यवस्थापकीय पक्ष, मानवीय पक्ष, सामाजिक पक्ष, वातावरणीय पक्ष र आर्थिक पक्ष । विद्यालयको शैक्षिक अवस्थामा सुधार ल्याउन शिक्षक अभिभावक तथा विद्यार्थीहरुसँग नियमित अन्तरक्रिया गर्ने, शिक्षण सिकाइमा देखिएका समस्याहरुको कारण पहिल्याउने र त्यसको समाधानको लागि उपायहरुको वारेमा छलफल गर्ने । शिक्षण सिकाईमा सूचना प्रविधिको अधिकतम् प्रयोग गर्ने । वर्षमा एकपटक राम्रा सामुदायिक विद्यालयहरुमा वि.व्य.स., शिक्षक कर्मचारीहरुको भ्रमण गरी असल अभ्यासहरु विद्यालयमा प्रयोग गर्ने । विद्यालयका योजना निर्माणमा वि.व्य.स., शिक्षक अभिभावक संघको सहयोग लिने, विद्यार्थीहरुको पठनपाठनमा अभिभावकज्यूहरुलाई पनि जिम्मेवार बनाउनका लागि अभिभावक भेलामा बढी भन्दा बढी अभिभावकहरुको उपस्थितिको लागि प्रयास गरियो । विद्यालयका भौतिक साधन खरीद वा निर्माण गर्दा विद्यालयको शिक्षण सिकाईसँग प्रत्यक्ष सम्बन्ध राख्ने कुरामा बढी भन्दा बढी खर्च गर्ने नीतिहरु लागू गरियो ।

 विद्यालय सुधारका लागि तपाईंका योजनाहरु के–के छन् ?
विद्यालय सुधार योजना निमार्ण गर्दा गुणस्तरीय शिक्षा, कुसल विद्यालय व्यवस्थापन, सुदृढ विद्यालयको भौतिक अवस्था,सामाजिक सम्बन्ध स्थापना, बालमैत्री विद्यालयको वातावरण र सक्षम आर्थिक अवस्थालाई ध्यानमा राखेर गरिएकोछ । शैक्षिक वर्षको शुरुमा विगत वर्षहरुमा विद्यालयमा भए गरेका राम्रा कामहरुको बारेमा छलफल गरिन्छ र त्यसलाई आगामि वर्षहरुमा अझ राम्रो गर्नका लागि के गर्न सकिन्छ त्यसको वारेमा छलफल गरिन्छ भने विगत वर्षहरुमा पूरा गर्न नसकिएका कार्यहरुको समिक्षा गरी पूरा गर्न नसक्नुका कारणहरु पहिल्याई आगामी वर्षमा सुधारका लागि योजना निर्माण गरिन्छ । शिक्षण सिकाईमा प्रयोगात्मक र परियोजना विधि प्रयोग गर्नका लागि शिक्षकहरुलाई योजना निर्माण गर्न लगाइन्छ । विद्यालयमा निर्माण गरिएका विभिन्न समितिहरुबाट निर्माण गरिएको वार्षिक योजनालााई समावेश गरेर विद्यालयको शैक्षिक क्यालेण्डर निर्माण गर्ने गरिएकोछ । विद्यालयमा प्राविधिक विषयको अध्ययन अध्यापनको लागि विद्यालयको भावी योजनामा समावेश गरिएकोछ ।

स्थानीय समुदायको सहयोग कत्तिको छ ?
विद्यालयलाई स्थानीय समुदायको तर्फबाट प्राप्त सहयोगको कारणले नै यो विद्यालय सफल विद्यालय हुन सम्भव भएको हो । स्थानीय समुदायबाट आ–आफ्ना बालबालिकाहरु विद्यालयमा पठाएर, विद्यालयले सञ्चालन गरेका विविध कार्यक्रमहरुमा सहभागी भएर, विद्यालयका राम्रा पक्षहरुको प्रचार प्रसार गरेर र सुधार गर्नुपर्ने पक्षका वारेमा विद्यालयलाई आवश्यक सुझावहरु दिएर, विद्यालयको भौतिक तथा आर्थिक विकासको लागि आ–आफ्नो क्षेत्रबाट निरन्तर सहयोग गरि दिनु भएको छ ।

शिक्षा सुधार नहुनुमा सरकारको नीतिमा समस्या देख्नुहुन्छ  कि नियतमा ?
सामुदायिक विद्यालय शिक्षामा सुधार नहुनुमा एउटा वा दुईवटा पक्षमा मात्र नभई धेरै पक्षका कमि कमजोरीहरु जिम्मेवार छन् । नीति र नियत दुबै पक्षमा केही न केही कमि कमजोरीहरु रहेका छन् । शिक्षाका नीति निर्माण गर्नका लागि बनेका आयोगहरुबाट प्राप्त सुझाबहरु नीति निर्माणको बेलामा नसमेटिएका गुनासाहरु आइरहेका छन् । लामो समयदेखि शिक्षा ऐन निर्माण गर्न सकिएको छैन । सामुदायिक शिक्षा र निजी शिक्षा बीचका खाडलहरु कम गर्नका लागि आवश्यक कदमहरु चालिएका छैनन् । लामो समय सम्म विद्यालयहरुमा स्थायी शिक्षकहरुको पदपूर्ति नगरिँदा सत्र थरीका शिक्षकहरु राखेर सामुदायिक शिक्षालाई संक्रमणकालिन शिक्षाको रुपमा स्थापित गरिएको अवस्था ताजै छ र विद्यालय कर्मचारीहरुको अवस्था अहिले पनि दयनीय छ । उनीहरुको वृत्ति विकास र पेशागत सुरक्षाको प्रत्याभूति अहिले सम्म हुन सकेको छैन । शिक्षा नीति निर्माणमा विभिन्न कोणबाट हस्तक्षेप भएका कुराहरु पनि यदाकदा सुनिन आएकोछ । दीगो शिक्षा नीति निर्माण नगरी सधैं जसो टालटुले अस्थायी किसिमको नीतिमा आधारित रहेर सामुदायिक शिक्षाको सुधार कसरी हुन सक्छ ? त्यसकारण शिक्षा नीति र नियतमा विद्यमान कमि कमजोरीहरु हटाएर अगाडि बढ्न सकियो भने आगामी दिनमा सामुदायिक शिक्षाको भविष्य उज्वल छ ।

