नीति, शिक्षा र नियति ?

सिकाइ खबर

Byसिकाइ खबर

१४ जेष्ठ २०७७, बुधबार

‘हिजो शिक्षालयहरूबाट विद्यार्थीले छोड्ने सङ्ख्या घटाउन चिन्ता गरे झैं देशबाट नागरिक विदेश पलायन हुँदा पनि त्यस्तै–त्यस्तै चिन्ता गरिदिएको भए आज देशमा जनशक्तिको अभाव हुने र कोभिड १९ को संक्रमणको जोखिम पनि बढ्ने थिएन ।’

नेपालीहरू अलि–अलि हात पाखुरा लाग्न थालेपछि विदेशिने योजनामा तल्लिन हुन्छन् । जसरी भएपनि विदेसिने रणनीति बनाएर तयारीमा लाग्छन् । तिनीहरूको पहिलो गन्तव्य अमेरिका, अस्ट्रेलिया र युरोप हुन्छ भने दोस्रो गन्तव्य जापान र कोरिया । पहिलो र दोस्रो विकल्पमा असफल हुनेहरू खाडी मुलुक र मलेसियालाई गन्तव्य बनाउँछन् । खाडी मुलुक र मलेसिया पनि जान नसक्नेहरू भारततिर लाग्छन् ।

फेरि अर्काथरि भने सके बेलायती सेनामा नसके भारतीय सेनामा भर्ती हुन तयारी गरेर बसेका हुन्छन् । अपवाद छाडेर यी सबै विकल्पमा असफल हुनेहरू मात्र नेपालमा भेटिन्छन् । अभिभावकहरू पनि सन्तानको उज्वल भविष्यको परिकल्पना गरेर परदेशिन मै प्रेरित गर्छन् । राज्यको प्राथमिकता र नीति पनि नागरिक पलायनमा सहयोग गर्ने खालको देखिन्छ । जब कुनै आमाबाबु तथा राज्यको प्राथमिकता सन्तान र उत्पादनशील जनशक्ति निर्यात गरेर सम्वृद्धिको ल्याउने हुन्छ, त्यो घर वा देश सम्वृद्ध बन्दैन, परनिर्भरमात्र बढ्छ । देश बाह्य शक्तिहरूको चलखेलको केन्द्र बनिरहन्छ। सीमा अतिक्रमणको पीडा पिल्सिरहनु पर्छ। त्यो आज हामीले प्रत्यक्ष अनुभव गर्न पाईरहेका छौं ।

नेपालका शिक्षालयहरूबाट तीन थरीका नागरिक तयार गरिन्छन् । अनि नेपाल नागरिक निर्यात गर्ने मुलुकका रूपमा चिनिन्छ । त्यही अनुसार शैक्षिक संस्थाहरूमा लगानी भइरहेको छ र राज्यको नीति बनेको छ । यी तीनै थरीका नागरिकहरू माथि उल्लेख गरिए झैं विदेसिन्छन् । कति उतै पलायन हुन्छन् त कति जवानी र क्षमताविहिन भएर वृद्ध हुन लागेपछि नेपाल फर्किन्छन् ।

तरपनि राजनीतिक नेतृत्वहरूले यो तितो सत्य बिर्सिएर देश सम्वृद्ध बनाउने परिकल्पना व्याख्या गरिरहेका छन् । नेतृत्वले नागरिक पलायनको मूल कारण खराब शिक्षा प्रणाली, राज्यको गलत नीति र राज्य संयन्त्रहरूको नाकामीपन होभनेर अझै पनि ठीक ढंगले बुझ्न सकिरहेको छैन । अनि खराब शिक्षा र नीतिहरू बदल्ने आँट देखाउन सकेको छैन । प्राज्ञिक वर्ग पनि यथास्थिति मै आफ्नो प्रभाव र वर्चस्व कायम हुने देखेर खराब शिक्षा नीति र व्यवस्था बदल्ने कुराप्रति चासो नै दिँदैन ।

पुष्कर कँडेल

कोभिड १९ ले सिर्जना गरेको त्रास र संकटपछि श्रम बेच्न विदेसिएका अधिकांश नागरिकहरू नेपाल फर्किने मनस्थितिमा देखिन्छन् । ढिलो चाँडो ति नेपाल फर्किन्छन् नै । राज्यले समय मै ठीक नीति, योजना र कामका साथ विदेशबाट फर्किने युवाहरूलाई उत्पादनशील क्षेत्रमा संलग्न गराउनु पर्छ । फर्किएका युवाहरूलाई उनीहरूको ईच्छा र क्षमतानुसार वर्गिकरण गर्नुपर्छ । भारतीय जनशक्तिलाई विस्थापित गर्ने गरी आफ्ना नागरिकलाई सीपमुलक तालिम र नियमित प्रशिक्षण दिएर उनीहरूलाई सक्षम र दक्ष बनाउनु पर्छ ।

अब राज्यले विदेशबाट फर्कन चाहेका नागरिकहरूमा के कस्तो सीप, क्षमता र परिकल्पना छ, तिनको तथ्याङ्क लिनुपर्छ । तिनीहरूलाई कुन–कुन काममा कसरी संलग्न गराउने अल्पकालीन र दीर्घकालीन योजना पनि बनाउनु पर्छ । कोरोना संकटले हामीलाई हाम्रो औकात र अवस्था चिनाई दिएको छ । अनि तत्कालका लागि चुनौती भएतापनि हाम्रा लागि अवसर बनेर आएको छ ।

