क्षमायाचनासहित भूल सुधार

कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट गुल्मीका ४१ वर्षीय पुरुषको रुपन्देही, मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको समाचार अस्पतालको विश्वस्त स्रोतले बताएका आधारमा हामीले समाचार प्रकाशित गरेका थियौं । तर, अस्पतालले उनी जिउँदै रहेको भन्दै वक्तव्य जारी गरेका कारण समाचारमा तथ्यगत त्रुटी ठहरिन गएकाले क्षमायाचना सहित उक्त समाचारको कन्टेन हटाइएको छ । यसबाट आम पाठक वर्ग एवं बिरामीका परिवारजनमा पर्न गएको मर्काप्रति क्षमायाचना गर्दछौं ।

सम्पादक

 


यसरी फैलियो मृत्युको खबर

क्रिमशन अस्पताल प्रशासनको कमजोरीको कारण उपचाररत बिरामीको मृत्युको खबर बाहिर आएको खुलेको छ । अस्पतालका व्यक्तिहरुले पत्रकार र सरकारी निकायलाई गलत सूचना दिएपछि समाचार प्रकाशित भएको थियो ।

अस्पतालबाट आधिकारी व्यक्ति हुँ भन्दै बुधबार क्रिमशन अस्पतालका अधिकारीबाट ‘उहाँको मृत्यु भयो, शब व्यवस्थापन कसरी गर्ने ? भन्दै प्रदेश ५ को स्वास्थ्य निर्देशनालयलाई फोन गरेका थिए ।’

त्यसपछि स्वास्थ्य निर्देशनालयले प्रमुख जिल्ला अधिकारीमार्फत शब उठाउनका लागि खबर पुगेको बताइन्छ ।

स्वास्थ्य निर्देशनालयमा फोन मार्फत जानकारी आएपछि सामाजिक विकास मन्त्री बरालले मातहतका निकायलाई काम अगाडी बढाउन निर्देशन दिएका थिए । त्यसको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसम्म पुगेको थियो । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले समेत गुल्मीका संक्रमितको मृत्यु भएको कुरा मिडियामा पुष्टि गरेका थिए ।

पछि बिरामीको मृत्युको बिषय फेरिएको खबर आएपछि मन्त्री बरालले अस्पतालका अध्यक्ष चिन्तामणी पाण्डेलाई फोन गरी यथार्थ जानकारी मागेका थिए । पाण्डेले अस्पतालबाट गलत सूचना भएको भन्दै क्षमा याचना गरेका थिए । अस्पतालका अध्यक्ष पाण्डेले पनि मन्त्री बरालले फोन गरेको पुष्टि गरे । उहाँले तपाईको पूर्व अध्यक्षले मरेको भनेर खबर गर्ने अहिले कुरा अर्के छ भनेर सोधेको र हामीबाट त्यस्तो गल्ती भएको भए क्षमा चाहन्छु भनेर भनेको वर्तमान अध्यक्ष पाण्डेले बताए ।

त्यसैगरी तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमीरेलाई पनि अस्पतालकै व्यक्तिबाट मृत्यु भएको खबर पुगेको थियो । मृत्युको खबर दिने व्यक्तिलाइ पुष्टिका लागि फोन गरेर बुझ्दा समेत मृत्यु भएको जानकारी पाएको तिलोत्तमामा मेयर बासुदेव घिमीरेले बताए । त्यसको आधारमा आफुले मिडियालाई जानकारी दिएको उनको भनाई छ ।

त्यसपछि पुनः प्रदेश ५ को स्वास्थ्य निर्देशनालयले फोन गरी अस्पताल प्रशासनलाई यथार्थ कुरा बाहिर ल्याउनका लागि चेतावनी दिएपछि अस्पतालले विज्ञप्ती निकालेको थियो । प्रदेश स्वास्थ्य निर्देशनालयका डा. विनोद कुमार गिरीले संचार माध्यममा आएको फरक फरक समाचारको आधिकारीता के हो ? भनि अस्पताल प्रशासनलाई पुष्टि गर्नका लागि निर्देशन दिएको बताए ।

अस्पतालको विज्ञप्ती हाम्रै पहलमा आएको हो डा. गिरीले भने, –अहिलेलाई अस्पतालकै विज्ञप्तीलाई आधिकारीक मान्नुस् ।

अस्पतालको विज्ञप्तीमा समाचार गलत भएको र उनको भेन्टिलेटरको सर्पोटमा उपचार भैरहेको र नीजको अवस्था गंभीर रहेको जनाएको छ ।

यसरी दिइएको सूचना फेरिएपछि मृतकको बिषयमा आएको समाचारको बिषय विवादित बनेको छ भने उपचाररत बिरामीको बिषयमा पनि शंका उपशंका उत्पन्न भएको छ ।

प्रतिकृया दिनुहोस्