हाम्रा शिक्षकहरुलाई साँच्चै ‘गुरु’ बनाउन के गर्नुपर्ला ?
यस प्रश्नले हालका शिक्षकहरु ‘गुरु’ बनेका छैनन् भन्ने आशय राख्दछ, त्यो अलि अन्याय हुन्छ कि ? भलै सबै शिक्षकहरु ‘गुरु’ छैनन् होला । शिक्षकलाई ‘गुरु’ अरुले बनाईदिने होइन, आफै बन्ने हो । गुरु बन्नका लागि अरुका लागि अनुकरणिय बन्नुपर्यो । चरित्रवान् बन्नुप¥यो । आफ्नो काम र कर्तव्यप्रति निष्ठावान् बन्नु पर्यो । आफूलाई समयसापेक्ष अपडेट गरिराख्नुपर्यो । सकारात्मक सोच राख्नुपर्यो । सहयोगी भावनाको विकास गर्नु पर्यो र सबैसँग सुमधुर सम्वन्ध कायम गर्ने क्षमता हुनुपर्यो । आफुले आफैलाई मुल्याङ्कन् गर्दै म ‘गुरु’ बन्न सके की सकिन विचार पुर्याउन सक्नुपर्छ । यि माथिका कार्य गर्न सक्ने व्यक्ति आफै ‘गुरु’ बन्न सक्छन् । हाम्रो पूर्वीय संस्कृति र परम्परा अुनसार सिकाउने व्यक्तिलाई गुरु र सिक्ने व्यक्तिलाई शिष्य (चेला) भनिदै आइएको अभ्यास देखिन्छ । यही चार दशक जतिको अवधिमा शिक्षकलाई पढाउने व्यक्ति भनेर अथ्र्याइयो जसको सारभूत अर्थ सैद्दान्तिक ज्ञान दिनमा सीमित भयो र त्यसैले पनि विद्यार्थीहरुको व्यवहारिक पक्ष कमजोर बनाउनमा भूमिका खेलेको छ । आगामि दिनमा हामीले विद्यार्थीहरुलाई सैद्दान्तिक ज्ञानका साथै व्यवहारिक सीपमा समेत पोख्त बनाउनु पर्ने टड्कारो अवस्था आइसकेको छ जसले गर्दा विद्यालय शिक्षा पूरा गर्ने वित्तिकै आजको जस्तो वेरोजगार होइन कि आत्मनिर्भर नागरिक बन्न सकोस् । यसरी अबका दिनमा हामीले पुनः आफ्नै संस्कृतिलाई अगाल्नु पर्नेछ र शिक्षकले कक्षाकोठामा पढाउने होइन सिकाउने व्यक्तिको रुपमा प्रस्तुत हुनुपर्नेछ भने गुरु र शिष्यको साइनो स्वतः फेरि स्थापित हुनेछ ।

सरकारको ठूलो लगानीका बाबजुद सामुदायिक विद्यालयको गुणस्तर कम देखिन्छ । यसको कारण केलाई मान्नुहुन्छ ?
लगानीले मात्रै शिक्षामा गुणस्तर आउने होइन । लगानी एउटा पक्ष चाहिँ हो । अहिलेको शिक्षाको ठूलो लगानी शिक्षक कर्मचारीको तलवमा खर्च गरिएको छ । विद्यालय शिक्षा निशुल्क भनिएको छ र विद्यालय दैनिक सञ्चालनका लागि आवश्यक रकमको अभाव छ । जस्तैखानेपानी, शौचालय, कर्मचारीको व्यवस्थापनका लागि रकमको अभाव रहेको छ । निशुल्क शिक्षा भनेपछि अभिभावकबाट पनि त्यति चासो राखेको पाइँदैन । सामुदायिक विद्यालयको गुणस्तर किन कम भयो भनेर सोच्दा एउटा ख्याल गर्नुपर्ने पक्ष चाहिँ कस्तो सामाजिक अवस्थाबाट गुज्रेका बालबालिका सामुदायिक विद्यालयमा पढ्न आउँछन् महत्वपूर्ण हो । सामुदायिक विद्यालयमा जति कक्षामा भर्ना हुन आएपनि भर्ना गर्नुपर्ने हुन्छ । अभिभावकज्युहरुबाट उनीहरुको पढाइमा आवश्यक रेखदेखको कमी रहेको छ । बहुसङ्ख्यक अभिभावकज्युहरुलाई रोजीरोटीको समस्या रहेको छ । तथापि विद्यालयको गुणस्तर कम देखिनुमा हामी शिक्षकहरुको पनि जिम्मेवारीबाट पन्छिने जस्ता कमजोरीहरु रहेका छन् । त्यसलाई नसुधारिकन कुनै विकल्प नै छैन ।

प्रतिकृया दिनुहोस्