कोभिड–१९ का कारणले विदेशमा भएका नेपालीहरू विदेशबाट फर्कने क्रम बढ्ने छ । भारतबाट फर्कने क्रम त तिब्र भएको छ। मलेसिया तथा खाडी मुलुकहरूमा रहेकाहरू पनि कतिखेर हवाई सेवा सुचारू होला र देश फर्कौंला भनेर प्रतिक्षारत छन् । ढिलो चाँडो ति फर्कन्छन् नै । तिनीहरूलाई काममा लगाउनुभन्दा अघि मानोविज्ञबाट परामर्श गरी कार्यक्षेत्रमा संलग्न गराउन भावनात्मक र मानसिक दुवै रूपमा तयार गर्नुपर्छ । उनीहरूलाई बुझाउनु पर्छ, ‘जुन माटोमा पसिना बगायो त्यहि माटो बढी उर्बर हुन्छ। उर्बर कुन माटो बनाउने उनीहरूबाट भावनात्मक प्रतिबद्धता गराउनु पर्छ ।’

अब हामीले गम्भीर भएर सोच्नुपर्छ, हाम्रो शिक्षा, सामाजिक तथा सांस्कृतिक, अर्थ, प्रशासनिक र न्यायिक व्यवस्थाले किन काम गरेन ? हाम्रा विकासका मोडल तथा प्रयासहरू किन सफल भएनन् ? हिजोभन्दा आज परनिर्भरता किन बढ्यो ? नागरिकहरूमा देशभित्रै कार्यशील हुनुपर्छभन्ने चेतनाको विकास किन भएन ? गम्भीर र सकारात्मक भएर सोचियोभने प्रश्नहरूलाई ठीक तरिकाबाट सम्बोधन गर्न सकिनेछ । यसर्थ विलम्ब नगरीकन यी प्रश्नहरूमा केन्द्रीत भएर चिन्तन र क्रियाशीलता अनिवार्य भएको छ ।

देश सम्वृद्ध बनाउन नागरिकको मनस्थिति स्वस्थ, सोच सकारात्मक, व्यवहार सिर्जनात्मक हुनैपर्छ । अनि नागरिकले देशभित्रै सेवा र उत्पादनमा रमाउने राजनीतिक, सामाजिक, आर्थिक, न्यायिक र प्रशासनिक परिस्थिति ‘नीति, विधि र पद्धति’ पनि स्थापित हुनुपर्छ । यो पाटोबाट राज्यले सक्रियता देखाउने हो भने नागरिक राज्यप्रति आसावादीमात्र हैन, उसको आफ्नो मनोविज्ञान सकारात्मक हुन्छ र आत्मविश्वास पनि बढ्न थाल्छ । उच्च मनोबल भएको नागरिक देशको विकासको लागि महत्त्वपूर्ण पूर्वाधार मानिन्छ । आज राज्यका अगाडि नागरिकको मनोबल उच्च बनाउने वातावरण तयार गर्नै पर्ने चुनौतीसँगै अवसर पनि आएको छ । यसका लागि भारतको व्यवहार र कोभिड–१९ को प्रहारलाई हामीले सकारात्मक रूपमा लिनुपर्छ ।

हिजो
माटो नचिनेर
बरालिएको मन
खोज्दै परदेशमा धन
आज
माटो सम्झिएर
बुझाउँदै त्यो मन
सोच्दै के काम यो धन
भोलि
सम्झिएर गाउँघर
दरिलो बनाउँदै मन
फर्किन हतार छ तन
राज्य
योजना बनाएर
फर्काउ आफ्ना जन धन
माटोमुखी शिक्षा र चिन्तन

हिजोभन्दा आज, आजभन्दा भोलि नागरिकको मनस्थितिमात्र हैन देशको परिस्थिति पनि बदलिँदो छ । नागरिकको विश्वास माटोप्रति बढ्दो छ। यो बदलिँदो परिवेश र विश्वास वर्तमान सरकारका लागि सुवर्ण अवसर हो । यसको ठीक उपयोग गर्न सक्नुपर्छ अन्यथा त्यो परिवेश र विश्वास महासंकट बनेर आउने छ । त्यसैले तुरून्तै फर्किने सम्भावना भएका नागरिकहरूलाई फर्काउन योजनासहित तिनलाई काम दिने कार्यक्रम पनि तयार गर्नुपर्छ ।

विप्रेषणमुखी अर्थनीति र नागरिक निर्यातमुखी शिक्षाले हिजो–भन्दा–आज हामीलाई कमजोर बनाइरहेको छ । यसर्थ ‘आजको हाम्रो मुख्य चुनौती भारतसँगको सिमा विवाद टुङ्ग्याउने र देशको स्वाभिमान जोगाउने, कोभिड १९ को संक्रमणबाट नागरिकको जोगाउने, नयाँ पुस्तालाई नयाँ शिक्षाबाट प्रशिक्षित गराउने अनि आत्मनिर्भरमुखी अर्थतन्त्रको विकासमा नागरिकहरूको सक्रिय क्रियाशिलता बढाउने नै हो ।’ अनि मात्रै ‘सम्वृद्ध नेपाल सुखी नेपाली’ बनाउने परिकल्पना पूरा हुनसक्छ । धन्यवाद ।

२०७७–०२–१४

प्रतिकृया दिनुहोस्